कोहलपुर गोल्डकपको तयारी पूरा, गोल्डकपमा नेपालदेखि नाइजेरियासम्म भिडन्त




कोहलपुर । कोहलपुरमा आयोजना हुन लागेको चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक रेसिङ सहारा क्लब ले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका (टाइसिट) सार्वजनिक गर्दै वैशाख १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो। खेलहरू कोहलपुर–२ स्थित तेह्र बिगाहा खेलमैदान मा हुनेछन्।

प्रतियोगिताको चौथो संस्करणमा नेपालका विभिन्न प्रतिष्ठित क्लबहरूसँगै एक विदेशी टोलीको समेत सहभागिता रहनेछ। यसपटक प्रतियोगितामा आयोजक रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) तथा विभागीय टोली नेपाल पुलिस क्लब ले प्रतिस्पर्धा गर्नेछन्।

उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लब र पञ्चकोशी युवा क्लब आमनेसामने हुनेछन्। प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलहरू वैशाख २३ र २४ गते सञ्चालन हुनेछन् भने फाइनल खेल वैशाख २६ गते हुने तालिका सार्वजनिक गरिएको छ।

प्रतियोगिताका संयोजक कर्ण बस्नेतले खेल मैदान तयारी, टोलीहरूको आवास, सुरक्षा व्यवस्था, स्वास्थ्य सेवा, यातायात व्यवस्थापन तथा दर्शक व्यवस्थापनलगायत सबै पक्षको तयारी पूरा भइसकेको बताए। उनले प्रतियोगिता सफल बनाउन स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा खेलप्रेमीको सहयोग महत्वपूर्ण रहने उल्लेख गरे।

त्यस्तै आयोजक क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री ले कोहलपुर गोल्डकपले स्थानीय खेलकुद विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै कोहलपुरलाई राष्ट्रिय खेलकुद नक्सामा थप चिनाउने बताए।

दर्शकहरूका लागि सबै खेल निःशुल्क रूपमा हेर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताबाट कोहलपुरमा खेलकुद गतिविधि थप सक्रिय हुने, युवामा सकारात्मक ऊर्जा बढ्ने तथा फुटबलप्रेमी दर्शकले उच्चस्तरीय खेल हेर्ने अवसर पाउने अपेक्षा गरिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार