कार्यमुलक अनुसन्धान र विद्यालयमा यसको प्रयोग




पृष्ठभूमि

शिक्षण सिकाई प्रक्रियामा विगतदेखि नै विभिन्न मूल्य, मान्यता, विधि र नियम आदिको प्रयोग भएको छ । समयको परिवर्तनसँगै यिनीहरुमा पनि फेरबदल आईरहन्छ । विद्धानहरुले शिक्षण सिकाई प्रक्रियालाई एक प्रकारको कला मानेका छन् । जसलाई विज्ञानको कला भनिन्छ । जसको प्रश्न उठने गरेको छ, के यस पेसामा सहभागी व्यक्तिहरुले कला वा विज्ञान जानेका हुन्छन त ? नजानेमा के हुने ? भन्ने विषमा प्रश्न उठ्छ ।

कला वा विज्ञानको अभावमा हाम्रा कक्षा कोठामा हुने गरेका अभ्यासहरु सान्दर्भिक बन्न सकेका त छैनन । अब कला वा विज्ञानका बारेमा के कसरी जानकारी प्राप्त गर्ने प्रश्नहरु उठ्ने गरेका छन् ? यि सबै प्रश्नको उत्तर दिन सहज छैन । यसका लागि लामो समय, साधन स्रोत, बहसको आवश्यकता पर्दछ । शिक्षण सिकाईमा चिन्तन र मनन गर्ने प्रवृतिको कारणले सुधारको यात्रा तयार गर्नु वर्तमानको आवश्यकता हो ।

शिक्षण सिकाई प्रक्रियामा प्रयोग हुने विभिन्न कला र विज्ञानलाई जान्न अध्ययन चाहिन्छ । सूचना आवश्यक हुन्छ । जसका लागि सिप प्राप्त गरेको हुुनुपछ्र्र । प्रयोग हुने निश्चित नियम, मान्यता, र विधिका बारेमा जानकारी हुनुपर्छ । हासिल हुन नसकेका विषयहरुमा थप चिन्तन र मननका लागि तयार हुनुपर्छ । शिक्षण सिकाईको क्रममा आएका र आउन सक्ने समस्याहरुको समधानका लागि तयार रहन सक्नुपर्छ ।

आफुमा खोजी गर्ने प्रवृतिको विकास गरेको हुनुपर्छ । किनकि नजान्नु कमजोरी होइन तर जान्न नखोज्नु कमजोरी हो । भन्ने मान्यतामा आधारित भएर जिज्ञासु र प्रतिबद्द रहनु पर्दछ । शिक्षण सिकाई प्रक्रियाका क्रममा हासिल गर्नुपर्ने विभिन्न ज्ञान, सिप र धारणाका आधारमा जिज्ञासु चिन्तन मनन गरी कार्यमुलक अनुसन्धानलाई जोडेर हेर्ने प्रयास गर्नु आजको आवश्यकता हो ।

कार्यमुलक अनुसन्धानको अर्थ

शिक्षण सिकाई क्रियाकलापमा अध्ययन अनुसन्धानको प्रयोग एक महत्वपुर्ण पक्ष हो । सामान्यतया अनुसन्धान जटिल विषय हो । त्यसको लागि उच्च स्तरको ज्ञान र सिपको आवश्कता पर्छ भन्ने सोचाई राख्नु गलत हो । स—सानो विधि र प्रक्रियामा यसको प्रयोग गर्न सकिन्छ । जसलाई निश्चित नियम, विधि र प्रक्रियामा कुनै पनि विषयमा अध्ययन गर्न खोजेमा त्यसलाई अनुसन्धानमा जोडेर हेर्न सकिन्छ । तसर्थ कुनैपनि विषयसँग सम्बन्धित सूचना संकलन, विशलेषण, कारण, प्रभाव र असरका बारेमा ठोस धारणा तयार पार्ने कार्यलाई अनुसन्धान भनिन्छ ।

वास्तवमा कार्यमुलक अनुसन्धानका बारेमा हरेक विद्धानका भनाईहरुमा एकरुपता देखापरेको छ्रैन । तर पनि हामी यहाँ केही चर्चा गरिएको छ । विद्यालयमा गरिने कार्यमुलक अनुसन्धान भन्नाले तत्तकाल देखिएका समस्याहरुसग सम्बन्धित हुन्छन् । जहाँ आफुले गर्ने कामभन्दा बाहिरका कामलाई वास्ता गरिदैन । कुनै पनि शिक्षकले विद्यालयको कक्षा कोठामा देखापरेका तत्तकालिन समस्यालाई आधार बनाएर गरिने अनुसन्धानलाई नै कार्यमुलक अनुसन्धान भनिन्छ ।

अर्काे अर्थमा एउटा समुदायले आफुले भोगिरहेका समस्याको कारण तत्कालै पहिचान गरी सुधारका उपायहरुलाई कार्यमुलक अनुसन्धानबाट तयार गर्न सकिन्छ । कार्यमुलक अनुन्धान व्यक्ति वा समुहले पनि गर्न सक्दछ । यो अनुन्धान अरुको लागि नभई आफनो लागि गरिने अनुसन्धान हो । जुन निकै सैद्धान्तिक ढाँचामा नलागि आफुले भोगेका र गरेका समस्याहरुको कारण खोज्ने र सोको समाधान गर्नका लागि सिलसिलेवार तरिकाबाट खोजी गर्नुलाई बुझाउँदछ ।

कार्यमुलक अनुसन्धानको उद्देश्य र क्षेत्र

विद्यालय शिक्षामा कार्यमुलक अनुसन्धानको मुख्य उद्देश्य शिक्षक तथा प्रधानाध्यापकलाई विद्यालय तहमा तत्काल रहेका समस्याहरु स्थानिय तहमा नै समधान गर्न सक्ने बनाई शिक्षण सिकाई क्रियाकलापमा सुधार ल्याउनु हो ।

उनीहरुलाई आफना कामहरुप्रति जिम्मेवार बनाउनु हो । जसले पेशागत सीप विकासमा सहयोग गर्दछ । जसको माध्यमबाट विद्यार्थीको सिकाईमा सुधार ल्याउने काम गर्दछ । यो नै कार्यमुलक अनुन्धानको उद्देश्य हो । यसका क्षेत्रहरु यसप्रकार रहेका छन् ।

  • कुनै संस्था वा समुदाय एवम संगठनका समस्याको सुधार गर्न ।
  • समस्याको प्रकृति हेरी दीर्घकालिन एवम् अल्पकालिन योजना निर्माण गर्न ।
  • विद्यमान अवस्थामा भोग्नु परेका समस्याको सुधार गरी योजना तर्जुमा गर्न ।
  • गुणात्मक उन्नतिमा जोड दिन ।
  • कार्यक्रम सञ्चालन गरी प्रभावकारिता पत्ता लगाउन ।
  • कार्ययोजनाको मुल्याङ्गकन गर्न ।
  • तत्कालिन अवस्थालाई नै मध्यनजर गरी समस्या समाधान गर्न ।

कार्यमुलक अनुन्धानका प्रकारहरु

कार्यमुलक अनुसन्धानका विषयमा चर्चा गर्दा विभिन्न विद्धानले आ-आफनै तरिकाले उल्लेख गरेका छन् । जसमध्ये संलग्न अनुसन्धान कर्ता र सहभागिहरुलाई मुख्य रुपमा लिने गरेको छ । शिक्षकहरुको सहभागिताको आधारमा एउटा शिक्षक मात्र सहभागि भएको तथा धेरै शिक्षकहरु सहभागि भएको समूह वा कार्यदल सहभागि भएको भनेर एक किसमबाट वर्गीकरण गर्न सकिन्छ ।

अनुसन्धान क्षेत्रको फैलावटको आधारमा कक्षाकोठा भित्र र बाहिर रहेका तर विद्यालयसँग सम्बन्धित अन्य विषयहरु पनि वर्गीकरणको अर्को आधार हो । विद्यालय, नगर शिक्षा, स्रोत केन्द्र, जिल्ला एवम् अन्ने निकाय आधार हो । समस्याको प्रकृति, स्वभाव, र रुपका आधारमा यसलाई लिने गरिन्छ । समस्या समधानमा लाग्ने अनुमानित समय, अनुसन्धान गर्न लाग्ने समय आदिका आधारमा वर्गीकरण गरिन्छ । यसलाई कार्यन्वयन तहका आधारमा व्यक्तिगत, सामुहिक र अग्रसरताका आधारमा स्वतस्फुर्त र प्रतिक्रियाका आधारमा गरी दुई प्रकारमा वर्गीकरण गरिन्छ ।

कार्यमुक अनुसन्धानको महत्व

कार्यमुलक अनुसन्धानबाट शिक्षकलाई काम घटने होइन बरु यसको प्रयोगबाट काम बढ्ने र शिक्षकलाई मेहनत बढि गर्नुपर्दछ । जसको प्रगोगबाट भने समस्या समधान हुने पक्का हो । विद्यार्थीले राम्रोसंग सिक्ने वातावरण बन्ने गर्दछ । स्रोतको सही सदुपयोग हुन्छ । सामान्यतया यसको महत्वलाई निम्ननुसार उल्लेख गरिन्छ ।

  • शिक्षक तथा प्रधानाध्यापक आफैले पत्ता लगाएका समस्यामा काम गर्ने हुनाले अनुसन्धान कार्य वास्तविक समस्यामा केन्द्रित हुने ।
  • समस्या समधानका उपायाहरु स्थानीय परिवेश अनुकुल हुन्छन् । अनुसन्धानबाट प्राप्त मार्गहरु धेरै हुन्छन् र तत्काल कार्यन्वयन गर्न सकिन्छ । समयमा नै समस्या समाधान हुन्छन् ।
  • आफ्ना समस्याहरु समाधान हुने भएकाले अभ्यास कर्ताहरु प्रोत्साहित हुन्छन् । कामप्रतिको झुकाव बढ्छ ।
  • यसको प्रयोगले एकले अर्काको प्रयोगमा वा काममा सहयोग हुन्छ । समुह कामको भावनात्मक विकास देखापर्दछ ।
  • सहकार्यले शिक्षक तथा प्रधानाध्यापकको पेशागत विकासमा सहयोग पुग्दछ ।

कार्यमुलक अनुसन्धानका चरणहरु

विद्यालयका शिक्षकले आफ्ना समस्यासँग रहेर कार्यमुलक अनुन्धान गर्दा निम्न चरणहरुको प्रयोग गर्नुपर्दछ ।

१. समस्याको पहिचान

शिक्षकले समस्याको महसुस गर्नुपर्दछ । उसले कामको दौरानमा महसुस गरेका असजिलालाई परिवर्तन गर्ने अठोट गर्नुपर्दछ । उसले समस्याहरु अरुका लागि नभई आफनै सम्झिएर काम गर्नुपर्दछ । जसका लागि शिक्षक तयार रहनु पर्दछ । उनले महसुस गरेका समस्याको परिवर्तन ल्याउन सक्नु पर्दछ ।

२. समस्याको विशलेषण गर्ने

यो दोस्रो चरण हो । यसमा शिक्षकले महसुस गरेका असजिलाहरुलाई परिवर्तन गर्न कोशिस गर्ने । जुन अर्काको लागि नभई आफनो लागि हो भन्ने तरिकाले काम गर्नु पर्दछ । शिक्षक तयार हुनुपर्दछ । शिक्षकले महसुस गरेका आवश्यक ठानेका समस्या धेरै हुन्छन् । समस्याको प्रकृति, गहिराइ, र फैलावटका आधारमा समस्याको तत्काल वा दिर्घकालिन रुपमा समधान गर्ने गरी समस्याको समधान गर्ने गरी खोजी गर्नुपर्दछ । समस्याको बारेमा गहन अध्ययन, विशलेषण र मूल्याकन गरी विशिष्ट प्रकृतिको समस्याको खोजी गर्ने ।

जसको कारण र असरको बारेमा सूचना संकलन गर्न उपयूक्त साधन र विधिको प्रयोग गर्ने । जसको लागि प्रश्नवली, सर्वेक्षण, कार्यक्ष्ोत्र अध्ययन, अन्र्तवार्ताको माध्यामबाट सूचना संकलन गरी सूचनाको विशलेषण पश्चात कार्यहरुको पहिचान गरिन्छ ।

३. सुझावहरु तयार गर्ने

यो तेस्रो चरण हो । समस्या सग सम्बन्धित सूचनाको विशलेषणपछि सुधारका लागि चाल्नुपर्ने कार्यहरुको तय गर्ने काम यसमा गरिन्छ । स्रोत, साधन, समय, क्षमता र समग्र वातावरण आदिजस्ता पक्षहरुको बारेमा प्रशस्त मात्रामा ध्यान दिनुपर्दछ । कुनै समस्या समधानका लागि आवश्यक सुझाव तयार हुन नसक्ने देखिएमा थप अनुसन्धान गर्ने विषयका रुपमा राखेर सुझावमा समावेश गर्न सकिन्छ ।

४. कार्यान्वयन

यो चौथो चरण हो । जसमा अनुसन्धानबाट प्राप्त सुझावको कार्यान्वयन गर्ने । तथ्यांकबाट प्राप्त सुझावलाई अरुले कार्यान्वयन भन्दापनि आफैले लागुगर्ने खालको हुनुपर्दछ । जसलाई कार्यन्वयन गर्न कार्ययोजना बनाई अगाडि बढाउनु पर्दछ । अनि मात्र संस्थागत गर्न सकिन्छ ।

५. प्रत्याहन

यो पाचौ चरण हो । यस चरणमा आफुले मनन गर्ने, आफना व्यवहार परिवर्तन गर्ने जस्ता पक्षहरु हुन्छन् । आफुले तय गरेका सुझावहरुलाई कार्यान्वयन गरिसकेपछि देखापरेका परिवर्तनका आधारमा चिनतन मनन गरी अबका दिनको रणनीति तयार गर्नुपर्दछ । यसबाट प्राप्त ज्ञानलाई आत्मासाथ गर्ने र कार्यक्षत्रमा कार्यान्वयन गर्ने ।

६. नयाँ प्रश्न निर्माण गर्ने

यो अन्तिम वा छैटौ तह हो । जसमा कार्यमुलक अनुसन्धानबाट समस्या समधानका लागि मार्ग निस्कने गर्दछ । जसबाट धेरै नयाँ प्रश्नहरु उब्जिने सम्भावना रहन्छ । यसमा प्राप्ति र अनुभवका बारेमा छलफल आवश्यक हुन्छ । परिवर्तनले के कस्तो प्रभाव पर्‍यो, साच्चिकै सुार भयो वा भएन, कुनै बाधा अवरोध र समस्या भयो वा भएन, अनुसन्न्धानले समेट्न नसकेका कुराहरु के—के रहे भन्ने को—को छलफल, बहस गर्नु आवश्यक हुन्छ ।

वास्तवमा माथि उल्लेखित चरणहरु एउटा नमुना मात्र हुन् । फेरी कार्यमुलक अनुसन्धानमा यी चरणहरु मात्र छन् भन्ने छैन । सबैले यि चरण मात्र प्रयोग गर्दछन् भन्ने नि छैन । तर विधि र प्रक्रियाको प्रयोग भने सबैले प्रयोग गर्दछन् । कार्यमुलक अनुन्धानमा अनुसन्धानकर्ताले आफनो समयको पावन्दी, स्रोत साधन, परिस्थीति र समस्याको जटिलताका आधारमा रहेर अनुसन्धानको विषयमा रही काम गर्नुपर्दछ । यसरी आफ्नो कार्यलाई सुधार गर्दै लैजाने माध्यम वा तरिकालाई कार्यमुलक अनुसन्धान भनिन्छ । जसमा अनुन्धानको शिर्षक, भूमिका, उद्देश्य विधि, सुधारका उपाय, व्यावहारमा आएको परिवर्तन, आफ्नो दृष्टिकोण जस्ता कुराहरुमा आधारमा रहि प्रतिवेदन तयार गन्छि । अन्तमा कार्यमुलक अनुसन्धान एक प्रक्रिया मूखी कार्य हो । जसमा सर्वप्रथम अनुसन्धानको प्रश्न बनाउनु पर्दछ । त्यसपछि आवश्यक तथ्यांक सकलन गर्ने, सो को विशलेषण गर्ने, कारण र असरको खोजी गर्ने र अन्तमा विभिन्न विकल्पको तयार गरी सो मध्य उपयुक्त ठानिएको विकल्पको बारेमा खोजी गरी अनुसन्धानलाई अगाडी बढाउनु पर्दछ । त्यसकारण कार्यमुलक अनुसन्धानलाई विद्यालयका शिक्षक कर्मचारी प्रधानाध्यापकले आफ्नो पेशागत विकास गर्नका लागि आजको समयमा तथा बदलिदो समयलाई ध्यान दिँदै कार्यगत अनुसन्धानको प्रयोग विद्यालय शिक्षामा कार्यन्वयन गर्नु आवश्यक छ ।

लेखक : मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङ्कन विभागीय प्रमुख हुन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत २१ गते सोमबार