नगद ४१ हजारसहित सुर्खेतबाट ४ जना जुवाडे पक्राउ




‎सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट नगद ४१ हजार ५ सय २५ रुपैयाँ र १२ बुक ताससमेत बरामद गरेको छ ।बिहीबार दिउँसो २ बजेको समयमा सोही ठाउँका एन बहादुर शाहीले सञ्चालन गरेको महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

‎नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको कमाण्डमा खटिएको ७ जनाको टोलीले होटलको ३०५ नम्बर कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

‎पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर–७ बस्ने २४ वर्षीय हुकुम शाही, सोही ठाउँ बस्ने ३० वर्षीय हेमन थापा, वडा– ९ बस्ने ३४ वर्षीय हेमराज थापा र ३६ वर्षीय सुरेश केसी रहेका छन् ।

‎पक्राउ परेका जुवाडेहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले जुवाजन्य गतिविधि नियन्त्रण गर्न सक्रियताका साथ लागिरहेको बताएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार