Kohalpur Today Header Ads

लेखा अधिकृतद्वारा श्रीमती हत्या प्रकरण : चारजनालाई थुनामा पठाउन अदालतको आदेश




दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दोघर्रे निवासी कमला खड्का वलीको हत्या मुद्दामा चार जनालाई पुर्पक्षकालाग थुनामा राख्न उच्च अदालत तुलसीपुरले आदेश गरेको छ। यसअघि जिल्ला अदालत दाङले श्रीमान गोपाल वलीलाई मात्रै थुनामा पठाउन आदेश गरेको थियो, भने बुबा कर्णबहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला वलीलाई धरौटीमा छोड्न आदेश गरेको थियो ।

त्यसपछि पीडितले उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार अन्य तीन जनालाई पनि पुर्पक्षकालागि थुनामा राख्न आदेश गरेको हो ।

LIfe Ok

उच्च अदालतले जिल्ला अदालतको आदेशलाई ‘बेरितको’ ठहर गर्दै उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न आदेश दिएको हो । अदालतले उपलब्ध प्रमाणहरूको गहन विश्लेषण गर्दै यो आदेश दिएको हो। मिसिलमा संलग्न शव परीक्षण प्रतिवेदन अनुसार मृतकको मृत्यु टाउकोमा लागेको गहिरो चोटका कारण भएको देखिएको छ ।

घटनास्थल मुचुल्काबाट चारवटा चारपाटे दाउराका टुक्रा फेला परेको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले मध्यनजर गरेको छ । भने छोरा र छोरी तथा प्रत्येक्षदर्शीको बयानलाई पनि आधार मानेको छ ।

मृतकका पक्षबाट अधिबक्ता मोहनप्रसाद धिताल, प्रदिप कुमार गौतम र विजय पोख्रेलले बहस गरेका थिए, भने विपक्षीका तर्फबाट सहन्यायाधिवक्ता महेशप्रसाद खत्री र अधिबक्ता कुमार राज श्रेष्ठले बहस गरेका थिए । यो आदेशसँगै अब सबै प्रतिवादीहरूले थुनामा रहेरै मुद्दाको अन्तिम किनारा कुर्नुपर्ने भएको छ।

गएको चैत ११ गते वलीको घरमै हत्या गरिएको थियो । हत्यामा संलग्न श्रीमान नेपाल सरकारका लेखा अधिकृत समेत थिए ।

– नयाँ पत्रिकाबाट साभार

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार