Kohalpur Today Header Ads

अन्डर–१४ को दोस्रो नेशनल प्याब्सन बाँके फुटबल कप सुरु




कोहलपुर। बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरमा अन्डर–१४ को दोस्रो नेशनल प्याब्सन बाँके फुटबल कप औपचारिक रूपमा सुरु भएको छ । बिहिबार “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताको उद्घाटन शिक्षा विकास तथा समन्वय एकाई प्रमुख धनसुुदन चौलागाँइले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि चौलागाँइले फुटबलको दिगो विकास ग्रासरुट तहबाटै सम्भव हुने बताए । बालबालिकालाई सानै उमेरदेखि प्राविधिक प्रशिक्षण, नियमित अभ्यास र प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउन सके भविष्यमा राष्ट्रिय टोलीका लागि दक्ष खेलाडी उत्पादन गर्न सकिने बताउँदै बाँके जिल्लाका आठवटै पालिकासँग सहकार्य गरी विद्यालय केन्द्रित फुटबल कार्यक्रम विस्तार गर्ने चौलागाँइले आग्रह गरे ।

LIfe Ok

नेशनल प्याब्सन बाँकेका अध्यक्ष तथा कार्यक्रमका सभापति किशोर राज मल्लले प्रतियोगिताले बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।

खेलकुदले अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सामूहिक सहकार्यको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै उनले विद्यालयहरूलाई शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिन आग्रह गरे । प्रतियोगिता सफल बनाउन प्रशिक्षक, शिक्षक, रेफ्री तथा सम्पूर्ण व्यवस्थापन समितिलाई सक्रिय भूमिका निर्वाह गर्न उनले आह्वान गरे ।

यस्तै विजेता टोलीलाई नगद २५ हजार रुपैयाँ, उपविजेतालाई १५ हजार रुपैयाँ तथा सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगितामा बाँके जिल्लाका २५ वटा विद्यालयको सहभागिता रहेको छ ।

कार्यक्रममा नेपाल फुटबल संघ बाँकेका अध्यक्ष तथा केन्द्रीय सदस्य भोजराज शाही, नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुसुम रानाभाट, केन्द्रीय कोषाध्यक्ष कुबेर बस्नेत, केन्द्रीय सचिव श्याम कुँवर, लुम्बिनी प्रदेश सहकोषाध्यक्ष कमल पछाई र अतिथि पालिका अध्यक्षहरूकाे उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन नेशनल प्याब्सन बाँकेका सचिव वेग प्रकाश चन्दले गरेका थिए । प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार