आधुनिक समाज अनुकूल “ उदाहरणिय विदुवा नारी” स्वर्गीय नरपी शर्मागौतम




एकराज शर्मा
अनौठो एक जीवनगाथा


रुकुमको पहाडी भेग, स्यानाखोलाको शान्त गाउँमा जन्मिएकी नरपी शर्मा गौतमको जीवन कुनै साधारण कथा छैन । यो एउटा त्याग, धैर्यता, आस्था र संस्कारले भरिएको जीवनयात्रा छ । नरपी लाई जहाँ दुःखले कमजोर बनाएको छैन । बरु अझ उनलाई दृढ र संकल्पित र धैर्यता बनायो। वि.सं. २००१ साल भाद्र ५ गते तत्कालीन स्यानाखोला पन्चायत, तत्काल खोलागाउं गा वि स वडा नं -७ स्यानाखोला हाल चौरजहारी नगरपालिका वडा नं -१२ जन्मेकी नारी हुन  नरपी । उनी स्वर्गीय बाबा केशरलाल उपाध्याय र माता स्वर्गीय तुलसादेवी उपाध्यायको कोखबाट जन्मिएकी हुन । उनि नन्दकुमार उपाध्याय आचार्य, गोपाल प्रसाद उपाध्याय र भागवत उपाध्यायकि दिदि हुन । उनको परिवारमा केशरलाल उपाध्यायकि दुईवटी श्रीमती मध्ये जेठी श्रीमतीको कोखबाट जन्मिएकी अदभुत नारी हुन ।

आचार्य परिवारमा उनी सानैदेखि संस्कारमा हुर्किएकी नारी थिइन्। सात वर्षको उमेर २००८ सालमा उअन्को विवाह मुसिकोट नगरपालिका वडा नं- १० मा स्वर्गीय पुण्यप्रसाद गौतमसंग विवाह बन्धनमा बांधिएकी थिन । उनी १९ वर्षको हुंदा भाग्यले उनलाई बाल्यकालमै जीवनको कठोर यथार्थसँग परिचित गरायो। केवल ७ वर्षको कोमल उमेरमा उनी वैवाहिक जीवनमा बाँधिइन्। खेल्ने, पढ्ने र सपना बुन्ने उमेरमा उनले श्रीमतीको जिम्मेवारी समेत बोकिन्।

समयसँगै उनी जीवनसँग घुलमिल हुन थालिन्, तर नियतिले उनलाई अझ ठूलो पीडा र बज्रापात्को  बाँकी नै थियो। वैवाहिक जीवनको ११ वर्ष बित्न नपाउँदै, जब उनी मात्र १९ वर्षकी युवती थिन । सोही उमेरमा उनका श्रीमान् पुण्यप्रसाद गौतमको असामयिक निधन भयो। त्यो क्षणले उनको जीवनको दिशा नै बदलिदियो। एकाएक उनी विधवा हुन पुगिन त्योपनि त्यो समयको समाजमा, समाजको चिन्तन, सोचमा जहाँ विधवाको जीवनमा अनेक भनाइ र आरोप  तथा अशुभ भन्ने विचारको प्रतिबन्ध र पीडाले घेरिएको थियो । उनले त्यो समाजमा निकै संघर्ष गर्दै आएकी थिन ।


तर नरपी गौतमले कतिपनी हार मानिनन्। उनले आफ्नो जीवनलाई शोकमा डुबाएर होइन, धर्म, संस्कार, संस्कृति र कर्ममा समर्पित गरि आफुलाई अघि बढाउने निर्णय गरिन्।

उनी आचार्य माइती घरमा बस्दै साधना, पूजाआजा र नियममा आफ्नो दिन बिताउन थालिन्। उनले रातो पहिरन त्यागिन्, गहना प्रयोग गरिनन्, सादा जीवन अपनाइन्। अरूले पकाएको खाना जिवनभरि खाईनन, बजारको कुनैपनी वस्तु प्रयोग गरिनन, नाच्गान र बजानमा सहभागी भइनन । उनी  कठोर नियम सहित आफ्नो कडा नियम पालना गरिन्। उनको जीवन केवल आत्मसंयममा सीमित थिएन । त्यो अरूका लागि प्रेरणाको स्रोत पनि बन्यो। गाउँघरमा उनले कहिल्यै झगडा, गाली गलौज पनि गरिनन्। सबैसँग नम्र व्यवहार गरिन्। उनी भित्र एउटा गहिरो आध्यात्मिक शक्ति थियो । जसले उनलाई एक्लोपन र पीडामाथि विजय प्राप्तगर्न मद्दत समेत गर्‍यो।

समय बदलिँदै गयो। समाज आधुनिक हुँदै गयो। तर उनी आफ्ना मूल्यमान्यतामा अडिग रहिन्। उनले आधुनिकताको नाममा संस्कार त्यागिनन् । बरु संस्कारलाई आधुनिक समाजमा पनि जोगाइ राख्ने प्रयास गरिन । उनी आफ्न जेठा भाइ नन्दकुमार र जेठी भाइ बुहारी केवलादेविका साथ कांशी, गया, प्रयाग, बनारस, गण्डकी, मुक्तिनाथ, देवघाट, स्वर्गद्वारी दैलेखको ज्वाला, रुकुमको डिग्रे साईकुमारि  लगायतका स्थानमा तिर्थयात्रा गरेकी छिन ।  उनले बाबसंग सप्ताह र आफनै हातले दुईपटक लक्षदिप प्रज्वलन, शिवजी आराधना, शैयादान, कपिलादान, गौदान र वैतरणी दान समेत गरेकी छ्न भने भाइ भदैको हुने पुजाआजामा आफुलाई सहभागी गराइन । उनी अरुको घरमा पुजाआजाको ज्योति वति कातेर समेत सेवा गर्थिन । उनले सधैं पूजा गर्थिन र भगवानको नाम जप्थिन्। उनले हिन्दू धर्म अनुसारका चाड पपर्वमा छोरी बहिनी कन्याको पुजा गर्थिन । उनी धेरैको गुरुआमा भएकी छिन । उनको जीवन एउटा जीवित उदाहरण थियो । कि विधवा हुनु कुनै कमजोरी होइन, बरु आत्मबल र धैर्यको परीक्षा हो।
उनको कुनै सन्तान थिएनन । उनिसंग आफ्नो श्रीमानको कुनै श्री सम्पती प्राप्तगर्ने जमर्को गरिनन तर उपहार स्वरुप पुण्यप्रसाद गौतमले विसं २०१७ सालमा भारतको बम्बईबाट ल्याईदिएको बर्को र पाउजेव मात्र उनको साथमा जस्ताको तस्तै राखेकी थिन । उनले आफ्नो देवरबाबु  केदार गौतमका छोरा ५ भाइ छोरा र  बुहारीलाई आफ्नै सन्तान सरह माया गरिन्। उनले सम्पत्तिको लोभ गरिनन्, अधिकारका लागि लडिनन्। उनको लागि सन्तोष नै सबैभन्दा ठूलो धन थियो। उनी साईला भाईको घरमा बसेर जीवन निर्वाह गरिन । उनले नाति पनाति पनि देखिन ।

अन्ततः, ८२ वर्षको लामो जीवनयात्रा पूरा गरेर, वि.सं. २०८३ साल वैशाख ५ गते बेलुका ५:१५ बजे, साईला भाइ भागवत शर्माको  कोहलपुर -१२ चपरगौडीको घरमा उनले यस संसारबाट सधैंको लागी वैतरणी दान गरेको एक घन्टा पछाडी विदा लिइन्। उनको राप्ती सोनारी अगैया घाटमा माईती र घर परिवारका साथ अन्त्यस्टी गरियो । उनको अन्त्यस्टिमा सयौं मलामीहरुले आँसुका धारा बगाए र  विदाइ दिन घाट पुगे। त्यो केवल एक नारिको विदाइ थिएन, त्यो एउटा आदर्श नारिको जीवनकोगाथा र उनको सम्मान थियो।  नरपी शर्मा गौतमको जीवन आधुनिक समाजका लागि एउटा गहिरो सन्देश भएको छ। जहां समय जति नै बदलियो,  संस्कार बच्यो र धैर्य र आत्मबल कहिल्यै पुराना हुँदैनन् भन्ने सन्देश प्रदान गर्यो । उनले देखाइन् कि विधवा नारी पनि समाजको मार्गदर्शक बन्न सक्छिन । उनीभित्र आत्मविश्वास, सहनशीलता र श्रद्धा छ भने उनको जीवन एउटा उज्यालो दीपजस्तै हो । जसले आजका पुस्तालाई पनि सही बाटो देखाइरहेको छ। हार्दिक श्रद्धाञ्जली स्वर्गीय नरपि शर्मा गौतम ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार