Kohalpur Today Header Ads

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न




शिवध्वज शाही, कोहलपुर ।
असार, ३ कोहलपुर बाँकेको कोहलपुरस्थित मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। मध्यपश्चिम विश्वविद्यालयको १८औँ विश्वविद्यालय सभा, १६औँ वार्षिकोत्सव तथा चौथो दीक्षान्त समारोहको अवसर पारेर क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रमका अवसरमा निमित्त क्याम्पस प्रमुख शिशिरकुमार शर्माले तराई क्षेत्रमा बढ्दो गर्मी, क्याम्पसको हरियाली वातावरण संरक्षण तथा वार्षिकोत्सव कार्यक्रमलाई थप सार्थक बनाउन वृक्षारोपण गरिएको जानकारी दिए। उनले हरियाली, सुन्दर र शान्त क्याम्पस निर्माण गर्नु क्याम्पसको दायित्व रहेको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।


वृक्षारोपण कार्यक्रमको उद्घाटन निमित्त क्याम्पस प्रमुख शिशिरकुमार शर्मा, कर्मचारी संघका अध्यक्ष शिवप्रसाद रेग्मी, उपप्राध्यापक तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्मा, नेल्टा बांकेका अध्यक्ष उपप्राध्यापक प्रमोद सुवेदी, प्रशासकीय अधिकृत बेदराज लम्साल र लेखा अधिकृत अमर राज रेग्मीले संयुक्त रूपमा बिरुवा रोपेर गरेका थिए।
कार्यक्रममा उपप्राध्यापक जयकृष्ण न्यौपाने, खड्कबहादुर वली तथा कर्मचारीहरू रमेश गुरुङ, रुक्मिणी काफ्ले, रुद्रवीर खड्का, छविलाल खत्री, कुलबहादुर घर्ती क्षेत्री, रामपल्टन थारूलगायत प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

LIfe Ok


यसैबीच, मध्यपश्चिम विश्वविद्यालयको १८औँ विश्वविद्यालय सभा, १६औँ वार्षिकोत्सव तथा चौथो दीक्षान्त समारोह आज सुर्खेतस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय कुहिनेपानीमा आयोजना हुँदैछ। मूल आयोजक समितिका अनुसार समारोहको अध्यक्षता नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले गर्नेछन् भने प्रमुख अतिथिका रूपमा  त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति एवम् शिक्षाविद्  केदारभक्त माथेमा सहभागी हुनेछन्।


उपप्राध्यापक एकराज शर्माका अनुसार यस वर्षको दीक्षान्त समारोहमा स्नातक तहका १,२२२, स्नातकोत्तर तहका ६९४ र दर्शनाचार्य  तहका १२ जना गरी कुल १,९२८ विद्यार्थी सहभागी हुँदैछन्। साथै विश्वविद्यालयका केन्द्रीय तथा अन्य आंगिक क्याम्पसहरूमा समेत विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव तथा दीक्षान्त समारोह मनाइँदै रहेको जानकारी दिइएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार