‘जनता जागेको दिन शक्तिशाली तानाशाह र विशाल साम्राज्यहरु ढलेको ईतिहास छ’

बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक ताेयानाथ पहाडीले सामाजिक सञ्जालमा लेख्दै भन्छन्, ‘जनता जागेको दिन शक्तिशाली तानाशाह र विशाल साम्राज्यहरु ढलेको ईतिहास छ’ । पछिल्लाे राजनितिक घटनाक्रममा भएका वा देखिएकाे उर्जाकाे विषयलाइ लिएर सामाजिक सञ्जालमा राखेका छन, जुन यस्ताे छ,

जनता जागेको दिन शक्तिशाली तानाशाह र तिनका विशाल साम्राज्यहरु पनि ढलेको ईतिहास छ। जनता कसैका रैती, गुलाम तथा दास होइनन्। जनताको विश्वास र अपेक्षामाथि कुठाराघत भयो भने आफैले काँधमा बोकेर सिंहासनमा बसालेका शासकलाई सिंहासनबाट झारेर सडकमा घिसार्दै तिनै जनताले फाँसी दिएको ईतिहास सबैले पढेकै छौं।

हिजो जुन व्यथिति तथा प्रवृत्तिका विरुद्ध आन्दोलन शुरु गरेर जनताको साथले व्यवस्था परिवर्तन गरेको हो आज विद्यमान व्यवस्थामा आफ्नो प्रवृत्ती हिजो विरोध गरेको व्यवस्थामा भन्दा दुर्गन्धित हुँदा पनि अझै नसच्चिने र आफ्ना कमि कमजोरी ढाकछोप गर्दै आफू सत्तामा निरन्तर टिकिरहन षडयन्त्र र जालझेलको सहारा लिइरहने हो भने त्यस्ता दल र नेताको मलामी जनता जाँदा रहेनछन् भन्ने पनि समयमै बुझ्दा राम्रो होला।

राज्य व्यवस्था जनताको मनोभावना र आकाँक्षा बुझेर संचालन गर्नेभन्दा पनि आफ्नै सनक र लहडमा गर्ने अनि जुन व्यवस्था आए पनि जनताको आर्थिक अवस्था र जीवनको गुणस्तरमा कुनै सुधार नआउने हो भने मुठ्ठिभर नेता, दलाल र भ्रष्टहरुको रजाइँ हुने त्यस्तो व्यवस्था रुपमा जति सुन्दर भए पनि सारमा कुरुप हुन्छ। यस्तो व्यवस्था र त्यसमा राइँदाइँ गर्ने बुङ्बुङ्ती गनाएकाहरुलाई जनताले सँधै काँधमा बोकेर लुरुलुरु हिँड्लान भन्ने सोच्नु दिवास्वप्न हो।

छद्मभेषी नेता र तिनका गतिविधिलाई पनि जनताले नजिकबाट हेरिरहेका हुँदारहेछन्। अभाव र निँराशाले आक्रान्त जनता जागेको दिन आन्दोलन कुन मोडबाट अघि बढ्छ र कुन गन्तब्यमा पुग्छ भन्न सकिन्न। त्यसैले सबै दल र तिनका नेताहरु बेलैमा सच्चिनु जरुरी छ।

विश्वका थुप्रै मुलुकहरुमा जनता जागेको दिन एउटै आन्दोलन र एउटै व्यवस्था परिवर्तनले युग परिवर्तन भएको छ। तर नेपालमा कतिपटक आन्दोलन गरेपछि, कतिपटक व्यवस्था परिवर्तन गरेपछि जनताको अवस्थामा परिवर्तन आउने हो नेताज्यूहरु? आगोको सानो झिल्को सम्झेर खेलवाड गर्दा वस्ती नै जलेर खरानी भएको त देख्नु भएकै होला !