बैजनाथका संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई न्यूनतम पारिश्रमिक १९ हजार ५ सय दिने




बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाले संस्थागत विद्यालयहरूको व्यवस्थापन सुधार गर्न महत्वपूर्ण नीतिगत निर्णयहरू सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार २०८३ वैशाख १५ गते बसेको बैठकले शिक्षा क्षेत्रमा अनुशासन, पारदर्शिता र विद्यार्थी हितलाई प्राथमिकतामा राख्दै नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार आर्थिक वर्ष २०८३÷०८४ देखि संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूलाई श्रम ऐन २०७४ अनुसार न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । साथै तलब भुक्तानी बैंकमार्फत गर्नुपर्ने प्रावधान राखिएको छ, जसले पारदर्शिता सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

त्यसैगरी, विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ । छात्रवृत्ति पाउने विद्यार्थीहरूको नामावली तयार गरी प्रत्येक वर्ष जेठ महिनाको अन्तिमसम्म शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

अर्को महत्वपूर्ण निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि लागू हुने गरी आगामी तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिइएको छ । यसले अभिभावकमा पर्ने आर्थिक भार घटाउने र शैक्षिक स्थिरता कायम गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिकाका शिक्षा प्रमुख विष्णु प्रसाद ढकालले यी निर्णयहरूले शिक्षा क्षेत्रमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । स्थानीय तहको यो पहलले निजी विद्यालयहरूमा उत्तरदायित्व र नियम पालनामा थप कडाइ ल्याउने अपेक्षा गरिएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार