बसपार्कका टहरा हटाउने विषयमा दिपेन्द्र वाग्लेका ९ सुझाव

कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्कमा रहेको कोहलपुर नगर विकास समितिको जग्गामा बनेका टहराहरुको विषयमा उत्पन्न सुझाव तथा धारणहरु यस्ता छन् ।

१) कोहलपुर नगर विकास समितिसंग गरिएको सम्झौता सकिएको र पटक-पटक स्थान खाली गर्न ताकेता गर्दा समेत सरकारी जमिन खाली गर्न आनाकानी गरेको साथै उक्त स्थानमा बसोबास गर्ने वा व्यापार गर्न कुनै प्रकारको कानूनी आधार नभएको सन्दर्भमा सो स्थानमा गरिएको बसोबास र व्यापार अव्यवस्थित नै हुन्छ ।

२) उक्त स्थानमा कोहलपुर नगरपालिकाले आधुनिक व्यापारीक भवन निर्माण गर्ने उद्देश्य राखी, गत साल नै सो जग्गाको लिज नविकरण गर्न नसकिने भनी सरोकारवाला पक्षलाई पटक पटक उक्त स्थान खाली गर्न समय दिई ताकेता गर्दा अटेर गरेकै कारणले आजको परिस्थिति सिर्जना भएको स्पष्ट छ ।

३) सो ठाउँमा रहेका व्यापारीले आफ्नो प्रयोग गर्दै आएको जग्गा आफ्नो हुनुपर्छ भन्ने माग राखी अदालतमा दायर गरिएको मुद्धाले त्यहाँका व्यापारीको आसय स्पष्ट देखिन्छ र सोही आशयका कारण आज त्यहाँ कार्य गर्न कठिनाई भएको बुझ्न सकिन्छ । यद्यपी अदालतले कोहलपुर नगर विकास समितिको पक्षमा निर्णय गरिसकेको छ ।

४) मासिक करोडौं रुपैंया भाडा उठन सक्ने उक्त स्थानमा मासिक ३ लाख हाराहारीमा मात्र भाडा उठ्नुले कोहलपुर नगरपालिका र कोहलपुरका जनता कति घाटामा छन् भनी सजिलै आँकलन गर्न सकिन्छ ।

५) त्यहाँ बसोबास गरी व्यापार गर्ने व्यक्ति विशुद्ध व्यापारी हो । यदि कोही भूमिहिन वा सुकुम्वासी भए, सुकुम्वासी समस्या समाधान आयोगले त्यसको सम्बोधन गर्नुपर्छ, कोहलपुरको मुटुमा रहेको अरबौं रुपैंयाको जमिनमा सुकुम्बासी राख्न पाइदैन ।

६) भाडामा बस्ने व्यक्तिले आफ्नो व्यवस्थापन बहाल दिने व्यक्ति वा संस्थाले दिएको समयसिमा भित्र स्वय्म गर्नुपर्छ । घरबेटीले व्यवस्थापन गर्ने कुरा काँही नदेखिएको र अव्यवहारीक पक्ष हो ।

७) आजको समयमा जनताले सहि र गलतको शुक्ष्म रुपमा मुल्यांकन गर्न सक्छन् । भोट मात्रैका लागि गरिने राजनितिक प्रत्युन्पादक हुन सक्छ । गतललाई सहि भनी परिभाषित गर्दा सिमित कार्यकर्तालाई खुसी पार्न सकिएला तर सहिलाई सहि र गलतलाई गलत भन्न हिक्मत गर्न नेता नै जनताका प्रिय हुन्छन् । स्मरण रहोस् चुनाव कार्यकर्ता मात्रैको भोेटले जितिदैन जनताको भोट आवश्यकता पर्छ । यसको उदाहरण काठमाण्डौं र धरानलाई लिन सकिन्छ ।

८) सो स्थान खाली गरेपछि क्रमिक रुपमा अन्य ठाउँमा भएका सरकारी जमिन जहाँ अव्यवस्थित बसोबास छ, ती पनि खाली गरिनुपर्छ । सरकारी जमिनको सन्दर्भमा राज्य कठोर हुनैपर्छ ।

९) कोहलपुर नगरपालिकाका वर्तमान नगर प्रमुख ज्यूबाट गरिएको प्रयन्तलाई सराकात्मक रुपमा लिँदै यस कार्यले तत्कालिन रुपमा केही अप्ठाराहरु सिर्जना गरेतापनि यो दिर्घकालिन रुपमा कोहलपुर र कोहलपुरबासीको हितमा रहेकोले दृढता पूर्वक अगाडि बढ्न पनि म हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।