बाँके राष्ट्रिय निकुञ्जमा दुर्लभ दृश्य : ‘बाघ क्रसिङ जोन’ पार गर्दै बाघ




काेहलपुर । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत शमशेरगन्जदेखि अगैयासम्म पर्ने पानीमुहान वनपथ क्षेत्रमा राजमार्ग पार गर्दै गरेको बाघको दुर्लभ दृश्य क्यामेरामा कैद भएको छ। निकुञ्ज क्षेत्रभित्र ‘बाघ क्रसिङ जोन’ लेखिएको चेतनामूलक बोर्ड नजिकैबाट सडक पार गरिरहेको बाघको तस्वीरले वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वको सन्देश एकैसाथ दिएको छ।

उक्त तस्वीर नेचर गाइड एशोसियसनका अध्यक्ष भिम डाँगीले खिच्नुभएको हो। तस्वीरमा जंगलबाट निस्किएको बाघ सडक पार गर्दै ‘बाघ क्रसिङ जोन’ लेखिएको बोर्डको छेउबाट अघि बढिरहेको स्पष्ट देखिन्छ। प्राकृतिक बासस्थानमा स्वतन्त्र रूपमा विचरण गरिरहेको बाघको यस्तो दृश्य विरलै देख्न पाइने भएकाले तस्वीरले वन्यजन्तु प्रेमी तथा संरक्षणकर्मीहरूको ध्यान आकर्षित गरेको छ।

भिम डाँगीले फेसबुकमा पाेष्ट गर्दै “आजभन्दा केही दिन अगाडि पनि जङ्गलको राजाले रोड क्रस गर्दै गरेको दृश्य देखेको थिएँ। आज चाहिँ फोटो खिच्न सफल भइयो,” ।  केही दिनअघि पनि डाँगीले साेही क्षेत्रमा बाघ सडक पार गर्दै गरेको दृश्य देख्नुभएको थियो, तर त्यसबेला तस्वीर खिच्ने अवसर मिलेन उनले बताए ।

डाँगीले खिच्नुभएको तस्वीरले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको सक्रिय उपस्थिति रहेको पुष्टि गर्ने संरक्षणसम्बन्धी महत्वपूर्ण दस्तावेजका रूपमा समेत काम गर्नेछ। निकुञ्ज क्षेत्रभित्रका वनपथ र राजमार्ग आसपासका स्थानहरू वन्यजन्तुहरूको आवतजावतका प्रमुख मार्ग मानिन्छन्। यस्ता क्षेत्रमा ‘बाघ क्रसिङ जोन’ लगायतका चेतावनी बोर्ड राखेर सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिँदै आएको छ।

संरक्षणकर्मीहरूका अनुसार पछिल्ला वर्षहरूमा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या र गतिविधि बढ्दै गएको संकेत विभिन्न तथ्य तथा दृश्यहरूले दिइरहेका छन्। क्यामेरा ट्र्याप, प्रत्यक्ष अवलोकन तथा पदचिह्नका आधारमा समेत बाघको उपस्थिती सुदृढ बन्दै गएको देखिएको छ। बाघको संख्या बढ्नु भनेको जंगलको पारिस्थितिक प्रणाली स्वस्थ र सन्तुलित रहेको संकेत मानिन्छ।

बाँके राष्ट्रिय निकुञ्ज नेपालका महत्वपूर्ण बाघ संरक्षण क्षेत्रमध्ये एक हो। यहाँ बाघसँगै जरायो, बँदेल, नीलगाई लगायतका वन्यजन्तुको समेत बसोबास रहेको छ। निकुञ्ज क्षेत्रभित्र तथा आसपासका सडकमा वन्यजन्तुहरूको आवतजावत भइरहने भएकाले सवारी चालकले विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता संरक्षणकर्मीहरूले औँल्याउँदै आएका छन्।

वन्यजन्तु संरक्षणका लागि स्थानीय समुदाय, निकुञ्ज प्रशासन तथा संरक्षणसँग सम्बन्धित संघसंस्थाहरूको निरन्तर प्रयासका कारण बाँके क्षेत्र बाघ संरक्षणको दृष्टिले आशाजनक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। हालै सार्वजनिक भएको यो तस्वीरले निकुञ्ज क्षेत्रमा बाघको सुरक्षित विचरण भइरहेको सन्देश दिएको छ भने वन्यजन्तु संरक्षणप्रति थप जागरुक बन्न सबैलाई प्रेरित गर्ने विश्वास गरिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार