कोहलपुर। अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था ASEZ WAO ले कोहलपुर नगरपालिका–७ स्थित श्री मितेरी सामुदायिक वनमा १ हजार बिरुवा रोपण गरेको छ। ‘मदर्स फरेस्ट’ (Mother’s Forest) परियोजनाअन्तर्गत वन पारिस्थितिक प्रणालीको पुनर्स्थापना, वन संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
विश्वका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको ‘मदर्स फरेस्ट’ परियोजनाअन्तर्गत करिब एक हेक्टर क्षेत्रफलको खाली जमिनमा वृक्षरोपण गरिएको हो। आमाले आफ्ना सन्तानको हेरचाह गरेझैँ प्रकृतिको संरक्षण गर्ने भावनाबाट प्रेरित यस परियोजनाले वृक्षरोपण र वन विकासमार्फत जलवायु परिवर्तनको सामना गर्नुका साथै स्थलीय पारिस्थितिक प्रणालीको संरक्षण गर्ने लक्ष्य राखेको छ।
ASEZ WAO परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध जागिरे युवाहरूको स्वयंसेवी समूह हो। यस संस्थाले विश्वका विभिन्न देशमा वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा ASEZ WAO का सदस्य, उनीहरूका परिवार तथा छिमेकीसहित करिब १०० जनाको सहभागिता रहेको थियो। कोहलपुर सबडिभिजन वन कार्यालयको सहयोगमा शमशेरगञ्ज सबडिभिजन वन कार्यालयले वृक्षरोपणका लागि १ हजार बिरुवा उपलब्ध गराएको थियो।
कार्यक्रममा सहभागीहरूले खाली जमिनका विभिन्न स्थानमा बिरुवा रोप्ने ठाउँ छनोट गरी खाल्डो खनेर बिरुवा रोपेका थिए। रोपिएका बिरुवाले राम्रोसँग जरा फैलाउन सकून् भन्ने उद्देश्यले माटो राम्ररी थिचेर पानीसमेत हालिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले वनजङ्गल संरक्षणको आवश्यकता औँल्याउँदै युवाहरूले सकारात्मक सोचका साथ वातावरण संरक्षणमा योगदान पुर्याएकोमा प्रशंसा व्यक्त गरे।
उनले भने, “अहिले मानिसहरूका कारण वनजङ्गल असुरक्षित हुँदै गइरहेको छ। धेरै युवाहरू कुलतमा फसिरहेको समयमा ASEZ WAO का सदस्यहरूले वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै वनजङ्गल जोगाउनुपर्छ भन्ने सकारात्मक सोच देखाउनुभएको छ। यसका लागि धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यस्ता गतिविधि सञ्चालन गर्दै जानुपर्छ।”
त्यसैगरी, कोहलपुर वन कार्यालयका रेन्जर शिवकुमार यादवले वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा ASEZ WAO लाई धन्यवाद दिँदै आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर विभिन्न गतिविधि सञ्चालन गर्ने बताए।
कोहलपुर नगरपालिका–७ का वडाध्यक्ष ठग्या थारूले आफ्नो वडाको खाली जमिनमा बिरुवा रोपेर सहयोग गरेकोमा ASEZ WAO का सदस्यहरूप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा सञ्चालन गरिने यस्ता वातावरण संरक्षणसम्बन्धी गतिविधिमा आवश्यक सहयोग र समर्थन गर्ने प्रतिबद्धतासमेत जनाए।
कार्यक्रममा सहभागी ASEZ WAO का सदस्य हेमराज शाहीले वातावरणबाट निरन्तर स्वच्छ हावा, पानी र जीवनदायिनी शक्ति प्राप्त भइरहे पनि प्रकृतिलाई केही दिन नसकिरहेको अनुभूति सुनाए।
उनले भने, “आज आफ्नै हातले सानो बिरुवा रोपेर माटोले पुर्दा प्रकृतिप्रतिको आफ्नो जिम्मेवारी र दायित्व थोरै भए पनि पूरा भएको महसुस भयो।”
त्यस्तै, सदस्य नवीन तिमल्सेनाले ASEZ WAO ले विश्वभर वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै कोहलपुरमा वृक्षरोपण गर्न पाउँदा खुसी लागेको बताए। उनले आगामी दिनमा पनि यस्ता गतिविधि सञ्चालन गर्न यस कार्यक्रमले थप हौसला प्रदान गरेको धारणा व्यक्त गरे।
वातावरण संरक्षणमा ASEZ WAO का विश्वव्यापी अभियान
ASEZ WAO नामले ‘Save the Earth from A to Z, We Are One Family’ अर्थात् ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔँ’ भन्ने सन्देश बोकेको छ।
यस संस्थाका युवाहरूले ‘मदर्स फरेस्ट’ परियोजनाका अतिरिक्त सहरी क्षेत्र, सडक तथा पार्क सफाइका लागि ‘ग्रिन अर्थ’ (Green Earth) र नदी तथा समुद्र सफाइका लागि ‘ब्लु ओसन’ (Blue Ocean) लगायतका अभियान सञ्चालन गर्दै आएका छन्। यसका साथै प्लास्टिकको प्रयोग घटाउने ‘नो मोर GPGP’ र कार्यस्थलमा वातावरणमैत्री अभ्यास प्रवर्द्धन गर्ने ‘ग्रिन वर्कप्लेस’ जस्ता परियोजनामार्फत वातावरण संरक्षणमा योगदान पुर्याउँदै आएका छन्।
नेपालमा पनि ASEZ WAO ले स्थानीय वातावरण सुधारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। काठमाडौँ, ललितपुर, नेपालगन्जलगायत स्थानमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याइएको संस्थाले जनाएको छ। गत अगस्ट महिनामा चन्द्रागिरिमा ‘प्लास्टिकमुक्त २०४०’ विषयक सेमिनार आयोजना गरी प्लास्टिक प्रदूषणको असर, न्यूनीकरणका व्यावहारिक उपाय तथा सहकार्यको आवश्यकताबारे जानकारी गराइएको थियो।
विश्वव्यापी सञ्जाल र स्वयंसेवा गतिविधि
ASEZ WAO आबद्ध परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका अनुसार, उक्त मण्डली विश्वका १७५ देशका ७ हजार ८०० भन्दा बढी स्थानमा रहेको छ। मण्डलीका करिब ४० लाख विश्वासीले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्दै छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नुपर्ने ख्रीष्टको शिक्षालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएका छन्।
नेपालमा हालसम्म मण्डलीका ७२ हजार ६८८ सदस्यले १ हजार ८४ पटक विभिन्न स्वयंसेवा गतिविधि सञ्चालन गरेको संस्थाले जनाएको छ। त्यस्तै, विश्वव्यापी रूपमा वातावरण संरक्षण, विपद् राहत, छिमेकीलाई सहयोग, रक्तदान तथा सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा करिब ५० हजारभन्दा बढी स्वयंसेवा गतिविधि सम्पन्न गरिएको जनाइएको छ। यी तथ्याङ्क सन् २०२६ सेप्टेम्बरसम्मका हुन्।
संस्थाका अनुसार, परमेश्वरको मण्डलीले विभिन्न देशका सरकार तथा संस्थाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाली राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक तथा पेरुको सर्वोत्कृष्ट वातावरण अवार्डलगायत ६ हजार ३०० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेको छ।
कोहलपुरमा आयोजित यस वृक्षरोपण कार्यक्रमले खाली जमिनमा हरियाली विस्तार गर्नुका साथै स्थानीय समुदायमा वन संरक्षण र वातावरणीय जिम्मेवारीप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्