शिवध्वज शाही, कोहलपुर जेष्ठ, २१
कोहलपुर, बाँके । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा BBA, BBS र MBS तहका विद्यार्थीहरूलाई लक्षित गर्दै “Start-Up Incubation & Mentorship: Entrepreneurs’ Discussion for Sustainable Business Skills and Practices” विषयक उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा प्रख्यात उद्योगी–व्यवसायी चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै महासंघका केन्द्रीय सदस्य लक्ष्मणराज पौडेल, निवर्तमान केन्द्रीय सदस्य चक्रबहादुर अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी वली, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई, ग्लोबल आइएमई बैंक लुम्बिनी प्रदेशका क्लस्टर हेड जोगलाल भुषाल लगायत प्रतिष्ठित उद्यमी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख दानबहादुर हमालले व्यवस्थापन संकायका विद्यार्थीहरूलाई व्यवसाय, उद्यमशीलता तथा नेतृत्व विकाससम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कोहलपुर पश्चिम नेपालको आर्थिक तथा औद्योगिक सम्भावनायुक्त केन्द्र भएकाले विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम अत्यन्त अवसरमूलक रहेको उनको भनाइ थियो।

प्रमुख अतिथि चन्द्रप्रसाद ढकालले आफ्नो जीवन संघर्ष र व्यवसायिक यात्राका अनुभवहरू विद्यार्थीहरूसँग साझा गर्दै सफल लगानीका लागि जनताको आवश्यकता, सरकारको अपेक्षा र व्यवसायीको दूरदृष्टि समन्वय हुनुपर्ने धारणा व्यक्त गरे। उनले विदेश गए पनि स्वदेश फर्केर रोजगार सिर्जना गर्ने सोच विकास गर्नुपर्नेमा जोड दिए।

आफू सामान्य बैंक कर्मचारीबाट व्यवसायिक नेतृत्वसम्म पुगेको अनुभव सुनाउँदै उनले नेपालमा पर्याप्त सम्भावना रहेको र सही सोच तथा मेहनतबाट सफलता हासिल गर्न सकिने बताए। उनले ग्लोबल आइएमई बैंक, जलविद्युत्, केवलकार तथा अन्य विभिन्न क्षेत्रमा गरिएको लगानीका अनुभवहरू प्रस्तुत गर्दै उद्यमशीलतामा नवीन सोचको आवश्यकता औंल्याए। साथै वागेश्वरी बहुमुखी क्याम्पसका BBA तथा MBS का उत्कृष्ट १० जना विद्यार्थीलाई ग्लोबल आइएमई बैंकमा अवसर प्रदान गर्न इच्छुक रहेको प्रतिबद्धता समेत व्यक्त गरे।

त्यसैगरी भिएमआई ग्रुपका अध्यक्ष कन्हैयालाल वैद्यले आफ्नो संघर्षपूर्ण जीवनयात्रा सुनाउँदै सफलताका लागि केवल शैक्षिक प्रमाणपत्रभन्दा व्यवहारिक ज्ञान, सकारात्मक सोच र स्पष्ट दृष्टिकोण आवश्यक पर्ने बताए। उनले नेपालमा कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै अनुसन्धान तथा विकास (Research and Development) लाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

शिखर प्लाइ उद्योगका अध्यक्ष चम्पालाल बोथ्राले विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक सीप विकासमा जोडदिन आग्रह गरे। उनले व्यवसाय तथा उद्योग क्षेत्रमा सफलता प्राप्तगर्न कठिन परिश्रम, धैर्यता र निरन्तर सिकाइ आवश्यक पर्ने बताए। आफ्नो जीवन संघर्ष र उद्योग स्थापनाको यात्राबारे चर्चागर्दै उनले नेपालमै अवसर खोजेर आत्मनिर्भर बन्न युवाहरूलाई प्रेरित गरे।

त्यस्तै ग्लोबल आइएमई बैंकका क्लस्टर हेड जोगलाल भुषाल ले बैंकिङ क्षेत्रमा प्रवेश गर्न आवश्यक सीप, व्यावसायिक नैतिकता तथा बैंकिङ गोपनीयताको महत्वबारे जानकारी गराएका थिए।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरु, प्राध्यापक, कर्मचारी तथा व्यवस्थापन संकायका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन उपप्राध्यापक डा. खोपिराम वली क्षेत्रीले गरेका थिए।

औपचारिक कार्यक्रम अघि प्रमुख अतिथि चन्द्रप्रसाद ढकालले क्याम्पसको अवलोकन गरेका थिए। क्याम्पस प्रवेशका क्रममा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूले उनलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए।
क्याम्पस प्रमुख दानबहादुर हमालको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रम जेठ २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रम अन्तर्गत विभिन्न उद्योगी, व्यवसायी, बैंकिङ विज्ञ तथा प्राध्यापकहरूले सहजीकरण गर्नेछन्। जेठ २२ गते मध्यपश्चिम विश्वविद्यालयका प्रा.डा. चन्द्रप्रकाश रिजाल लगायत उधमीहरुले सहजीकरण गर्ने कार्यक्रम रहेको उपप्राध्यापक एकराज शर्माले जानकारी दिएका छन्।
उद्यमशीलता, नेतृत्व विकास तथा दिगो व्यवसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान, प्रेरणा तथा भविष्यका अवसरहरूबारे महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको आयोजकले जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्