बाँके जिल्लाका ८६ वडाध्यक्षमध्ये जनताको माग, अपेक्षा पुरा गर्न नगर, जिल्ला, प्रदेश र संघसम्म विभिन्न व्यक्तित्वहरुसंगको समन्वयमा खटिरहेका जनप्रतिनिधि हुन कोहलपुर नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधि त्यसकाे नेतृत्व वडाध्यक्ष हरि कठायतले गरेका छन् ।
उनी विहान उठेदेखि साँझ नसुतेसम्म वडामा के कसरी विकास हुन्छ ? भन्ने नै चिन्तामा हुन्छन्, सोही अनुरुप विभिन्न राजनितिक दल, नगर देखि संघसम्मको पहुँच राख्न उनको खुवी छ । उनी करिब ३ वर्षदेखि वडालाई समृद्ध र विकसित वडा बनाउन लागि परेका छन् । उनीहरूमा नयाँ जोश र जाँगर देखिन्छ । जनताको प्रतिनिधिका रूपमा राम्रो काम गर्ने हुटहुटी उनीहरूमा देखिन्छ ।
उनले पहिलो वर्षलाई सिकाइका रूपमा लिएको बताए पनि अहिले विकास निमार्णमा तत्पर लागि परेको बताउँछन् । वडाका सम्पूर्ण वडा सदस्य तारा देवि सिंह, बास मति बिश्वकर्मा, बिरेन्द्र बिक्रम शाही र पुरन थारु लगायतको टिम निकै खटिएका हुन्छन् ।
उनीहरुले गरेका कामका बारेमा जानतालाई प्रष्ट रुपमा सार्वजनिक समेत गर्दछन् । उनले ल्याएको बजेट वा उनले कार्यान्वयनमा भएका योजनालाई समेत वडाबाट सार्वजनिक गर्ने गर्दछन् । निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नका लागि यो अवधिमा स्थानीय जनप्रतिनिधिहरू सकेसम्म सक्रिय भएका देखिन्छन् ।
बाँके जिल्लाका स्थानीय तहमा २०७९ को निर्वाचनमा अधिकांश नयाँ जनप्रतिनिधि निर्वाचित भएका थिए । उनले सार्वजनिक गरेको गत आवमा कोहलपुर नगरपालिका– २ ले वडाको सिलिङबाहेक संघ, प्रदेश र नगरपालिकामा समन्वय गरी करिब ९ करोड ३७ लाख ९२ हजार बराबरको बजेट ल्याउन सफल भएका छन् ।
कोहलपुर नगरपालिकामा पहिलो पटक २ नम्बर वडाले दोस्रो वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वडा कार्यालयले आ.व. २०८०÷०८१ मा गरेका १६ शीर्षकमा कामहरूको सूचि सार्वजनिक गरेको छ । वडाले सार्वजनिक गरेको उपलब्धिहरूमा सडक तथा यातायात, भूमिसम्बन्धी कार्य, विद्युतीकरणदेखि आवास कार्यक्रम छन् ।
के के छन् कार्यक्रमहरू ?
१. सडक तथा यातायात र भौतिक पूर्वाधार
कोहलपुर नगरपालिका २ नम्बर वडाले सडक तथा यातायातलाई मुख्य प्राथमिकता दिएर काम गरेको छ । एक वर्षको अवधिमा ५० बढी योजनाहरू सम्पन्न गरेको छ । जसमा नाली निर्माण तथा स्तरोउन्नती बहुवर्षीय ठेक्का २५ लाखमा, १० लाखमा रत्नराजमार्ग हुँदै वीरबहादुर शाहीको घर हुँदै बालकुमार शर्माको घरसम्म, शक्तिनगर र मुगाली टोलको अधुरो पक्की नाली निर्माण, बिनोद चौधरीको घर हुँदै मुगाली टोल बाटो स्तरोउन्नती तथा पक्की नाली निर्माण र कोहलपुर नगरपालिका–२ सहित चोकदेखिको नगरपालिका–२ को सीमानासम्म बाटो कालोपत्रे गरेको छ ।
यस्तै ८ लाखमा बिजुली सुनारको घरदेखि आनन्दनगर भित्रि बाटो स्तरोउन्नती, भरोसा स्कुलबाट कमल शाहीको घर हुँदै शिव प्राविसम्म पक्की नाली निर्माण र रबिन थापाको घर हुँदै फुलबारी स्कुल हुँदै लालबहादुर डाँगीको घरसम्म पक्की नाली निर्माण गरेको छ ।
यस्तै ७ लाखमा मनमाया गुरुङजङ्ग डाँगीको घर हुँदै रिम रोकाया घरसम्म पक्की नाली निर्माण, ४ लाख ५० हजारमा वडाका विभिन्न टोलका सडकहरूमा माटो पटान तथा ग्राभेल र वडाका विभिन्न टोलहरूमा हुमपाइप जडान र ३ लाखमा गौरी डाँडामा बाटो स्तरोउन्नती गरेको प्रतिवेदन सार्वजनिक भएको हो ।
यस्तै, ८५ लाखमा रत्न राजमार्ग धामिको घर हुँदै शक्तिनगर जोड्ने बाटो पक्की नाली तथा स्तरोउन्नती, ७० लाखमा महेन्द्र राजमार्ग, कृषि हाटबजारदेखि गोरखा स्कुल जोड्ने बाटो स्तरोउन्नती तथा पक्की नाली निर्माण भइसकेको छ भने ५० लाखमा कृष्ण मावि हुँदै माथिल्लो कृष्णनगर हुँदै बर्दहवा जोड्ने बाटो पक्की नाली तथा स्तरोउन्नती सम्पन्न भइसकेको वडाध्यक्ष कठायतले बताएका छन् ।
रत्न राजमार्ग उत्तर मनकामनाचोकदेखि हिर्दम चोकसम्म पक्की नाली निर्माण तथा बाटो स्तरोउन्नती ३५ लाखमा काम भएको थियो । पछिल्लो वर्षको अवधिमा वडाध्यक्ष कठायत संघ, प्रदेशको अनुदान र नगरपालिकामा समन्वय गरी विनियोजित करिब ३ करोड ३७ लाख ९२ हजार बराबरको बजेट ल्याउन सफल भएका थिए ।
यति मात्रै नभइ अहिलेसम्म सडक नाली र यातायातका १९ वटा योजनाहरू सम्पन्न गरिसकेका छन् । महेन्द्र राजमार्ग एपिएफ स्कुलदेखि लक्ष्मी मावि स्कुलसम्मको सडक ६३ लाखमा कालोपत्रे भइसकेको छ । त्यस्तै बर्दहवा बस्ती विकास कार्यक्रम पक्की नाली १ करोडमा स्तरोउन्नती, किरण नालामा कल्भर्ट १६ लाखमा निर्माण गरिसकेको जानकारी दिए ।
महेन्द्र राजमार्ग हुँदै २ नम्बर वडा र बैजनाथ गाउँपालिका– ४ जोड्ने बाटो पक्की नाली र स्तरोउन्नती ४० लाख, दिप नगर पुरानो मुक्ति प्रावि वरको बुट्टा जाने बाटो ७० लाखमा स्तरोउन्नती भइसकेको छ ।
वडा कार्यालयबाट ११ लाख, प्रदेश सरकारबाट १० लाख र नगरपालिकाबाट ४ लाखमा रत्न राजमार्गदेखि सहिद चोक हुँदै वडाको सीमानासम्म सडक कालोपत्रे गरिसकेको वडा कार्यालयले सार्वजनिक गरेको कामहरूको सूचिमा उल्लेख गरिएको छ ।
महेन्द्र राजमार्गदेखि रत्न राजमार्गसम्म सडक कालोपत्रे २४ लाख, ७५ लाखमा लक्ष्मी मावि जोड्ने ५ सय मिटर बाटो कालोपत्रे, आन्नद नगरदेखि पुष्पनगर जोड्ने दोहोरो भित्रि बाटाहरू स्तरोउन्नती गरिएका थिए ।
यस्तै कोहलपुर नगरपालिका वडा नम्बर २ ले दुई वर्षकोे अवधिमा ३ हजार ९३ सय मिटर ग्राभेल बाटो स्तरोउन्नती गरेको छ । अहिलेसम्म वडाले ५ हजार १ सय ५६ मिटर पक्की नाली निर्माण गर्नुका साथै १ हजार ५० मिटर बाटो कालोपत्रे गरेको छ ।
गत आवमा वडाको वित्तिय प्रगति
वडाले आर्थिक वर्ष २०८०/२०८१ मा १४ लाख ९५ हजार ७ सय ९४.९५ विविध नगद राजस्व संकलन गरेको छ । त्यस्तै भूमिसुधार करबाट ७ लाख ९२ हजार ५ सय ९९.७९ संकलन गरेको वडा कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको छ ।
वडा कार्यालयले २२ लाख ८८ हजार ३ सय ९४.७४ रुपैयाँ संकलन गरेको छ । त्यस्तै आर्थिक वर्ष २०८०/२०८१ को पञ्चिकरण सम्बन्धी १ सय ९५ जनाले जन्मदर्ता, ८४ जनाले विवाह दर्ता, १ सय ४१ जनाले घर बसाइँसराई, मृत्यु दर्ता ४२ र ९ वटा सम्बन्ध विच्छेद भएको थियो ।
वडामा मेलमिलापका लागि दर्ता भएका ९७ वटा विवादहरूमध्ये ५७ वटालाई सहमति तथा मेलमिलाप गराइ विवाद समाधान गरिएको छ । त्यस्तै सहमती हुन बाँकी ४० वटा रहेका छन् ।
यस्तै वडा कार्यालयले स्वास्थ्य प्रवद्र्वनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । वडामा रहेका महिलाहरू र जेष्ठ नागरिकहरूसँग वडाध्यक्ष कार्यक्रम सञ्चालन गरिएको थियो । उनका अनुसार नागरिकको स्वास्थ्य समस्या बुझ्न यो कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष कठायतले बताए । उनले यतिमात्र नभइ महिला बालबालिका अपांगता लक्षित सिपमुलक तालिम कार्यक्रम सबै गरेर ६० लाखमा सम्पन्न भइसकेको जानकारी दिए ।
अपांगता भएका महिला उद्यमीलाई दुई थान मेसिन र सामाग्री प्रदान, मुढा बुनाइ तालिम २५ जना महिला, ब्यूटिसियन तालिम १२ जना महिला, बुटिक तालिम २५ जना महिला, १ सय ५५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा ब्लाकेट वितरण गर्नुका साथै निःशूल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।
कोहलपुर नगरपालिका हरित नगर अभियानमा १ घर दुई बिरुवा अभियान अन्तर्गत ३ हजार ५ सय बिरुवा रोपिएका छन् । यस्तै मुक्ति आधारभूत विद्यालयको ४ कोठे भवन डिपिसी ढलान १९ लाख र लक्ष्मी माध्यमिक विद्यालयको ८ कोठे प्रशासनिक भवन १ करोड २० लाखमा सम्पन्न भएको छ । यस्तै मुक्ति आधारभूत विद्यालयको अधुरो भवन ५ लाखमा निर्माण सम्पन्न भएको थियो ।
विद्यालयहरूको नियमित अनुगमन गरिएको छ । आत्मरक्षाको लागि सामुदायिक विद्यालयमा टेक्वान्डो प्रशिक्षक व्यवस्था, सामुदायिक विद्यालयमा जीवन उपयोगी सिप शिक्षाका माध्यमबाट कक्षा सञ्चालन गरिएको छ ।
शिव शक्ति आधारभूत विद्यालय र मुक्ति आधारभूत विद्यालयमा फर्निचर व्यवस्था वडा कार्यालयले गरेको थियो । त्यस्तै शिव शक्ति आधारभूत विद्यालयमा विज्ञान सामाग्री सहयोग समेत वडा कार्यालयले गरेको हो । विभिन्न विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयमा भवनका लागि संघ प्रदेश र नगरपालिकामा रकम माग गरिएको छ ।
खेलकुदतर्फ वडामै रहेको खेलकूद मैदानमा एन्फाद्वारा २८ वर्षको अन्तरालमा पहिलो पटक ‘ए’ डिभिजन लिग सम्पन्न, दुई वटा गोल्ड कप भव्य रूपमा सम्पन्न, कम्युनिटि कोचिङ कोर्ष २०१८ सम्पन्न गरिएको थियो । आफ्नो वडामा भएका खेलकूद गतिविधिहरूलाई वडा कार्यालयले समेत आफूले सकेको सहयोग गरेको थियो । सिद्धि विनायक ग्रामिण सामुदायिक वनमा खुला जिमको लागि २० लाखको उपकरणहरू वडाले उपलब्ध गराएको थियो ।
काेहलपुर टुडे । ११ आश्विन २०८१, शुक्रबार ०९:४३