प्रकृतिका सत्त्व, रज र तम गरी तीन गुण हुन्छन्, जसले संसार चलाउँछन् । यी तीन गुणबिना संसार चल्दैन । त्यसैले संसारका लागि यी अत्यन्त आवश्यक छन् । अध्यात्मदर्शनका दृष्टिले हेर्दा चाहिँ यी तीनैवटा गुण बन्धनका कारण हुन् । श्रीमद्भगवद्गीता र त्यसमाथि जगद्गुरु भाष्यकार श्रीरामानुजाचार्य स्वामीजीले लेख्नुभएको भाष्यका आधारमा यी तीन गुण कसरी बन्धनका कारण बन्छन् भन्ने बारेमा केही चर्चा गरौँ । भगवान् श्रीकृष्णले गीतामा सत्त्व गुणका विषयमा बताउनुभएको छ –
तत्र सत्त्वं निर्मलत्वात्प्रकाशकमनामयम् ।
सुखसङ्गेन बध्नाति ज्ञानसङ्गेन चानघ ।
(श्रीमद्भगवद्गीता, १४ /६ )
सत्त्व गुण निर्मल भएको कारण प्रकाशक हुन्छ । निर्मलता भनेको प्रकाश र सुखको आवरणको अभाव हो । अर्थात् प्रकाश र सुखलाई छेक्नेवाला कुनै पनि वस्तु नहुनुलाई नै निर्मलता भनिन्छ । प्रकाश भनेको कुनै पनि पदार्थको स्वरूपको यथार्थ ज्ञान हो । त्यो भयो भने कुनै पनि वस्तुको सही उपयोग हुन्छ र त्यसबाट सुख प्राप्ति पनि हुन्छ । सत्त्व गुण आफैँमा सुखमय भएको हुनाले यसले सुखको अनुभव गराइरहन्छ । सत्त्वगुण निरोगिताको कारण पनि हो । सत्त्व गुणले व्यक्तिलाई ज्ञानी र निरोगी बनाउने भएकाले यो सुखको कारण बन्छ । फेरि सत्त्वगुणी मान्छेमा उपकारी भावना, क्षमाशीलता, उदारता, कल्याणकारिता आदि विशेषता हुने भएकाले उसले आफ्नो गुणका कारण आफूले मात्र सुख प्राप्त नगरेर अरूको सुखको कारण पनि ऊ बन्न सक्छ । यो त सत्त्वगुणका राम्रा पक्ष भए । यति राम्रो गुणले पनि जीवात्मालाई बन्धनमा पार्छ । कसरी त ? यसअघि भनिसकियो कि सत्त्व गुण ज्ञान र सुखको कारण हो । तिनै ज्ञान र सुखको आसक्तिले जीव बन्धनमा पर्दछ ।
भगवान्ले रजोगुणका विषयमा बताउनुभएको छ –
रजो रागात्मकं विद्धि तृष्णासङ्गसमुद्भवम् ।
तन्निबध्नाति कौन्तेय कर्मसङ्गेन देहिनम् ।
(श्रीमद्भगवद्गीता, १४ /७ )
रजोगुण रागात्मक हुन्छ र यो रागको हेतु हो । राग भनेको स्त्रीपुरुषबिचको अन्योन्यस्पृहा अर्थात् एकअर्काप्रतिको स्पृहा (चाहना / मिलनको इच्छा) हो । रजोगुण तृष्णासङ्गसमुद्भव अर्थात् तृष्णा र सङ्गको उद्भव-स्थान मानिन्छ । यसको मतलब रजोगुण तृष्णा र सङ्गको हेतु/ कारण हो । तृष्णा शब्दादि सर्वविषयस्पृहाको नाम हो । यसको मतलब शब्द, स्पर्श, रूप, रस, गन्ध आदि विषयको चाहना नै तृष्णा हो । मनै लठ्याउने, अहं (ego) लाई तृप्ति दिने, प्रशंसामूलक मिठा मिठा शब्दहरू सुन्न ; सुकोमल, आनन्ददायक र सन्तुष्टिकारक वस्तुको स्पर्श गर्न; मनै लोभ्याउने सुन्दर रूप हेर्न; नुनिलो, चुकिलो, पिरो, गुलियो जस्ता जिब्रालाई मिठो लाग्ने रसको स्वाद लिन अनि मिठो सुगन्ध सुँघ्न नचाहने को होला र ? ती वस्तुहरूको चाहना नै तृष्णा हो । सङ्ग भनेको पुत्र मित्र आदि सम्बन्धीहरूमा सम्बन्धविषयक चाहना हो । अर्थात् अधिकभन्दा अधिक नातेदार (परिवार, सन्तान, साथी, इष्टमित्र आदि आफन्तीहरू) होऊन् भन्ने चाहना, तिनीहरूप्रतिको आसक्ति र तिनीहरूसँग घुलमिल हुनुको अर्को नाम नै सङ्ग हो । यसरी रजोगुणले तृष्णा र सङ्गलाई जन्माएर अनि कर्ममा आसक्त बनाएर जीवलाई बन्धनमा पार्छ । रजोगुणकै कारण जीव कसरी बन्धनमा पर्छ त ? यसले तृष्णा र सङ्गलाई जन्माउँछ । ती दुईको परिपूर्तिको लागि कर्म (क्रिया) गर्नैपर्छ, कर्म गर्ने क्रममा राम्रा नराम्रा सबै खाले कर्म गरिने भएको हुनाले पुण्य र पाप दुवै आर्जित हुन्छन् । ती दुईको फलभोगका लागि विभिन्न योनिहरूमा जन्म लिनुपर्छ, जुन क्रम निरन्तर चलिरहन्छ र जीव संसारबन्धनमा परिरहन्छ ।
भगवान्ले रजोगुणका विषयमा भन्नुहुन्छ –
तमस्त्वज्ञानजं विद्धि मोहनं सर्वदेहिनाम् ।
प्रमादालस्यनिद्राभिस्तन्निबध्नाति भारत ।
(श्रीमद्भगवद्गीता, १४ /८ )
ज्ञानको विपरीत वस्तु नै अज्ञान हो । ज्ञान भनेको वस्तुको वास्तविक बोध हो, त्यसका विपरीत भ्रमपूर्ण बोध वा मोह नै अज्ञान हो । मोह भनेको विपरीत ज्ञान हो । डोरीमा सर्पको भान, सिपीमा मोतीको भान, टाढाबाट हेर्दा तातो बालुवामा पानीको भान, रातिको बेलामा ठुटा, ढुङ्गा आदिमा भूत वा हिंस्रक जनावरको भान, भौतिक शरीरमा आत्मत्वको भान, ज्ञानी मातापिता र गुरुका हितकारी उपदेशमा अनावश्यक गफको भान जस्ता कुरा अज्ञानका उदाहरण हुन् । तमोगुण प्रमाद, आलस्य र निद्राको हेतु पनि हो र यी तीन कुराका माध्यमबाट तमोगुणले जीवलाई बाँधिरहन्छ । यी तीन कुराको परिभाषा श्रीरामानुजाचार्य स्वामीजीले यस प्रकार गर्नुभएको छ :
‘प्रमादः कर्तव्यात् कर्मणः अन्यत्र प्रवृत्तिहेतुभूतम् अनवधानम्’ (रामानुजाचार्य,२०५०,पृ.४६६-४६७) । कर्तव्य कर्म अर्थात् गर्नुपर्ने कामको विपरीत अकर्तव्य अर्थात् गर्न नहुने कर्ममा प्रयुक्त गराउनेवाला असावधानी नै प्रमाद हो । आलस्यं कर्मसु अनारम्भस्वभावः, स्तब्धता इति यावत् (रामानुजाचार्य, २०५०, पृ. ४६७) । कर्ममा प्रवृत्त नहुने स्वभाव वा स्तब्धता अर्थात् स्थिर/निश्चेष्ट भएर बसिरहने स्वभाव नै आलस्य हो । पुरुषस्य इन्द्रियप्रवर्तनश्रान्त्या सर्वेन्द्रियप्रवर्तनोपरतिः निद्रा; तत्र बाह्येन्द्रियप्रवर्तनोपरमः स्वप्नः, मनसः अपि उपरतिः सुषुप्तिः (रामानुजाचार्य, २०५०, पृ. ४६७) । इन्द्रियहरूलाई काममा लगाउँदा लगाउँदा थाकेको पुरुषमा ती सम्पूर्ण इन्द्रियहरूलाई काममा लगाउनबाट विरक्ति जाग्नु अथवा थकित इन्द्रियहरू आफ्ना विषयहरूमा प्रवृत्त हुनै नसकी शान्त हुनु नै निद्रा हो । निद्राका पनि दुई भेद छन् – स्वप्न र सुषुप्ति । सम्पूर्ण बाहिरी इन्द्रियहरू आफ्ना विषयबाट निवृत्त हुनु स्वप्न हो भने ती इन्द्रियहरू र मन समेत आफ्ना विषयहरूबाट निवृत्त हुनु सुषुप्ति हो ।
तीन गुणका कार्यका विषयमा भगवान् भन्नुनुहुन्छ-
सत्त्वं सुखे संजयति रजः कर्मणि भारत ।
ज्ञानमावृत्य तु तमः प्रमादे संजयत्युत । (श्रीमद्भगवद्गीता, १४ /९ )
सत्त्वगुणले सुखमा लगाउँछ/ सुखतिर प्रेरित गर्छ, रजोगुणले कर्ममा लगाउँछ अर्थात् कर्म गर्न प्रेरित गर्छ तर तमोगुणले ज्ञानलाई ढाक्छ र लापरवाहीतर्फ प्रेरित गर्छ ।
यसरी सत्त्वगुणी मानिस सुखासक्तिका कारण बन्धनमा पर्छ, रजोगुणी व्यक्ति कर्मप्रतिको आसक्तिका कारण अनि तमोगुणी व्यक्ति अज्ञानजन्य कर्तव्यविपरीत निषिद्ध कर्महरूप्रतिको आसक्तिका कारण बन्धनमा पर्छ ।
तमोगुण बढेपछि के हुन्छ ? भगवान् भन्नुनुहुन्छ –
अप्रकाशोऽप्रवृत्तिश्च प्रमादो मोह एव च।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ।
(श्रीमद्भगवद्गीता, १४ /१३ )
अप्रकाश अर्थात् ज्ञानको उदय नहुनु, अप्रवृत्ति अर्थात् निश्चेष्ट रहिरहनु / क्रममा प्रवृत्त नहुनु, प्रमाद अर्थात् असावधानी र मोह अर्थात् विपरीत ज्ञान / उल्टो बुद्धि ; यी सबै तमोगुण बढेपछि जन्मिन्छन् । कुनै व्यक्तिमा उक्त कुराहरू छन् भने उसमा तमोगुण बढी रहेछ भन्ने बुझ्नुपर्छ ।
तीन गुणबाट के के जन्मन्छन् त ?
सत्त्वात्संजायते ज्ञानं रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो भवतोऽज्ञानमेव च ।
(श्रीमद्भगवद्गीता, १४ /१७ )
सत्त्व गुणबाट ज्ञान जन्मन्छ, रजोगुणबाट धन वैभव स्वर्ग आदिप्रतिको लोभ जन्मन्छ भने तमोगुणबाट प्रमाद, मोह र अज्ञान जन्मन्छन् ।
कुन गुण सक्रिय हुँदा मृत्यु भएको व्यक्तिको गति केकस्तो हुन्छ ?
यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभृत् ।
तदोत्तमविदां लोकानमलान्प्रतिपद्यते । (श्रीमद्भगवद्गीता, १४ /१४ )
कुनै व्यक्तिमा सत्त्वगुण उदय भएको वा बढेको अवस्थामा उसको निधन भयो भने उसले आत्मज्ञानीहरूको उत्तम लोक प्राप्त गर्दछ । यसको मतलब त्यस्तो व्यक्ति आत्मज्ञानीहरूको कुलमा जन्म लिन्छ र असल अभिभावकको संरक्षकत्वमा आत्मस्वरूपज्ञानको साधनरूप सत्संग अनि पुण्यकर्मको अधिकारी बन्दछ । त्यसरी सत्कुलमा जन्मेको व्यक्ति त्रिगुणातीत परब्रह्मको उपासक बन्छ र मोक्षको अधिकारी बन्छ ।
रजसि प्रलयं गत्वा कर्मसङ्गिषु जायते ।
तथा प्रलीनस्तमसि मूढयोनिषु जायते ।
(श्रीमद्भगवद्गीता, १४ /१५ )
रजोगुण बढेको बेलामा मृत्यु प्राप्त गरेको व्यक्ति कर्मठ व्यक्तिहरूको कुलमा जन्म प्राप्त गर्छ र स्वर्ग आदि फलका साधन शुभकर्मको अधिकारी बन्दछ । तमोगुण बढेको बेलामा मृत्यु प्राप्त गरेको व्यक्तिले अत्यन्त अज्ञानी, मूर्ख व्यक्तिहरूको कुलमा अथवा फोहरी पशुहरूको योनिमा जन्म लिन्छ ।
ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः ।
(श्रीमद्भगवद्गीता, १४ /१८ )
सत्त्वगुणी व्यक्तिहरू मरणोपरान्त उर्ध्व गति प्राप्त गर्छन् अर्थात् संसार बन्धनबाट मोक्षतर्फ अग्रसर हुन्छन्, रजोगुणीहरू वैभव, ऐस, आराम र स्वर्गप्रति लुब्ध हुने भएको हुनाले तदनुकुल कर्म गरी मरणोपरान्त स्वर्गमा गएर सुखभोग गर्छन् र पुण्यकर्म सकिएपछि पुनः जन्ममरणको चक्रमा परिरहन्छन्, त्यसैले तिनीहरू न त परमलोक रूप मोक्षसम्म पुग्छन्, न त अत्यन्त दुःखदायक नरक वा नीच योनिको जन्म भोग्छन्, त्यसैले सधैँ बीचमै रहन्छन् । तमोगुणीहरू त जघन्य कर्ममा प्रवृत भएर अधोगति प्राप्त गर्दछन् । मानिस भए पनि ज्ञान, आचरण र भगवद्भक्तिले विहीन तुच्छ कुलमा जन्मन्छन्, त्यसपछि पशु योनिमा, त्यसपछि किराकाँठी भएर, त्यसपछि ठूला रुखहरू, त्यसपछि लहराहरू र त्यसपछि झारहरू हुँदै जान्छन् ।
प्रकृतिका तीनवटा गुणहरू सत्त्व, रजस् र तमस्मध्ये सप्तगुण उत्तम, रजोगुण मध्यम र तमोगुण अधम मानिन्छ । यी तीन गुण पनि शुद्ध र मिश्रित गरी दुई दुई किसिमका हुन्छन् । मिश्रित गुण पनि दुई दुई प्रकारका हुन्छन् । यसरी सत्त्व गुण शुद्ध सत्त्व, रजोमिश्रित सत्त्व र तमोमिश्रित सत्त्व गरी तीन प्रकारको, रजोगुण शुद्ध रजस् , सत्त्वमिश्रित रजस् र तमोमिश्रित रजस् गरी तीन प्रकारको, तमोगुण पनि शुद्ध तमस्, रजोमिश्रित तमस् र सत्त्वमिश्रित तमस् गरी तीनै प्रकारको हुन्छ । सत्त्वगुणका तीन प्रकारमध्ये पहिलो उत्कृष्ट, रजोगुणको दोस्रो प्रकार उत्कृष्ट र तमोगुणको तेस्रो प्रकार तुलनात्मक रूपमा उत्कृष्ट मानिन्छ ।
प्रकृतिका तीनवटै गुण सृष्टि चलाउनको लागि उपयोगी छन् । यी तीनवटै गुणको सहायताले ईश्वरले सृष्टि चलाउनुभएको छ । हाम्रा जीवनमा पनि तीनैवटा गुण आवश्यक पर्छन् । सत्व गुणजन्य ज्ञान, भक्ति, वैराग्य, परोपकार, दया, दान, करुणा आदि पनि हामीलाई चाहिन्छन्, रजोगुणजन्य कर्मठपन, सम्पत्ति, वैभव, परिवार, नाता कुटुम्ब अनि तमोगुणजन्य क्रोध, निद्रा आदि पनि आवश्यक पर्छन् नै ।
गुणको अधीनमा बस्ने कि गुणलाई आफ्नो अधीनमा राख्ने भन्ने कुराले चाहिँ हाम्रो गति निर्धारण गर्दछ । तीन गुणलाई आवश्यकताको आधारमा प्रयोग गरियो भने हानि हुँदैन । भगवान्ले यी तीन गुणकै प्रयोग गरेर सृष्टि, स्थिति र संहार गर्नुहुन्छ तर यी तीन गुणभन्दा उहाँ माथि हुनुहुन्छ । हामी जीवात्माहरूले पनि त्रिकोणलाई चिन्यौँ, यिनको सदुपयोग गर्यौँ तर यिनमा डुबेनौँ वा यिनको अधीनमा परेनौँ भने मात्र हामी आफ्नो गन्तव्यसम्म पुग्न सक्छौँ, अन्यथा यिनकै वशमा पर्यौँ भने माथि चर्चा गरिए जस्तै यी हाम्रा बन्धनका कारण बन्छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्