
कोहलपुर । बाँकेको कोहलपुरमा ३९औँ अन्तर्राष्ट्रिय लागूऔषध विरुद्ध दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ ।
दिवसका अवसरमा कोहलपुर नगरपालिका, शैक्षिक संस्था तथा सामाजिक संघ–संस्थाहरूले संयुक्त रूपमा लागूऔषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हुन् ।
लागुऔषध नियन्त्रण राष्ट्रिय नीति–२०६३ र लागुऔषध नियन्त्रण रणनीति–२०६६ अनुसार नेपालले लागूऔषधको माग घटाउने, आपूर्ति नियन्त्रण गर्ने र क्षति न्यूनीकरण गर्ने तीन मुख्य उद्देश्यलाई प्राथमिकतामा राख्दै आएको छ। राष्ट्रसंघले सन् १९८८ देखि हरेक वर्ष जुन २६ लाई अन्तर्राष्ट्रिय लागूऔषध विरुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले लागूऔषध दुव्र्यसन र अवैध ओसारपसार समाजको गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले लागूऔषध नियन्त्रण सरकारको मात्रै जिम्मेवारी नभई समुदाय, अभिभावक र नागरिक स्वयं सचेत हुनुपर्नेमा जोड दिए ।

यस्तै समाज सेवा संस्था नेपाल केन्द्रीय कार्यालय कोहलपुरका अध्यक्ष विनोद थापाले लागूऔषध दुव्र्यसनका प्रारम्भिक लक्षणबारे अभिभावकलाई सचेत रहन आग्रह गरे। उनका अनुसार छोराछोरी वा आफन्तको स्वभाव, बोल्ने शैली र दैनिक जीवनमा अचानक परिवर्तन देखिनु, शरीर कमजोर हुँदै जानु, अत्यधिक पैसा माग्नु, घरबाट नगद वा बहुमूल्य सामान हराउनु, शौचालयमा लामो समय बिताउनु, शरीरमा सुई वा काटिएका दाग देखिनु, राति ढिलो घर फर्किनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने–उठ्ने समय परिवर्तन हुनु, आँखा रातो हुनु, बोली अस्पष्ट हुनु, सरसफाइमा ध्यान नदिनु र एक्लोपन रुचाउनु जस्ता लक्षण लागूऔषध प्रयोगकर्तामा देखिन सक्ने बताए ।
सहभागीहरूले लागूऔषधमुक्त समाज निर्माणका लागि सरकारी निकाय, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक संघ–संस्था र नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रममा समाज सेवा संस्थाका कलाकारहरूले नाटक प्रदर्शन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्