सल्यानको लाइफ लाइन ‘थारमारे’

सुदाम शर्मा, सल्यान ।

बडागाउँ हुदैँ रुकुमपश्चिमको चौरजहारी जोड्ने सडकखण्ड अन्तर्गत बागचौर नगरपालिका भित्र पर्ने थारमारे-चारखोला हुदै पुतलीबास सम्मको झण्डै ८ किमि सडक कालोपत्रे गरिएको छ ।

यो सडक सल्यानको कुमाख गाउँपालिका, दार्मा गाउँपालिका र पश्चिम रुकुमको चौरजहारी नगरपालिका जोड्ने मेरुदण्ड सडकका रुपमा समेत चिनिने गर्दछ । अहिले यस सडकको केही क्षेत्र कालोपत्रे गरिएको छ ।

हमाल कन्स्ट्रक्सन मार्फत भइरहेको थारमारे-चारखोला हुदै पुतलीबास सम्मको सडक निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो ।

कालोपत्रे गरिएको सडकक्षेत्र निकै आर्कषक देखिएपछि सडक हेर्ने,फोटो खिच्ने तथा टिकटक बनाउनेहरुको यो ठाउँमा उतिक्कै भिड पनि लाग्ने गर्दछ । विगतका वर्षदेखी नै यस सडकको मर्मत तथा स्तरोन्नतीको लागी करोडौँ रुपयौँ खर्च हुदैँ आएको छ ।

समपुरक बजेट मार्फत गत वर्ष थारमारे, बडागाउ हुदैँ चौरजहारी सडकमा संघीय सरकारको रु १३ करोड ६५ लाख र प्रदेश सरकारको रु १३ करोड ६५ लाख गरी जम्मा रु २७ करोड २० लाख बिनियोजन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/०८० मा पनि यो सडकका लागि अहिले थप २८ करोड रुपैया प्रदेश सरकारबाट विनियोजन भएको छ ।