Kohalpur Today Header Ads

संघर्षदेखि समाजसेवासम्म : ७९ वर्षे नन्दकुमार शर्मा उपाध्याय आचार्यको प्रेरणादायी जीवनयात्रा




कोहलपुर ।
बुबा केवल जन्म दिने अभिभावक मात्र होइनन्, परिवारका लागि जीवनको पहिलो पाठशाला र संस्कारका पहिलो गुरु पनि हुन्। नेपाली समाजमा ‘बा’ शब्दभित्र त्याग, संघर्ष, जिम्मेवारी, माया, संस्कार र आशीर्वादको गहिरो अर्थ जोडिएको छ। यस्तै संघर्ष, त्याग, धर्म, समाजसेवा र राजनीतिक चेतनाले भरिएको जीवन बाँचिरहेका छन् ७९ वर्षीय नन्दकुमार शर्मा उपाध्याय आचार्य।


रुकुमको तत्कालीन सामाजिक परिवेशमा एक प्रतिष्ठित ब्राह्मण परिवारमा जन्मिएका नन्दकुमार गाउँका प्रख्यात पण्डित तथा मुखिया केशलाल उपाध्यायका जेठा छोरा हुन्। दुई भाइ, चार दिदी र एक बहिनीका साथ हुर्किएका उनले बाल्यकालदेखि नै अध्ययन, धर्म, संस्कार र सामाजिक जिम्मेवारीको वातावरण पाए।
त्यतिबेलाको समय अहिले जस्तो सहज थिएन। विद्यालय तथा औपचारिक शिक्षाको पहुँच सीमित थियो। तर अध्ययनप्रतिको तीव्र इच्छाका कारण उनले रुकुम–सल्यान क्षेत्रका प्रख्यात पण्डितहरूसँग अध्ययन गरे। घरमै गुरु राखेर समेत अध्ययन गरेको उनी सुनाउने गर्छन्। तत्कालीन समयमा प्रथम परीक्षा, दोस्रो परीक्षा हुँदै लघुकौमुदी जस्ता संस्कृत व्याकरणका कठिन ग्रन्थ अध्ययन गरेका उनका अनुभव आजको पुस्ताका लागि आफैँमा एउटा इतिहास हो।
उमेरले ७९ वर्ष पुगे पनि अहिले पनि उनी अक्षर लेख्छन्, धार्मिक ग्रन्थको पाठ गर्छन् र चस्मा नलगाई भागवत पारायण गर्न सक्छन्। तीन–चार किलोमिटर सहजै हिँड्न सक्ने उनको सक्रिय जीवनशैली अझै पनि धेरैका लागि प्रेरणाको विषय बनेको छ।
राजनीतिदेखि समाजसेवासम्म
नन्दकुमार शर्मा उपाध्याय आचार्यको जीवन केवल धार्मिक कर्मकाण्डमा सीमित रहेन। उनले गाउँको विकास, शिक्षा र सामाजिक सेवामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरे।
२०२८ सालमा तत्कालीन सानाखोला पञ्चायतको प्रधानपञ्चका रूपमा पाँच वर्ष जिम्मेवारी सम्हालेका उनले स्थानीय समाजको नेतृत्व गरे। आफ्नो सामाजिक तथा सार्वजनिक योगदानका कारण तत्कालीन राजा श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेवबाट सम्मानित समेत भएका थिए।


उनका पिता केशलाल उपाध्यायले विद्यालय स्थापनाका लागि जग्गा दान गरेका थिए। सोही योगदानबाट प्राथमिक विद्यालय सानाखोला स्थापना भएको थियो। विद्यालय व्यवस्थापन समितिको सदस्य हुँदै अध्यक्षको जिम्मेवारीसमेत सम्हालिएको उक्त शैक्षिक संस्थाले समयसँगै विकास हुँदै आज जनकल्याण माध्यमिक विद्यालयको स्वरूप लिएको छ।
शिक्षाप्रतिको यही लगावका कारण नन्दकुमार शर्मा तत्कालीन हिमालय माध्यमिक विद्यालय, खोलागाउँ चौफाको विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत बने। उनको नेतृत्वमा विद्यालयलाई तत्कालीन समयमा उच्च माध्यमिक तहसम्म विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको थियो। अहिले उक्त विद्यालयमा कृषि लगायतका कार्यक्रमसमेत सञ्चालनमा छन्। उनकै पहल र निरन्तर प्रयासबाट जहारी क्याम्पस स्थापना गर्ने वातावरण निर्माण गर्नसमेत महत्वपूर्ण योगदान पुगेको बताइन्छ।
राजनीतिक यात्रामा पनि सक्रिय
नन्दकुमार शर्मा धर्म र समाजसेवाका साथसाथै राजनीतिमा पनि सक्रिय रहे। नेपाली कांग्रेसको गाविस अध्यक्ष हुँदै क्षेत्रीय सदस्यसम्मको जिम्मेवारी निर्वाह गर्दै उनले पार्टी संगठन र सामाजिक गतिविधिमा योगदान पुर्‍याए।
उनका लागि राजनीति पद प्राप्त गर्ने माध्यमभन्दा पनि समाज र जनताको सेवा गर्ने एउटा माध्यम थियो। गाउँका मानिसका दुःख–सुखमा साथ दिने, सामाजिक काममा अग्रसर हुने र जनताको समस्या समाधानका लागि पहल गर्ने उनको स्वभाव आज पनि उस्तै रहेको परिवारजन बताउँछन्।
दुःखका ती दिन, तर मनमा कहिल्यै द्वेष रहेन । उनको जीवनमा सुख मात्र आएन। निकै कठिन र पीडादायी समय पनि आयो।
२०४४ सालमा घर पूर्ण रूपमा लुटिएको घटना र त्यसपछि २०५६ साल माघ ६ गते तत्कालीन द्वन्द्वरत पक्षबाट घरमा लुटपाट हुनु, जेठो छोरालाई अपहरण गरी मरणासन्न हुने गरी कुटपिट गरेर फालिनु तथा माइला भाइको आँखामा तेजाब हालिनु जस्ता अत्यन्त पीडादायी घटना परिवारले भोग्नुपर्‍यो।
तर ती घटनाले उनको मनमा बदलाको भावना जन्माउन सकेन।
पीडाको त्यो क्षणमा समेत उनले कसैको नाम किटेनन्, कसैलाई पोल्ने काम गरेनन्। राज्यले उपलब्ध गराएको राहतसमेत स्वीकार नगरेको परिवारको भनाइ छ। क्षमाशीलता, धैर्यता र धार्मिक आस्थालाई उनले जीवनको आधार बनाए।
“दुःख र पीडा जीवनमा आउँछन्, तर धर्म र संस्कार हार्नु हुँदैन। मनमा रिस, राग र द्वेष राखेर मानिस ठूलो हुँदैन।”
 नन्दकुमार शर्मा उपाध्याय आचार्य
यही सोचले उनको जीवनलाई अझ विशिष्ट बनाएको छ।
सम्पत्तिभन्दा सेवा रोजे
बर्दियाको बेलौरीमा रहेको करिब १२ बिघा जग्गाको समेत वास्ता नगरी गाउँघर, समाज, आफन्त, जजमान र जनताको सेवामा लागिरहनु उनको जीवनको अर्को महत्वपूर्ण पक्ष हो।
आफ्नो व्यक्तिगत सुख, सुविधाभन्दा सामाजिक सम्बन्ध, धर्म, कर्म र सेवाभावलाई प्राथमिकता दिएका उनले जीवनको लामो समय गाउँ, समाज र जनताको सेवामा बिताए।
उनका दुई छोरा र चार छोरी छन्। परिवार ठूलो भए पनि सबैलाई जोडेर राख्ने मुख्य सूत्र उनका लागि संस्कार, धैर्यता, धर्म र पारिवारिक एकता हो।
७९ वर्षमा पनि उस्तै सक्रिय
रुकुमबाट बाँकेको कोहलपुरसम्मको जीवनयात्रा तय गरिसकेका नन्दकुमार अहिले पनि सक्रिय छन्। उमेरले ७९ वर्ष भए पनि सामाजिक गतिविधि, धार्मिक कार्य र पारिवारिक जिम्मेवारीप्रति उनको चासो उस्तै छ।
तीन–चार किलोमिटर हिँड्न सक्ने, चस्मा नलगाई भागवत पारायण गर्न सक्ने र धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी भइरहने उनको दैनिकीले उमेरभन्दा ठूलो इच्छाशक्ति आवश्यक हुन्छ भन्ने सन्देश दिन्छ।
देशको अवस्था, समाजको परिवर्तन र परिवारको भविष्यप्रति उनको चिन्ता अझै उस्तै छ। राजनीतिप्रतिको लगाव पनि घटेको छैन। तर यी सबैभन्दा माथि उनको जीवनमा धर्म, कर्म, संस्कार र संस्कृति छन्।
छोराको नजरमा बा
छोराका लागि बा केवल घरको अभिभावक होइनन्—उनी एउटा जीवित इतिहास, संघर्षको पाठ र संस्कारको विश्वविद्यालय हुन्।
बाल्यकालमा बाले पढेका लघुकौमुदी र संस्कृतका ग्रन्थका कुरा सुन्दा आज पनि आफूलाई त्यो समय सम्झेर अचम्म लाग्ने छोराको भनाइ छ। बुढ्यौलीमा पनि बाले अक्षर लेखेको देख्दा उनीभित्र बाप्रतिको सम्मान अझ गहिरो भएर आउँछ।
“मेरो बा मेरो लागि केवल अभिभावक होइन, उहाँ मेरो जीवनको धैर्य, संस्कार र संघर्ष सिकाउने पहिलो गुरु हुनुहुन्छ। उहाँले दुःखमा पनि धर्म छोड्नुभएन, पीडामा पनि कसैप्रति द्वेष राख्नुभएन र आफ्नो सम्पत्तिभन्दा समाज र जनताको सेवालाई ठूलो ठान्नुभयो। उहाँको जीवनबाट मैले धेरै कुरा सिकेको छु।”-  छोरा एकराज शर्मा ।
बा भएकै कारण घरमा संस्कार बाँचेको छ
आजको बदलिँदो समाजमा परिवार, संस्कार र संस्कृतिका मूल्यहरू कमजोर हुँदै गइरहेको चर्चा भइरहँदा नन्दकुमार शर्मा उपाध्याय आचार्यको जीवन एउटा उदाहरण बनेको छ। उनले आफ्ना सन्तानलाई धन, सम्पत्तिभन्दा धर्म, इमान, संस्कार, सेवा र मानवता ठूलो कुरा भएको सिकाउँदै आएका छन्।
उनको जीवनले एउटा महत्वपूर्ण सन्देश दिन्छ ।
सम्पत्ति घट्न सक्छ, पद सकिन सक्छ, राजनीति बदलिन सक्छ, शरीर कमजोर हुन सक्छ; तर असल कर्म, संस्कार र समाजप्रतिको योगदान मानिससँग सदैव रहिरहन्छ।
बा को मुख हेर्ने दिनमा हार्दिक मंगलमय नमन
कुशे औँसी अर्थात् बा को मुख हेर्ने दिनको अवसरमा नन्दकुमार शर्मा उपाध्याय आचार्यप्रति सन्तानको हार्दिक मंगलमय नमन छ।
साथै माइला बा गोपाल प्रसाद शर्मा, कान्छा बा भागवत शर्मा, खुमलाल पोख्रेल, ससुरा बा खिमानन्द शर्मा देवकोटा, गोविन्द हमाल तथा वसन्त हमाल देवकोटाप्रति सेवाढोग तथा नमस्कार गर्दै उहाँहरूबाट निरन्तर आशीर्वादको कामना गरिएको छ।
“मेरा बा र मेरा सबै अभिभावकहरूको आशीर्वाद सधैँ रहोस्। उहाँहरूको आयु दीर्घ होस्। हामी सन्तान र हाम्रो परिवार सधैँ हाँसीखुसी रहोस्। देश–विदेशमा रहनुभएका सम्पूर्ण बुबाहरूप्रति बा को मुख हेर्ने दिन कुशे औँसीको हार्दिक शुभकामना। बुबाहरूको माया, आशीर्वाद र छत्रछायाँ सधैँ हामीमाथि रहिरहोस्। बा प्रति हार्दिक नमन।”
७९ वर्षको उमेरमा पनि धर्म, संस्कार, समाजसेवा र पारिवारिक जिम्मेवारीप्रति उत्तिकै समर्पित नन्दकुमार शर्मा उपाध्याय आचार्यको जीवन वास्तवमै एउटा पुस्ताको इतिहास हो—जसलाई सम्झनु भनेको संघर्ष, संस्कार र सेवाको इतिहास सम्झनु हो।
बा दीर्घायु हुनुहोस्। उहाँको आशीर्वाद सधैँ सन्तानमाथि रहिरहोस्। 🙏
एकराज शर्मा/ त्रिपूरा शर्मा छोरा बुहारी ।

Tribhuwan School
LIfe Ok

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार