नसर्ने रोग पहिचान र निदानका लागि कोहलपुरका १५ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर




कोहलपुर । तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा सफलतापूर्वक निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया सेवा सञ्चालन गरेको कोहलपुर नगरपालिकाले अब नसर्ने रोगको पहिचान र निदानका लागि समुदायस्तरमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाँकेको प्राविधिक सहयोगमा नगरपालिकाले करिब डेढ महिने स्वास्थ्य अभियान सुरु गर्न लागेको हो ।

यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पछिल्लो समय समुदायमा नसर्ने रोगको प्रभाव तीव्र रूपमा बढ्दै गएकोले समयमै पहिचान र उपचारका लागि समुदाय केन्द्रित अभियान सुरु गर्न लागिएको बताए । उनले स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोग लगायतका समस्याले धेरै नागरिक प्रभावित भइरहेको उल्लेख गर्दै समयमै परीक्षण र निदान हुन सके ठूलो जोखिम टार्न सकिने बताए ।

यस्तै स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीका अनुसार शिविर आगामी वैशाख १७ गते कोहलपुर नगरपालिका वडा नं. १५ स्थित नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र अकलघरुवाबाट सुरु हुनेछ । अभियान जेठ ३० गते नगर अस्पतालमा पुगेर समापन गरिनेछ । नगरपालिकाका १५ वटै वडामा सञ्चालन हुने शिविरमा ३० वर्षमाथिका नागरिकलाई प्राथमिकतामा राखेर स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।

शिविरमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, दीर्घ श्वासप्रश्वास रोग, मिर्गौला रोग, थाइराइड, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर लगायतका रोगको निःशुल्क स्क्रिनिङ गरिनेछ । साथै भिडियो एक्स–रे सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य परीक्षणका क्रममा आवश्यक परेका बिरामीलाई औषधि समेत निःशुल्क वितरण गरिने ठकुरीले जानकारी दिए ।

यस्तै नगर उपप्रमुख संगिता सुवेदीले विशेषगरी महिलाहरूमा पाठेघरको मुखको क्यान्सर गम्भीर समस्या बन्दै गएकाले विशेषज्ञ चिकित्सकको उपस्थितिमा सञ्चालन हुने शिविरबाट ठूलो संख्यामा महिलाहरू लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।

यसअघि चैत ९ गतेदेखि १९ गतेसम्म तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा २६ सय जनाले सेवा लिएका थिए भने ३७५ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । नगरपालिकाले नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले रोकथाम र उपचार दुवै खालका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै आएको जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार