मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी आदान–प्रदान तथा सांस्कृतिक अन्तरघुलन कार्यक्रम सम्बन्धी अभिमुखीकरण सम्पन्न




सुर्खेत, चैत १८ गते । मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी आदान–प्रदान तथा सांस्कृतिक अन्तरघुलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधवार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयको आयोजनामा विश्वविद्यालयका उपलब्ध पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा संक्षिप्त प्रस्तुतिकरण सहित विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विभिन्न देशका विश्वविद्यालयहरूसँग आपसी समझदारी एवम् सहकार्य विस्तार गरी विद्यार्थीहरूलाई नयाँ सिकाई संस्कृतिसँग परिचित गराउने उद्देश्यले आदानप्रदान कार्यक्रम अघि बढाइएको बताए । भारतको चण्डीगढ विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेका कार्यकारी निर्देशक ज्ञवालीले पहिलोपटक विभिन्न विषयका विद्यार्थीहरूलाई एकीकृतगरी गहन सिकाइका लागि अन्य विश्वविद्यालयमा आदानप्रदानगर्ने ढोका खोलिएको बताए  । उनले केही दिनमा चण्डीगढ विश्वविद्यालयमा जाँदै गरेका विद्यार्थीहरुलाई मध्यपश्चिम विश्वविद्यालय मात्र नभै देशकै सद्भाव दूतका रुपमा गरिमा कायमगर्ने गरी प्रस्तुतहुने विश्वास व्यक्त गरे ।


कार्यकारी निर्देशकत्रय डा. विष्णुकुमार खड्का, डा. लक्ष्मीप्रसाद आचार्य र डा. पुष्पराज आचार्य, विभागीय प्रमुख उपप्रा. खेमराज रावत सहित सहभागी कार्यक्रममा सहभागीहरूको प्रतिनिधित्व गर्दै स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष विवेक खड्काले यस किसिमका कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानमा समेत महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।


उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको मूलनेतृत्वमा विश्वविद्यालयले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना तय गरेको विश्वविद्यालयका सूचना अधिकारी शेर बहादुर केसिले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार