सीपसँग जोडिँदै कोहलपुरका युवा, ४० जनाले पाए मोबाइल मर्मत र हाते कढाइ तालिम




कोहलपुर ।  कोहलपुर नगरपालिकाले युवाहरूलाई सीपमूलक तालिममार्फत रोजगारी तथा स्वरोजगारसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको मोबाइल मर्मत तथा हाते कढाइ तालिम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा वैशाख १६ गतेदेखि सञ्चालन भएको ३९० घण्टे तालिम बिहीबार समापन गरिएको हो।

खुला प्रतिस्पर्धामार्फत छनोट गरिएका सहभागीलाई प्रदान गरिएको तालिममा मोबाइल मर्मततर्फ २० जना र हाते कढाइतर्फ २० जना गरी कुल ४० जनाको सहभागिता रहेको रोजगार संयोजक आशिष वर्माले जानकारी दिए। तालिमको प्राविधिक सहयोग नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युट प्रालि र आदर्श इन्टरनेशनल ट्रेनिङ इन्स्टिच्युट प्रालिले गरेका थिए।

समापन कार्यक्रम कोहलपुर नगरपालिकाकी आर्थिक विकास समितिकी संयोजक अनिता बुढाक्षेत्रीको सभापतित्व तथा नगर उपप्रमुख सङ्गीता सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

मोबाइल मर्मत तालिमका सहभागी रमेश सुनारले तालिमबाट प्राप्त सीपले आफूलाई रोजगारीतर्फ अघि बढ्न नयाँ आधार दिएको बताए। सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यस्ता तालिमले युवाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

त्यस्तै हाते कढाइ तालिमकी सहभागी मनिषा चौधरीले तालिमपछि आफूमा आत्मविश्वास वृद्धि भएको बताउँदै अब सीपलाई आयआर्जनको माध्यम बनाउने उत्साह जागेको बताइन्।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुवेदीले स्थानीय आवश्यकता तथा बजारको मागअनुसार नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताइन्। खुला सूचनामार्फत इच्छुक नागरिकलाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिइएको उल्लेख गर्दै उनले तालिमबाट सहभागीहरूले सकारात्मक प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विकले मोबाइल मर्मत र हाते कढाइ दुवै क्षेत्र स्वरोजगारका लागि सम्भावनायुक्त रहेको उल्लेख गर्दै सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे।

नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक राकेश रोशन धमालले तालिमपछि सीप परीक्षण तथा प्रमाणीकरण प्रक्रियामा सहभागी हुन सुझाव दिएका थिए। तालिममा हेमनारायण चौधरी र दीपिका देवकोटाले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

समापन कार्यक्रममा नगर उपप्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलगायतले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

रोजगार संयोजक वर्माका अनुसार स्थानीय तहबाट सञ्चालन गरिएका यस्ता सीपमूलक कार्यक्रमले बेरोजगार युवा तथा महिलालाई स्वरोजगारतर्फ आकर्षित गर्नुका साथै स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार