कोहलपुरमा अंग्रेजी शिक्षकका लागि तीनदिने कार्यशाला सम्पन्न




प्रदिप कुमाई, कोहलपुर । कोहलपुर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजना तथा नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाँकेको समन्वय र सहजीकरणमा सामुदायिक विद्यालयका आधारभूत तहका अंग्रेजी भाषा शिक्षकहरूका लागि सञ्चालन गरिएको तीनदिने कार्यशाला बुधबार सम्पन्न भएको छ।


“Innovative Practices and Skills in ELT” विषयक उक्त कार्यशाला असार १ गते कोहलपुरस्थित होटल अतिथिमा उद्घाटन भई असार ३ गते नेल्टा बाँकेका अध्यक्ष प्रमोद सुवेदीको सभापतित्वमा समापन गरिएको हो। कार्यशालामा कोहलपुर नगरभित्रका ३० जना अंग्रेजी भाषा शिक्षकहरूको सहभागिता रहेको थियो।


तीन दिनसम्म सञ्चालन भएको कार्यशालामा दैनिक चार वटा सत्रमार्फत अंग्रेजी भाषा शिक्षणका नवीन विधि, सूचना तथा सञ्चार प्रविधि (ICT), कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, कक्षाकोठा व्यवस्थापन तथा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। नेल्टा बाँकेका अध्यक्ष प्रमोद सुवेदीसहित गणेशप्रसाद पौडेल, देवी गुरुङ, विन्दु सुवेदी, शिवशरण उपाध्याय, सञ्जीवकुमार सिंघल र विशाखर जैसीलगायतका विज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए।


समापन समारोहका प्रमुख अतिथि तथा सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिमा नेल्टा बाँकेको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन नगरपालिका प्रतिबद्ध रहेको बताए।


विशिष्ट अतिथि तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं वरिष्ठ शिक्षा अधिकृत रविलाल मिजारले कार्यशालाबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग गरी शिक्षणलाई अझ प्रभावकारी बनाउन सहभागी शिक्षकहरूलाई आग्रह गरे। उनले कार्यशालाको सफल सहजीकरणका लागि नेल्टा बाँकेलाई धन्यवादसमेत व्यक्त गरे।


कार्यक्रममा विशेष अतिथि ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले शिक्षकहरूले कार्यशालाबाट सिकेका ज्ञान, सीप र प्रविधिलाई विद्यार्थीमाझ व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनले २१औँ शताब्दीको प्रविधिमैत्री शिक्षामा कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोग आवश्यक रहेको उल्लेख गर्दै शिक्षकहरूको निरन्तर पठन संस्कृति र पेशागत विकास अपरिहार्य रहेको बताए।


नेल्टा बाँकेका अध्यक्ष प्रमोद सुवेदीले कार्यशाला सञ्चालनको जिम्मेवारी प्रदान गरेकोमा कोहलपुर नगरपालिका र शिक्षा तथा खेलकुद शाखाप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि अंग्रेजी भाषा शिक्षण सुधार तथा शिक्षकहरूको पेशागत विकासका लागि स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयहरूसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यशालामा सहभागी शिक्षकहरूले कार्यक्रम अत्यन्त उपयोगी, व्यवहारिक र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले कक्षाकोठामा नवीन शिक्षण विधि, ICT तथा AI को प्रयोगमार्फत अंग्रेजी शिक्षणलाई अझ प्रभावकारी बनाउन कार्यशालाले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।


तीनदिने कार्यशालाले अंग्रेजी भाषा शिक्षणमा आधुनिक प्रविधि र नवीन अभ्यासको प्रयोगलाई प्रोत्साहन गर्दै विद्यार्थीहरूको सिकाइ अनुभवलाई थप प्रभावकारी, सिर्जनात्मक र आकर्षक बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। समापन कार्यक्रमको सहजीकरण अंग्रेजी शिक्षक भिम खरेलले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार