
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित राम माध्यमिक विद्यालयको नाममा रहेको सरकारी जग्गामा निर्माणाधीन संरचना अवरुद्ध गर्न खोजिएको घटनाले पुनः चर्चा पाएको छ। विद्यालयले आफ्नो स्वामित्वको जग्गामा पर्खाल निर्माण गरिरहेको अवस्थामा केही व्यक्तिले निर्माण कार्यमा अवरोध सिर्जना गर्दै संरचना भत्काउने प्रयास गरेपछि नगर प्रहरीसमेत हस्तक्षेप गर्न पुगेको थियो।
घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला विद्यालय प्रशासनले वास्तविकता भने फरक रहेको जनाएको छ। विद्यालयको दाबी अनुसार विवादित भनिएको स्थान विद्यालयकै स्वामित्वमा रहेको जग्गा हो र त्यहाँ निर्माण भइरहेको संरचना पनि विद्यालयकै हो।
विद्यालय प्रशासनका अनुसार स्थानीय गोविन्द लामिछाने र कमला लामिछानेले निर्माण कार्य गरिरहेका मजदुरलाई पटक–पटक गालीगलौज गर्ने, काम रोक्न दबाब दिने तथा बनिसकेका संरचना समेत भत्काउने प्रयास गर्दै आएका थिए। सोही सूचनाका आधारमा नगर प्रहरी घटनास्थल पुगेको नगर प्रहरी प्रमुख वीर बहादुर थापाले बताए।
उनका अनुसार नगर प्रहरी पुगेपछि पनि दुवै जनाले निर्माणाधीन संरचना भत्काउन खोज्ने र निर्माण कार्यमा अवरोध पुर्याउने गतिविधि जारी राखेका थिए। “हामीले शान्तिपूर्ण रूपमा सम्झाइबुझाइ गरेर सरकारी संरचनामा अवरोध नगर्न आग्रह गर्यौं, तर उहाँहरू उल्टै नगर प्रहरीसँगै विवाद गर्न खोज्नुभयो,” थापाले भने।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र यादवका अनुसार राम माध्यमिक विद्यालयको नाममा ९ बिघा १२ कठ्ठा २ धुर जग्गा रहेको छ। उक्त जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि विद्यालयले चारैतिर पर्खाल निर्माण गर्न थालेको हो। तर केही व्यक्तिले निजी स्वार्थका कारण सरकारी सम्पत्तिमाथि बलमिच्याइँ गर्दै निर्माण कार्य रोक्न खोजिरहेको उनको आरोप छ।
“विद्यालयले आफ्नो स्वामित्वको जग्गामा संरचना बनाउँदा पटक–पटक आएर भत्काउने, मजदुरलाई धम्क्याउने र काम रोक्न खोज्ने कार्य भइरहेको छ,” प्रधानाध्यापक यादवले भने, “यो विद्यालयको सम्पत्तिमाथिको हस्तक्षेप मात्र होइन, सार्वजनिक सम्पत्तिमाथिको खुला चुनौती हो।”
यो विवाद नयाँ भने होइन। यसअघि पनि विद्यालयको जग्गा अतिक्रमण गर्न खोजिएको भन्दै कोहलपुर टुडेले २०८१ असार १८ गते ‘विद्यालयको जग्गा कब्जा गर्न खोज्दै भूमाफिया : रातारात भत्काइन्छ पर्खाल र पिल्लर अनि खनिन्छ बाटो !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। त्यसपछि सम्बन्धित पक्षले अदालतमा मुद्दा दायर गरे पनि अदालतले रिट खारेज गरिदिएको विद्यालय पक्षको दाबी छ।
विद्यालय प्रशासनले अब कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ। सार्वजनिक तथा शैक्षिक संस्थाको सम्पत्तिमाथि निरन्तर अवरोध र क्षति पुर्याउने कार्यलाई कानुनको दायरामा ल्याउन आवश्यक रहेको विद्यालयको भनाइ छ।
स्थानीयस्तरमा सरकारी जग्गा संरक्षणको विषय गम्भीर बन्दै गइरहेका बेला विद्यालयको स्वामित्वमा रहेको जग्गामै निर्माण रोक्न खोजिएको घटनाले सार्वजनिक सम्पत्तिको सुरक्षा र कानुनी शासन कार्यान्वयनमाथि समेत प्रश्न उठाएको छ। विद्यालयले आफ्नो सम्पत्ति जोगाउन थालेको अभियान सफल हुन्छ कि पुनः अवरोधको शिकार बन्छ, त्यसतर्फ अहिले सबैको चासो केन्द्रित भएको छ।
स. :नगर प्रहरी प्रमुख विर बहादुर थापा हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ ।
याे पनि पढ्नुहाेस् ।
विद्यालयको जग्गा कब्जा गर्न खोज्दै भूमाफिया : रातारात भत्काईन्छ पर्खाल र पिल्लर अनि खनिन्छ बाटो !
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्