यता स्व. गिरीजा प्रसाद कोईरालाले प्रधानमन्त्रीको हैसियतले पार्टी भित्रबाटै बिश्वासको मत लिँदा केही साँसदहरु अनुपस्थित भएर उहाँलाई असहयोग गरेको झोँकमा संसद नै बिघटन गरी २०५१ सालको मध्यावधि निर्वाचनको घोषणा गराउनुभयो । त्यो मध्यावधि निर्वाचनमा देशैभरी जनआन्दोलन २०४६ का सर्वमान्य नेता स्व. गणेशमान सिंहको नाममा नेपाली काँग्रेस बिरुद्ध खुलेरै अन्तर्घात भयो ।
नेपाली काँग्रेसका उम्मेदवार बिरुद्ध बागी उम्मेदवार खडा गर्ने होड नै चल्यो । यो गणेशमान जीको चाहनाले भएको थियो वा अन्य कुनै तत्वहरुको कुटील चालले त्यो मैले भन्न सक्ने कुरा भयन, तर स्व. गणेशमान जीको नाममा निकालिएको पर्चा पम्फलेटहरु छ्यापछ्याप्ती थिए । बर्दिया जिल्ला पनि यस्को प्रभावबाट अछुतो रहन सकेको थियन । यस होडवाजीमा बर्दिया जिल्लामा साईकल चिन्ह नेपाली काँग्रेसको बागी भयो । यो साईकल चिन्हको प्रचरप्रसार मैले खुलेरै गरेँ । त्यस बखत स्व. ज्ञानराज जी नेपाली काँग्रेसको तर्फबाट बर्दियाको तत्कालिन क्षेत्र नं. २ बाट उम्मेदवार हुनुहुन्थ्यो । साईकलको प्रचारप्रसार मैले गरेको सुनेर होला शुशिल दाको नजरमा म एउटा काँग्रेसको बाघीको रुपमा परीचित हुन पुगेँ ।
यसका अतिरिक्त २०४८ को आम निर्वाचनको समयमा स्व. गिरीजा प्रासद कोईराला निर्वाचनको माहौल नेपाली काँग्रेसको तर्फ पार्ने देशब्यापी दौडाहाको क्रममा बर्दिया जिल्लामा पनि आउनुभएको थियो । उहाँ तत्काल जिल्ला विकास समितिको गेष्ट हाउसमा बस्नुभएको थियो । कार्यकर्ताहरुसंगको भेटघाट पनि त्यहीँ थियो । म नेबिसंघको उपाध्यक्ष थिएँ त्यतिवेला । बर्दियाका काँग्रेसमा लागेका थारु समुदायका नेताहरुले बर्दियामा थारुले दुई उम्मेदवार पाउनुपर्ने दावी गरीरहेका थिए । उनीहरुले गिरीजा प्रसाद कोईराला सामु त्यो कुरा भन्न नसक्ने । मलाई अलि बोल्न सक्ने भनेर उनीहरुले मलाई अगाडी सारेर त्यो कुरा भन्ने भनेर गिरीजा जी संग बिहानको भेट मागियो । हामी पनि बिहानको भेटमा बिस पच्चीस जना थारुहरु वहाँसंग भेट गर्न वहाँको कोठामा गयौं ।
अब त्यहाँ कोही नबोल्ने भए । सबै उकुसमुकुस, एकअर्काको मुख ताक्ने । त्यसपछी फेरी मलाई नै दुई सिटको लागि उम्मेदवार थारुले पाउनुपर्छ भनेर भन्न उक्साए । म त मलाई नेता मानेको भनेर मख्ख पर्दै अगाडी बढेर हाम्रो माग जिरीजा जी संग राखेँ । उहाँले त्यसको प्रतिक्रिया केही नदिएर टाउको मात्र हल्लाउनुभयो । दुई शब्द मात्र बोल्नु भयोः दुई तिहाई सिट नेपाली काँग्रेसको पक्षमा ल्याउन पार्टीको उम्मेदवारलाई जिताउनु होस्, अहिले जातभातको कुरा गर्ने बेला भएको छैन । यती भनेर उहाँले हामीलाई बिदा दिनुभयो । अब मेरो मनमा संकाउपसंका उब्जियो । कतै गलत त भयन भनेर । थारुको कुरा गरेकोमा मलाई कतै साम्प्रदायिक त भन्ने होईनन् भन्ने मनमा लागि रह्यो ।
उता हाम्रै कुराको प्रभावले होला वा व्यक्तिगत चिनजानले गर्दा हो, स्व. मंगल प्रसाद थारु (उहाँ तत्काल नेकाँको जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो र उहाँको घर मोतिपुर गाउँमा थियो) लाई क्षेत्र नं. १ मा प्रतिनिधि सभाको नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार दिइएको थियो । त्यो क्षेत्रको प्रचारप्रसार समितिको संयोजक पनि मलाई नै बनाईयो । तर नेपाली काँग्रेसले सबै सिटमा हार ब्यहोर्नु प¥यो । यद्यपी एमालेले त्यतीबेला बर्दियामा थारु समुदायबाट कसैलाई उम्मेदवार बनाएको थिएन, तापनि सबै सिट उसैले जित्यो । यसपछी यसको प्रभाव पछिसम्म पर्ने डर मेरो मनमा लागि रह्यो । यसपछि मेरो कुरामा पार्टी पँक्तिमा थारुको नारा लगाउँछ भन्ने कुरा भई रह्यो । यो गिरीजा जी ले पनि नोट गर्नु भएको थियो र शुशिल दा त झन् ज्ञानराज जीको बिरोधमा बाघी उम्मेदवारको प्रचारमा लागेको भनेर त्यसै चिढिनु भएकै थियो ।
यसका साथै नेपाली काँग्रेसको जिल्ला नेतृत्वहरुले मलाई नेबिसंघको बर्दिया जिल्लाको दोस्रो जिल्ला अधिवेशनमा मलाई सभापतिको रुपमा उम्मेदवार बनाउने र सहयोग गर्ने पक्कापक्की भएको थियो । त्यो अधिवेशन बर्दिया जिल्लाको पाताभारमा हुने भयो । म गुलरियाबाट सभापतिको उम्मेदवार हुने भन्दै पाताभार पुगेको थिएँ । त्यहाँ फेरी माहौल परीवर्तन भयो । नगेन्द्र रेग्मीले जिल्ला सभापतिको लागि मेरै बालसखालाई अगाडी सारे । म अलमलमा परेँ । अब के गर्ने नगर्ने भयो ।
फेरी जे त होला, उनैलाई समर्थन गर्छु भनेर म सभापतिको पदमा उम्मेदवार नहुने भनेर पछाडी सरे । र उनै बालसखालाई समर्थन गरेँ र म फेरी जिल्ला उपसभापतिमा बस्ने भएँ । उता पार्टीपँक्तीमा खैलाबैला भयो र रातारात एकजना अर्को उम्मेदवार तयार परियो । तर उनले त्यो अधिवेशनमा झिनो मतले हार ब्यहोर्नु पर्यो । अब मैले समर्थन गरेका जितेका नेबिसंघका सभापतिले मलाई कार्यवाहक सभापतिको जिम्मा लगाए ।
यसै बिच बिर्दिया जिल्लामा जिल्ला बिकास समितिको सभापतिको निर्वाचन हुने भयो । त्यस निर्वाचनमा नेपाली काँग्रेसले नारायण ज्ञवालीलाई सभापतिको उम्मेदवार बनाएको थियो भने एमालेले स्व. दीप बहादुरा रानालाई । जिल्ला सभापतिको लागि मतदान हुनुभन्दा दुई तीन दिन पहिले नेबिसंघको नाममा नेकाँका उम्मेदवार बिरुद्ध पर्चा पम्पलेट नै वितरण भएछ ।
यो कुराको मलाई पत्तै थिएन । म नेविसंघको जिल्ला उपसभापति भएर पनि थाहा भएन । उता नेबिसंघको जिल्ला समितिको निर्णय पनि बिरोध मै देखियो । मलाई समेत थाहा नदिएर त्यो निर्णय भएको रहेछ । यता नेपाली काँग्रेसका उम्मेदवार नारायण ज्ञवालीले हार पनि ब्यहोर्नु पर्यो । यसपछि त नेपाली काँग्रेस जिल्ला नेतृत्वहरुले हाम्रो नेतृत्वमा भएको नेबिसंघ समिति बिघटन गर्न नेपाली काँग्रेस केन्द्रिय समितिमा नै दवाब दिएछन् ।
उता नेबिसंघका तत्कालिन केन्द्रिय सभापति एन.पी. साँउदले काठमाण्डौबाट एक जना भट्टराई थर भएको त्रिबिबिमा अध्ययनरत नेबिसंघका कार्यकर्तालाई खटायर बर्दियाको नेबिसंघ बिघटन गरेका थिए । एउटा तदर्थ समिति गठन गरेर त्यसैको नेतृत्वमा नेबिसंघको तेस्रो जिल्ला अधिवेशन गरायो र त्यो अधिवेशनमा नगेन्द्र रेग्मीका उम्मेदवारले पराजय व्यहोरेको थिए । यसपछि बर्दियामा नगेन्द्र रेग्मीको पनि राजनितिक अवसान शुरु भयो भने मेरो त त्यसै पनि यो तीन वटा घटनाले राजनितिक भविष्य धरापमा परिसकेको थियो । शुशिल दा र जिपी कोईरालाको आँखाको कसिंगर जस्तै पो हुन पुगेछु ।
यसपछी मैले राजनितिक भबिष्य खोज्न छाडेर गैर सरकारी संस्थातर्फ लागे र जिल्ला अदालतमा वकालतको पेशा गर्न तर्फ तल्लिन भएँ । एनजिओमा लागेकोले एक दिन मलाई द एशिया फाउण्डेशनका कार्यक्रम अधिकृतले जिल्लामा महिला शसक्तिरण कार्यक्रमको जिल्ला संयोजक भएर काम गर्ने अफर आयो र त्यसैमा लागेर कानुन व्यवसायिको पेशा पनि छोडेर एनजिओ क्षेत्रमा नै आफ्नो भविष्य खोज्नतर्फ लागेँ । मलाई अहिले आयर के लाग्छ भने मैले दोस्रो अधिवेशनमा नेबिसंघको जिल्ला सभापति पदमा उम्मेदवार हुनै पर्ने रहेछ । त्यो छाडेको भएपनि कानुन व्यवसाय भने कुनै हालतमा पनि नछोड्नु पर्ने । छिटो नै नआत्तिनु पर्ने रहेछ । क्रमशः
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्