यातायात सेवा कार्यालय कोहलपुरको मन्त्री न्यौपानेद्धारा उद्घाटन, स्थानिय उत्साहित




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा यातायात सेवा कार्यालय कोहलपुरबाट सेवा सुरुचारु गरेको छ ।

बुुधबार मन्त्री लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गरी सेवा सुरु भएको हो । कोहलपुर, बैजनाथ र राप्तीसोनारीका ८ र ९ वडाका बासिन्दाहरुमा खुसीयाली छाएको छ ।

मन्त्री न्यौपानेले उद्घाटन गर्ने क्रममा बोल्दै संघियताको आवश्यकता र अनुभूती दिलाउन प्रदेश सरकारले सेवा विस्तार गरेको बताए । ‘जनताको आवश्यकताका आधारमा कार्यालय रहनुपर्छ,’ उनले भने, ‘कुनै दलका नेताको आवश्यकताका आधारमा सरकारी कार्यालय रहदैन् ।’

‘जहाँ आवश्यक पर्छ, त्यहाँ सेवा पुर्याउनु प्रदेश सरकारको दायित्व हो’ उनले थपे, अब भाडाको साँघुरो घरमा कार्यालय राखेर बस्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ ।’ कोहलपुरमा यातायात कार्यालयको स्थापनाले तीन पालिकाका बासिन्दालाई नेपालगन्ज धाउनुपर्ने झन्झटबाट मुक्त गराएको मन्त्री न्यौपानेले बताए ।

उनका अनुसार यातायात व्यवस्थामा प्रविधिको प्रयोग र सेवा विस्तार गर्ने र उच्चस्तरीय सिसीटिभी जडान गरेर नेपालगन्ज–कोहलपुर सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्न निर्देशन दिए ।

यस्तै लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीले कोहलपुरमा यातायातको शाखा कार्यालय स्थापना भएसँगै कोहलपुरसहित छिमेकी बैजनाथ र राप्तीसोनारीका सेवाग्राहीहरुलाई फाइदा पुगेको बताए ।

‘संघीयताको फाइदा भनेकै नागरिकलाई सहज सेवा पाउनु हो, उनले भने, ‘संघीयतालाई व्यापार भन्दा पनि सेवामुखी दृष्टिकोणबाट सबैले बुझ्न आवश्यक छ ।’ सेवाग्राहीले कर तिर्दा समेत लाइन लाग्नुपर्ने अन्त्य गरी यातायातको सेवालाई प्रविधिमैत्री बनाउन चौधरीले सुझाव दिए ।

यस्तै प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णा केसी नमूनाले कोहलपुरमा सरकारी कार्यालयको विस्तार आवश्यक रहेको बताइन् । एकात्मक प्रणालीबाट मुलुक संघीयतामा गइसकेकाले सेवाहरुलाई पनि विकेन्द्रीकरण गर्दै लैजानु अहिलेको आवश्यकता रहेको बताइन् ।

यस्तै प्रदेशसभा सदस्य सञ्जुकुमारी थारुले यातायात कार्यालयको शाखा स्थापना भएसँगै कोहलपुरमा विकासको अर्को इट्टा थपिएको बताइन् । उनले अन्य सरकारी कार्यालयहरु पनि कोहलपुरमा आवश्यक रहेको बताइन् । भएका सरकारी कार्यालयहरुलाई कोहलपुरमै राख्ने र अन्य सरकारी कार्यालयलाई कोहलपुरमा ल्याउन प्रदेश सरकारलाई दवाव दिइने उनको भनाइ छ ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती अधिकारीले सहकार्य र अठोटको कारणले आजको उपलब्धि सम्भव भएको बताउँदै यो कार्यालयले बाँकेको समग्र विकासलाई टेवा पुरयाउने विश्वास व्यक्त गरिन् ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाको लागि नागरिक, सरोकारवाला र राजनीतिक दलहरूको सहकार्यले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “कोहलपुरलाई केन्द्र बनाएर यस क्षेत्रको विकासका लागि थप कदम चाल्नेछौँ । यातायात कार्यालयको स्थापनाले कोहलपुरका नागरिकको दैनिकी सहज बनाउनेछ ।”

नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्कको भवनमा स्थापना गरिएको हो । कार्यालयले ब्लु बुक, लाइसेन्स नवीकरण, र पटके सेवा प्रदान गर्नेछ ।

याे पनि पढ्नुहाेस् ।

कोहलपुरबासीका वर्षौदेखिको माग सम्बोधन, ४ सरकारी कार्यालय र अपाङ्ग बाल अस्पताल सञ्चालनमा

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार