बाँके निकुञ्ज र होमस्टे




बाँकेको पृष्ठभूमि हेर्ने हो भने वि.सं. १८७३ को सुगौली सन्धीमा नेपालले गुमाएकोे भू–भागमध्ये वि.सं. १९१७ मा इस्ट इन्डिया कम्पनीबाट नेपालले पुरस्कार स्वरूप पाएको ४ वटा जिल्ला मध्ये बाँके एक हो ।

सरदर यस जिल्लाको पूर्व–पश्चिम लम्बाइ करिब ८४ किलोमिटर र उत्तर–दक्षिणको चौडाई करिब ४० कि.मी.अनुमान गरिएको छ । यस जिल्लाको दक्षिण भागमा तराईको समथर भू–भाग र उत्तरी भागमा पूर्व–पश्चिम फैलिएको चुरे श्रृंखला पर्दछ ।

बाँके जिल्ला मध्य हिमाली एवं सुदूर पहाडी भू–भागहरूको हवाई नाका र प्रवेशद्वारको रूपमा रहेको छ । यसलाई मुख्य केन्द्रका रूपमा हेर्ने गरिन्छ । मध्य तथा सूदूरपश्चिमका जिल्लामा जाने मानिसहरू बाँकेमा पाइला टेक्नै पर्ने हुन्छ ।

२,३३७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको बाँके जिल्लाको हावापानी हावापानी उष्ण देखि समशितोष्ण सम्म रहेको छ । यहाँ वन क्षेत्र करिब ५० प्रतिशत, अन्य चट्टान, बंजर, नदि आदि ९ प्रतिशत र आवादी क्षेत्र ४१ प्रतिशत रहेको छ । बाँके प्राकृतिक रूपमा धनी जिल्ला हो ।

बाँके जिल्लाको कूल भू–भाग मध्ये अधिकांश भू–भाग (करीब ७० प्रतिशत) औषत १ डिग्री भन्दा कम भिरालो भएको क्षेत्रले ढाकेको छ भने चुरे क्षेत्रमा जमिन १२३१ मिटर उचाँईसम्म उठेको छ । भौगर्भिक रूपमा चुरे पहाडको उत्तरी मोहडा सामान्य भिरालो छ भने दक्षिण मोहडा अति भिरालो छ ।

वन क्षेत्रले ढाकेको यस जिल्लामा पर्यापर्यटनको सम्भावना निकै बढेर गएको छ । बाँके राष्ट्रिय निकुञ्जको स्थापनासँगै यहाँ वन्यजन्तु, चराचुरुङ्गीको संख्यामा पनि वृद्धि भएको छ ।

यो निकुञ्ज विशेष गरी पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ मा स्थापना भएको हो । कुल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्ज र मध्यवर्ती क्षेत्र बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । निकुञ्जमा जैविक, प्राकृतिक, जीवजन्तुबाट पर्यटन आकर्षणको सम्भावनासँगै सीमसार क्षेत्र, डाँडाकाँडा, खोला–नदीनालालक्षित पर्यटन विस्तार भएको छ । जंगलभित्र बाटो पत्ता लगाउन संकेत निर्माणसमेत गरिएको छ । पाटेबाघ संरक्षणका लागि विस्तार भएको निकुञ्जमा सन् २०१३ मा बाघको संख्या ४ थियो । सन् २०२२ को नतिजाअनुसार यहाँ बाघ संख्या २५ पुगेको छ ।

बाँके निकुञ्ज आफैंमा सुक्खा निकुञ्ज हो । यहाँ वन्यजन्तुलाई पर्याप्त पानीको अभाव छ । तर, पनि यहाँ वन्यजन्तु भने बढेका बढ्यै छन् । यहाँका वन्यजन्तुलाई पानी पु¥याउन पानी पोखरी, घाँसेमैदानहरू बनाइएको छ । आहारा प्रजातिको संख्या बढ्दै गएको र बाघका लागि चाहिने वातावरणमा सुधार भइरहेकाले यसको संख्या बढ्दै गएको हो । यसको श्रेय बाँके निकुञ्जका कर्मचारी, मध्यवर्ती क्षेत्रका उपभोक्ता, संरक्षणमा खटिएका नेपाली सेना, सिबिएपियूका युवा तथा स्थानीयवासीलाई जान्छ । स्थानीयको प्रत्यक्ष सहभागिताबिना पक्कै पनि संरक्षण सम्भव छैन ।

वन्यजन्तु संरक्षण र पर्यापर्यटनका लागि बाँके निकुञ्जभित्र विभिन्न किसिमका काम भएका छन् । स्थानीयस्तरबाट पनि वन्यजन्तुको संरक्षण र यस क्षेत्रको पर्यापर्यटनलाई बढाइएका छन् । वन्यजन्तुको अवलोकन, मनोरञ्जन र स्वच्छ वातावरणमा रमाउन खोज्ने पर्यटकका लागि बाँके निकुञ्ज राम्रो गन्तव्य बन्न सक्छ ।

साथै जंगलभित्र वनपथ खोलिसकेकाले पर्यटकले जंगल सफारीको मजा लिन सक्नेछन् । साथै अहिले चुरेसम्म हाइकिङ् पनि सुरु भइसकेको छ । सफारीका लागि सडक सञ्जाल विस्तार भएको छ, जहाँ बाह्रै महिना गाडीमा र पैदल सफारी गर्न सकिन्छ । खड्कवार–सल्यान घुइयाबारी, ठुरियाखोला–हातीदमार सल्यान, अगैया–पानीमुहान दाङ र सुतैया–ओभरीसम्म जंगली सफारी र पैदलयात्रा गर्न मिल्ने बाटो बनाइएको छ ।

जंगलका विभिन्न ठाउँमा घाँसेमैदान, पानीपोखरी र मचान पनि बनाइएका छन् । गोठेरी, ठुरिया, जलसेनी, बुच्चापुर, खैरीफाँटा, कठौतीखोला,चौकाफाँटा, चुनभट्टीलगायत सानाठूला घाँसेमैदान दर्जन बढी निर्माण भएका छन् । यहाँ पानीपोखरी, चराचुरुङ्गी र वन्यजन्तु अवलोकनका लागि काठको मचान निर्माण गरिएको छ । पानीपोखरी, पानी जम्नेस्थल र घाँसेमैदानको चारैतिर घना जंगली झाडी रहेकाले जनावर, चुराचुरुङ्गी हेर्न र घुम्न लायक छ । निकुञ्जले आन्तरिक र वाह्य पर्यटकका लागि जंगल सफारी खुला गरेको छ । निकुञ्जले अहिलेलाई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा स्वीकृत गरेको छ । आन्तरिक र वाह्य पर्यटकले टिकट अनुमति लिएर, गाडीमा, पैदल जंगली सफारी गर्न व्यवस्था गरिएको छ । यस्तै हात्ती सफारी पनि सुरु भइसकेको छ ।

निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि जंगल सफारी खुला गरेको छ । निकुञ्जले अहिलेलाई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा स्वीकृत गरेको छ । आन्तरिक र बाह्य पर्यटकले टिकट अनुमति लिएर, गाडीमा, पैदल जंगली सफारी गर्न व्यवस्था गरिएको छ । हालसम्म पर्यटकको संख्या अपेक्षा गरिए भन्दा कम भए पनि विस्तारै लय समात्न थालिसकेको छ ।

यो निकुञ्ज यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको तथ्यांकमा उल्लेख छ । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् ।

बाघ संरक्षणका निम्ती स्थापना भएको निकुञ्जमा चौका, जरायो, चितुवा, हात्ती लगायतका जनावरहरूको संख्या पनि वृद्धि भएको छ । आजभोलि चित्तल, बँदेलहरू सडक नजिकका जंगलहरूमा पनि देखा पर्न थालेका छन् ।

यसले पनि के देखाउँछ भने बाँकेमा पर्यापर्यटनको सम्भावना निकै बढी छ । हामीले आ–आफ्नोतर्फबाट पर्यापर्यटन र वन्यजन्तु संरक्षणमा योगदान गर्न सक्यांै भने निश्चय पनि लक्ष्य टाढा छैन । आज जसरी बर्दियाको ठाकुरद्वारा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको छ, भोलि त्यसरी नै बाँके पनि पूरै विश्वमा चिनिन सक्नुपर्छ । साथै साविकको मध्य तथा सदूरपश्चिमको केन्द्र भएकाले यस क्षेत्रको पर्यापर्यटन अगाडि बढ्न कसैले रोक्न सक्दैन ।

वनजंगलबाट काठ तस्करी, वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा हामी सबै जुट्नुपर्ने आवश्यकता देखिन्छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि सुरक्षित बसोबासको व्यवस्था, स्थानीय परिकारको स्वाद तथा खानपिनको व्यवस्था, स्थानीय सांस्कृतिक नृत्य, भेषभुषामार्फत मनोरञ्जन प्रदान गर्न सक्ने खालका क्रियाकलापहरूलाई बढावा दिनुपर्छ । साथै यस क्षेत्रको प्रचारप्रसारलाई तीव्रता दिनुपर्छ । प्रचारप्रसारको कमीले पनि पर्यटकहरू घुम्न आउने संख्या कम हुन्छ । त्यसैले विशेष ध्यान प्रचारप्रसारमा केन्द्रित गर्नुपर्ने देखिन्छ । अब पर्यटकहरूको रोजाइ बाँके बनाउन स्थानीय स्तरदेखि नै जुट्नुपर्ने आवश्यकता छ ।

मानव–वन्यजन्तु द्वन्द्व घटाउनुपर्ने चुनौती

वन्यजन्तु संरक्षणले गर्दा बाघ, हात्ती, चित्तल, बँदेल जस्ता वन्यजन्तुको संख्या बढेको छ । यससँगै मानिसहरूसँगको द्वन्द्व पनि बढाएको छ। वनजंगल नजिकैका गाउँहरूमा जनावरले खेतीपाती नष्ट गर्ने, मानिसलाई आक्रमण गर्ने घटनाहरू बढ्दै छन् । यसलाई नियन्त्रण गर्न सामुदायिक सहभागिता र सरकारी नीति दुवै आवश्यक पर्छ ।

वन्यजन्तुले जनधनको क्षति गर्दा झन्झटिलो प्रक्रिया हटाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । साथै मध्यवर्ती क्षेत्र र आसपासका स्थानीयवासीलाई वन्यजन्तुबाट आफू कसरी जोगिने र वन्यजन्तु संरक्षणबारे बेलाबेलामा अभिमुखीकरणको व्यवस्था पनि गर्नुपर्ने देखिन्छ ।
बाँकेमा प्राकृतिक सम्पदा र पर्यटनको अपार सम्भावना छ। तर, मानव–वन्यजन्तु द्वन्द्व घटाउन संरक्षण र विकासबीच सन्तुलन कायम गर्नुपर्छ ।

गाभरको मुहार बदल्ने होमस्टे

केही वर्षअघिसम्म बैजनाथ गाउँपालिका–१, गाभरका अधिकांश युवा वैदेशिक रोजगारीको खोजीमा भारत वा तेस्रो मुलुकतिर जान्थे । गाउँमा कामको अवसर नहुँदा बाध्यताले उनलाई विदेश धकेल्थ्यो ।

जंगलले घेरिएको गाभर, सुगम जिल्लामा परे पनि दुर्गमभन्दा फरक थिएन—डाँडामाथि छरिएर बनेका घर, एक घरबाट अर्को घर देख्नै नसकिने, साँच्चिकै पहाडी भेगको अनुभूति दिने वातावरण । तर, त्यही गाउँ अहिले परिवर्तनको उदाहरण बनेको छ । र, यसको मुख्य श्रेय जान्छ होमस्टेलाई ।

एक समय गुमनाम रहेको गाभर भ्याली अहिले पर्यटकको आकर्षण बनेको छ। आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बाक्लो हुँदै गएको छ । यहाँ हिमाल, पहाड र तराई तीनै भूगोलका संस्कृतिको सँगम देख्न सकिन्छ । भेषभूषा, परिकार र सांस्कृतिक विविधताले पर्यटकलाई लोभ्याएको छ ।

पहिले घरधन्दा सकेर फुर्सदिला हुने महिलाहरू अहिले होमस्टे मार्फत आम्दानी गर्न थालेका छन् । गाउँमा फलाएका तरकारी, पालिएका कुखुरा, बनाइएका दुना टपरी होमस्टेमै बिक्री हुन्छन् । स्थानीय उत्पादन गाउँमै खपत हुने भएपछि बिक्रीका लागि बजार गइरहनु पर्दैन । बरु गाउँमा नपाएर बाहिरबाट तरकारी, कुखुराहरू ल्याउनुपर्ने बाध्यता भने होमस्टे सञ्चालकहरूलाई छ ।

होमस्टे सुरु भएपछि गाभरमा सडक विस्तारले पनि व्यापकता पाएको छ । जुन ठाउँ कहिल्यै सुन्न नपाइने थियो, आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिएको छ । गाभर भ्यालीमा गोलाकार बस्ती, हरियाली खेतीयोग्य जमिन, स्वच्छ वातावरण र पक्षीको चिरबिर आवाजले आगन्तुकलाई मुग्ध बनाउँछ । केही दूरीमै जंगली जनावर देख्न सकिने भएकाले रोमाञ्चक अनुभव प्राप्त हुन्छ ।

हाल गाभर भ्यालीमा थारू, मुगाली समुदायद्वारा सञ्चालित होमस्टेहरू सक्रिय छन् । बिदाका दिनमा यहाँको होमस्टे खचाखच भरिने गर्छ । पारिवारिक जमघटदेखि साना–ठूला कार्यक्रम यहाँ भइरहेका हुन्छन् ।

होमस्टेमा पर्यटकको इच्छानुसार थारू नाच, देउडा नाच, पञ्चेबाजालगायतका नाच पनि देखाउने गरिन्छ । थारु खानाका परिकारमा ढिक्री, अनदीको भात, बरिया, कचालु, सिद्रा, सिंकी, घोंघी, गंगटा, परेवाको मासु, लोकल कुखुराको मासु, झिंगे माछा, निगार, अनदीको रोटीलगायत छन् ।

त्यस्तै मुगाली खानाका परिकारमा मकैको पुरी, कोदोको रोटी, जुम्ली मार्सी चामलको भात, कोदोको ढिँडो, सिस्नुको तरकारी, जडीबुटीको चिया, जडीबुटीको मसलालगायत छन् । यहाँ पुग्ने हरेक पर्यटकलाई होमस्टेअनुसार थारु र मुगाली समुदायमा आधारित स्वागत सत्कार गरिन्छ । अर्गानिक खाना र आरामदायी बसाइँका साथै पारिवारिक आतिथ्यता दिइन्छ । बस्नका लागि शौचालयसहितका कोठा बनाइएको छ । परम्परागत शैलीको तालिम हलको व्यवस्था छ ।

गाभर भ्यालीमा पूर्वाधार निमाण तीव्र गतिमा भइरहेको छ । यहाँको प्रमुख आकर्षणमा लायन्स जैविक पार्क, अष्ट्रिच फर्म, थारू सँग्राहलय, पिकनिक स्पट, चिल्ड्रेन पार्कलगायत छन् । साइकल यात्रा, थारू हस्तकला, सांस्कृतिक कार्यक्रमहरू जस्ता गतिविधिले गाभर भ्यालीलाई बहुआयामिक गन्तव्य बनाउँदैछन् । गाभर भ्यालीसँगै ढकेरी, खड्कवार लगायत क्षेत्रमा पनि होमस्टे निर्माण भएका छन् । साथै विभिन्न समुदायका सँग्राहलय निर्माण पनि थालिएको छ ।

स्थानीय परिकार र स्वच्छ वातावरणमा खानपिन गर्न पाउँदा यस क्षेत्रका मानिसहरू फुर्सदको समय सदुपयोग गर्न होमस्टे जाने गरेका छन् । निकुञ्ज क्षेत्रभित्र बाघसँगै अन्य आहारा प्रजातिको अवलोकन, वृक्षारोपण, जैविक पार्क, बाल उद्यान, वनभोज स्थल लगायतका निर्माण प्रयाससमेत भइरहेका छन् ।

रारा, मानसरोवर आवतजावत गर्न, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न र स्वर्गद्वारी दर्शन गर्न जाने पर्यटकका लागि बसोबासको रूपमा गाभर भ्याली विकास हुँदै गएको छ । शान्त वातावरण तथा कम खर्चमा जैविक खानपानसहितको बसोबासको रूपमा प्रयोग गर्न सकिन्छ ।

बाँके राष्ट्रिय निकुञ्जलाई बाघ पर्यटनको गन्तव्य बनाउन सहयोग गर्ने मुख्य उद्देश्यले होमस्टे सञ्चालन गरिएको हो । साथै समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्ने, संरक्षण र पर्यापर्यटनबीचको सम्बन्धलाई जोड्ने, यस क्षेत्रलाई पर्यापर्यटनको प्रोडक्टका रूपमा विकास गर्न सकिन्छ ।

बाँके निकुञ्ज र होमस्टेबीचको सम्बन्ध एउटा सिक्काका दुई पाटोको जस्तो छ– एउटा नभए अर्को अधुरो । बाँके निकुञ्ज नभएको भए सायद होमस्टेको पहिचान नै हुने थिएन, होमस्टे नभएको भए निकुञ्जमा आउने पर्यटकको संख्या आजभन्दा धेरै कम हुने थियो । यी दुई एकअर्काका पूरक हुन्, जसले बाँकेलाई पर्यटनको हब बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार