कोहलपुर माविमा नयाँ अभ्यास : कक्षाकोठामा अभिभावक




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ टाउन प्लानिङ्गमा रहेको सार्वजनिक शैक्षिक गुठीद्धारा सञ्चालित कोहलपुर माध्यामिक विद्यालयमा नयाँ अभ्यास सुरु गरिएको छ ।

मंगलबारदेखि अभिभावकहरुसंग बालबालिकाको शैक्षिक स्तरका बारेमा जानकारी दिने र शैक्षिक गुणस्तर बृद्धि गर्ने अभिभावकलाई कक्षासम्म ल्याउन यो कार्यक्रम गरिएको हो ।

विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने त्रिकोणात्मक सम्बन्धको आवश्यकता रहेको भन्दै कोहलपुर माध्यमिक विद्यालयका प्रअ शंकर न्यौपालेले ‘कक्षा कोठामा अभिभावक कार्यक्रम’ सञ्चालन गरेको बताए ।

सामुदायिक विद्यालयमा अभिभावकहरुको उपस्थिति पातलो हुने गर्दछ, अभिभावक विद्यालयमा नआउँदा सम्म आफ्नो छोराछोरीको पढाइको बारेमा जानकारी लिन अनिवार्य रुपमा अभिभावक विद्यालयमा आउनुपर्ने प्रअ न्यौपाने बताउँछन् ।

कक्षा ७ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई आफ्नो बालबालिकाको पठनपाठनको बारे जानकारी दिने, आफ्नो छोराछोरीले के गरिरहेको छ ? को को संगको संगत छ ? कसरी अध्ययनअध्यापन गरिरहेको छ ? भन्ने सामान्य विषयमा अभिभावकलाई जानकारी दिन यो कार्यक्रम अघि सारेको प्रअ न्यौपाने बताउँछन् ।

कोहलपुर माविका पूर्व विद्यार्थी तथा अभिभावक धनराज योगीले यो कार्यक्रम निकै प्रभावकारी र उपेक्षित लक्ष्यहरु पुरा गर्न बताए ।

प्रत्येक विद्यार्थीका अभिभावकलाई विद्यालयमा उपस्थित गराई छोराछोरीको पढाइको बारेमा जानकारी लिने र त्यसलाई सुधार गर्ने अवसर मिल्ने भएकोले यो कार्यक्रम लाभदायी हुने उनको भनाई थियो ।

प्रकाशित मिति : २०८१ मंसिर ११ गते मंगलबार