नरैनापुरमा भीषण आगलागी : ९ घर र ४ गोठ जलेर नष्ट




काेहलपुर । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा मङ्गलबार बिहान भीषण आगलागी हुँदा ९ वटा घर र ४ वटा गोठ गरी १३ वटा संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीका अनुसार बिहान करिब ४:५० बजे सुरु भएको आगलागीले फुसको छानो भएका कच्ची घरहरूमा तीव्र रूपमा फैलिएको थियो।

आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभए पनि स्थानीय बासिन्दाका गहुँ, चामल, दाल, लत्ताकपडा लगायत दैनिक उपभोगका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

घटनापछि नेपालगञ्ज उपमहानगरपालिकाबाट एउटा दमकल र नरैनापुर गाउँपालिकाबाट अर्को दमकल बोलाइएको थियो। प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासमा बिहान साढे ९ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको र क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार