
डिल्ली शाही, कोहलपुर । कोहलपुर नगरपालिकाले गैरकानूनी रूपमा सञ्चालन हुँदै आएको कोहलपुर मोडल ईमि स्कुल बन्द गराएको छ । स्थानीय तहको शिक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नगरपालिकाको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उक्त विद्यालय आवश्यक कानुनी प्रक्रिया र कागजातबिनै सञ्चालन भएको पुष्टि भएपछि तत्काल बन्द गर्ने निर्देशन दिएको हो ।
नगरपालिकाको सामाजिक विकास समिति संयोजक ईश्वरी विक, शिक्षा शाखाका अधिकृत पुष्पलाल शाही, क्रिसा बाँकेका अध्यक्ष ओपेन्द्र केसी लगायतको टोली अनुगमनका लागि विद्यालय पुगेको थियो ।
टोलीले विद्यालयमा पुग्दा सञ्चालक सुरज कुमार यादव अनुपस्थित रहेका थिए भने चार जना शिक्षिका मात्र उपस्थित थिए। विद्यालयसँग दर्ता, स्वीकृति, नविकरण लगायतका आवश्यक कागजात नभेटिएपछि तत्काल सञ्चालन रोक्न निर्देशन दिइएको सामाजिक विकास समिति संयोजक ईश्वरी विकले जानकारी दिए ।
उनका अनुसार नगरपालिकालाई विद्यालय अवैधानिक रूपमा सञ्चालन भइरहेको विषयमा पहिले जानकारी थिएन । स्थानीय सञ्चारमाध्यम कोहलपुर टुडेले बैशाख १४ गते “कोहलपुर टुडेको विशेष अपरेशनः शिक्षा क्षेत्रमै लुटतन्त्र, कोहलपुरमा गैरकानूनी विद्यालयको राज” शीर्षकमा समाचार प्रकाशन गरेपछि नगरपालिकाले विषयलाई गम्भीरतापूर्वक लिएको हो । समाचार सार्वजनिक भएपछि नगरपालिकाले तत्काल छानबिन र स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनपछि ईश्वरी विकले भने, “हामीलाई विद्यालय अवैधानिक रूपमा चलेको जानकारी थिएन । समाचारपछि थाहा पाएर अनुगमनमा गयौं । स्थलगत रूपमा हेर्दा विद्यालयसँग कुनै वैधानिक कागजात नभएको पाइयो, त्यसैले तत्काल बन्द गर्न निर्देशन दिएका हौं ।”
यस्तै क्रममा नगरपालिकाको टोलीले कोहलपुर नगरपालिका–११ मा रहेको स्माल हेवन मन्टेश्वरीमा समेत अनुगमन गरेको थियो । उक्त मन्टेश्वरीले विगत ६ वर्षदेखि नविकरण नगरी सञ्चालन गरिरहेको पाइएको थियो ।
स्थानिय सञ्चार माध्यम कोहलपुर टुडेले बैशाख १४ गते समाचार प्रकाशन पछि तत्काल प्रक्रिया पूरा गरी ४८ हजार ५ सय २५ रुपैयाँ राजस्व बुझाएर रसिद नं. ४१४८ मार्फत नविकरण गरेको सामाजिक विकास समिति संयोजक विकले बताए ।
यस्तै शिक्षा शाखाका अधिकृत पुष्पलाल शाहीले कानूनी प्रक्रिया पूरा गरेर सञ्चालन भएका संस्थालाई प्रोत्साहन गरिने र नियम उल्लंघन गर्ने संस्थालाई कानूनी दायरामा ल्याइने बताए । शाहीले भने, ‘कानूनको पालन गर्ने संस्थालाई प्रोत्साहन र उल्लंघन गर्नेहरूलाई दण्ड दिने नीति नै न्यायसंगत बाटो हो । नगर सरकार यही नीतिअनुसार अघि बढिरहेको छ ।’
यस्तै बिना अनुमति र मापदण्डबिना सञ्चालन हुने शैक्षिक संस्थाले बालबालिकाको भविष्यमा असर पार्ने भएकाले यस्ता संस्थामाथि नियमित निगरानी गर्ने शिक्षा शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए ।
नगरपालिकाको पछिल्लो कदमले शिक्षा क्षेत्रमा देखिएको बेथिति नियन्त्रणतर्फ स्पष्ट सन्देश दिएको छ, अब अन्य निजी तथा मन्टेश्वरी विद्यालयहरू पनि कानूनी प्रक्रिया पूरा गर्न बाध्य हुने अपेक्षा गरिएको मिजारले जानकारी दिए ।
सम्बन्धित समाचार
कोहलपुर टुडेको विशेष अप्रेशन : शिक्षा क्षेत्रमै लुटतन्त्र, कोहलपुरमा गैरकानुनी विद्यालयको राज
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्