शिक्षा–स्वास्थ्यमा प्राथमिकता र विकासको नयाँ दिशा : कोहलपुरको १ अर्ब ७ करोडको बजेट




डिल्ली शाही । बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब ७ करोड ५१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

२०औं नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख संगिता सुवेदीले बजेट प्रस्तुत गरेका हुन् ।

“हरित, संगमस्थल हाम्रो शहर : सुन्दर समृद्ध कोहलपुर नगर” भन्ने दीर्घकालीन लक्ष्यलाई आधार बनाउँदै ल्याइएको बजेटले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, कृषि, पूर्वाधार तथा सुशासनलाई प्राथमिकतामा राखेको छ । तर बजेटको समग्र संरचना हेर्दा यो केवल नयाँ कार्यक्रम घोषणा गर्ने दस्तावेज मात्र नभई विगतका आर्थिक दायित्व व्यवस्थापन, सीमित स्रोत–साधनको परिचालन र विकासका प्राथमिकता पुनः निर्धारण गर्ने प्रयासका रूपमा देखिन्छ ।

नगर उपप्रमुख सुवेदीले नगरसभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा नगरपालिकाले आगामी वर्षका लागि डिजिटल प्रविधिसँग जोडिएको गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, आधुनिक कृषि प्रणाली, दिगो वातावरणीय व्यवस्थापन, सामाजिक न्याय तथा प्रविधिमैत्री सुशासनलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाको कुल आम्दानी ९८ करोड ४ लाख रुपैयाँ पुगेको थियो भने खर्च ९२ करोड ७४ लाख रुपैयाँ मात्र भएको थियो । आम्दानी लक्ष्यको करिब ८७.५५ प्रतिशत र खर्च करिब ८२.८२ प्रतिशत मात्र हुनुले योजना कार्यान्वयन तथा स्रोत परिचालनमा चुनौती रहेको देखाउँछ ।

आर्थिक वर्षको अन्त्यमा ६ करोड ७ लाख रुपैयाँ मौज्दात जिम्मेवारी सारिएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ मा पनि संशोधित आय ९५ करोड ३२ लाख रुपैयाँ अनुमान गरिएको छ भने जेठ मसान्तसम्म चालु खर्च ६३.३५ प्रतिशत र पुँजीगत खर्च ५९.४४ प्रतिशत मात्र भएको तथ्यांकले विकास खर्चको गति अपेक्षाअनुसार हुन नसकेको संकेत गर्दछ ।

आगामी आर्थिक वर्षको बजेट कुल १ अर्ब ७ करोड बजेटमध्ये आन्तरिक आय तथा गैरकर राजस्वबाट २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । बाँकी ठूलो हिस्सा संघीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट व्यवस्थापन गरिनेछ ।

बजेटको सबैभन्दा ठूलो प्राथमिकता शिक्षा क्षेत्रले पाएको छ । शिक्षा क्षेत्रमा मात्र ११ करोड ६७ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन नगरपालिकाको विकास दृष्टिकोणमा मानव पूँजी विकासलाई केन्द्रमा राखिएको स्पष्ट संकेत हो ।

विद्यालयमा स्मार्ट कक्षा निर्माण, प्रविधिमैत्री शिक्षण सिकाइ, बालविकासदेखि कक्षा ५ सम्म वातानुकूलित सिकाइ वातावरण, ज्ञानोदय सामुदायिक पुस्तकालयमा ई–लाइब्रेरी स्थापना, प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको क्षमता विकास र बहुकक्षा बहुस्तर कार्यक्रम सञ्चालन जस्ता योजना समावेश गरिएका छन् । हाल नगरपालिकाको साक्षरता दर ९६.८५ प्रतिशत पुगेको अवस्थामा अब पहुँचभन्दा गुणस्तरीय शिक्षामा जोड दिने रणनीति लिइएको छ ।

स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै १ करोड १७ लाख १९ हजार रुपैयाँ विनियोजन गरिएको छ । नसर्ने रोग नियन्त्रण, पाठेघरको क्यान्सर पहिचान तथा रोकथाम, नगर अस्पतालबाट निःशुल्क औषधि वितरण, आयुर्वेद तथा योग शिक्षा, सिकलसेल एनिमिया व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटले समेटेको छ । गत वर्ष ३ हजार ३२९ जनाको स्वास्थ्य परीक्षण र ३७२ जनाको निःशुल्क आँखाको शल्यक्रिया सम्पन्न भएको तथ्यांक प्रस्तुत गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ । यद्यपि स्वास्थ्य क्षेत्रको बजेट समग्र बजेटको तुलनामा अझै सीमित देखिन्छ ।

आर्थिक विकासतर्फ भने अपेक्षाकृत कम बजेट विनियोजन गरिएको छ । कुल १ करोड ५४ लाख ४२ हजार रुपैयाँ मात्र आर्थिक विकासतर्फ छुट्याइएको छ, जुन कुल बजेटको करिब २.१३ प्रतिशत हो ।

उद्यमशीलता विकास, सीपमूलक तालिम, रोजगारी प्रवद्र्धन, श्रम संसार अनलाइन पोर्टल सञ्चालन, कृषि यान्त्रीकरण, साना सिंचाइ, तरकारी तथा मसला बाली प्रवद्र्धन, किसान सूचीकरण र पशु सुत्केरी भत्ता जस्ता कार्यक्रम समावेश भए पनि कृषि तथा उत्पादन क्षेत्रलाई अझ ठूलो लगानी आवश्यक रहेको देखिन्छ । गत वर्ष ९१ मिनिटिलर, १५ पावर टिलर र ३ रिपर वितरण गरिएको तथ्यांकले कृषि यान्त्रीकरणमा प्रयास भएको देखाए पनि त्यसलाई व्यापक बनाउने चुनौती बाँकी छ ।

सामाजिक विकासतर्फ १३ करोड ६२ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको छ । महिला, बालबालिका, दलित, जनजाति, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई लक्षित कार्यक्रमहरू समावेश गरिएका छन् ।

महिला सशक्तीकरण, बालविवाह न्यूनीकरण, लागूऔषध दुव्र्यसन नियन्त्रण, किशोरी आत्मरक्षा तालिम, सहायक सामग्री वितरण, दिवा सेवा केन्द्र सहयोग र न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसले सामाजिक समावेशिता र न्यायलाई बजेटले महत्वपूर्ण स्थान दिएको देखाउँछ ।

पूर्वाधार विकासतर्फ १६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब २३.५१ प्रतिशत हो । तर यो बजेटको ठूलो हिस्सा नयाँ परियोजनाभन्दा पुराना दायित्व व्यवस्थापनमा केन्द्रित छ । अधुरा तथा बहुवर्षीय योजनाका लागि २ करोड रुपैयाँ, संघ तथा प्रदेशसँगको साझेदारीमा सञ्चालन हुने समपुरक आयोजनाका लागि ४ करोड रुपैयाँ र चालु वर्षमा सम्पन्न भई भुक्तानी हुन नसकेका योजनाका लागि ६ करोड रुपैयाँ छुट्याइएको छ । यसले नगरपालिकाको विकास बजेटको ठूलो हिस्सा विगतका दायित्वले खाइरहेको स्पष्ट देखाउँछ ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ जम्मा ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ। हरित कोहलपुर अभियान, वृक्षारोपण, नगर सौन्दर्यीकरण, विपद् व्यवस्थापन तालिम, ट्राफिक सचेतना तथा विपद् कोष सञ्चालनका कार्यक्रम समावेश गरिए पनि जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई हेर्दा यो बजेट पर्याप्त नभएको टिप्पणी गर्न सकिन्छ ।

सुशासन तथा संस्थागत विकासका लागि १ करोड ८ लाख रुपैयाँ छुट्याइएको छ । व्यवसाय दर्ता अभियान, कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकास, सञ्चार नीति कार्यान्वयन, स्थानीय सञ्चार माध्यमसँग सहकार्य तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । न्यायिक समितिलाई थप प्रभावकारी बनाउने, मेलमिलापकर्ताको क्षमता विकास गर्ने तथा सीमान्तकृत समुदायलाई कानुनी सचेतना प्रदान गर्ने कार्यक्रमसमेत समावेश गरिएका छन् ।

बजेटको अर्को महत्वपूर्ण पक्ष प्रशासनिक खर्च हो । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि मात्र २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक सुरक्षा कोषमा ८५ लाख र नयाँ बसपार्क निर्माणका लागि लिइएको ऋणको किस्ता तिर्न ७५ लाख रुपैयाँ छुट्याइएको छ । यसले विकास खर्चसँगै प्रशासनिक दायित्व पनि ठूलो रहेको देखाउँछ ।

नगर सभामा कोहलपुर नगरपालिका वडा नं. ११ का कल्पना अधिकारी शर्मा, वडा नं. ८ का लालबहादुर राना, वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष बद्रीनाथ सापकोटा, वडा सदस्य कविराम पुलामी, वडा नं. १० का वडा सदस्य भिम पौडेल, कोहलपुर नगरपालिका वडा नं. १३ की वडा सदस्य गोमा कुमारी खनालले आफ्नो भनाई सहित सुझाव दिएका थिए ।

यो पुर्ण पाठ हेर्नुहोस् ।

यस सम्मानित सभाका श्रद्धेय सभाध्यक्षज्यू एवम् सम्पूर्ण सभासदज्यूहरु,

१. बिगतमा स्थानीय तहबाट सञ्चालन भएका योजनाहरूमा लगानी बढी तर अपेक्षित प्रतिफल कम प्राप्त हुने अवस्थालाई आत्मसात गर्दै, हाल जेनजी आन्दोलनका कारण भएको भौतिक संरचनामा पुगेको क्षतिले समेत प्रतिफल प्राप्तिमा थप चुनौती सिर्जना गरेको यथार्थलाई ध्यानमा राखी, थोरै लगानीवाट अधिकतम प्रतिफल हासिल हुने, लागत-प्रभावी, दिगो तथा परिणाममुखी योजना कार्यान्वयनमार्फत कोहलपुर नगरपालिकालाई समृद्ध, आधुनिक, विकसित र न्यायपूर्ण बनाउने जनताको आकांक्षालाई सम्बोधन गर्ने दृढ प्रतिबद्धतासहित आर्थिक वर्ष २०८३/०८४ को बजेट यस सम्मानीत सभामा प्रस्तुत गर्दछु ।

२. यस अवसरमा सर्वप्रथम राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा सामाजिक न्याय, संघीय शासन प्रणाली र विभिन्न राजनैतिक परिवर्तनका लागि विशेषतः विभिन्न कालखण्डका आन्दोलनहरुमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिद र जेनजी आन्दोलनका क्रममा दिवंगत हुनु भएका नवयुवाहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। साथै घाईते, वेपत्ता योद्धा एवम् पीडित परिवार र नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। मुलुकको अग्रगामी परिवर्तनका लागि भएका सबै राजनैतिक आन्दोलन तथा आर्थिक र सामाजिक सवलीकरणको लागि नेतृत्वदायी भुमिका खेल्ने शिखर व्यक्तित्वहरुप्रति सम्मान व्यक्त गर्दछु ।

३. नेपालको संविधानको अनुसूची-८ ले स्थानीय तहलाई प्रदान गरेको अधिकार क्षेत्र, संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम, सोह्रौँ आवधिक योजनाले निर्धारण गरेका राष्ट्रिय प्राथमिकताहरू, लुम्बिनी प्रदेशको आवधिक योजना, कोहलपुर नगरपालिकाको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना, नेपाल सरकारका अन्तर्राष्ट्रिय प्रतिबद्धता, दिगो विकासका लक्ष्य तथा प्रचलित ऐन, नियम र कार्यविधिलाई आधार मानी, साथै जेनजी आन्दोलनका कारण स्थानीय पूर्वाधार तथा सेवा प्रवाहमा परेको असरलाई समेत विश्लेषण गर्दै, सम्मानित नगरसभाबाट पारित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित हुने गरी बजेट निर्माण गरिएको छ । कोहलपुर नगरवासीहरूको माग, चाहना र आवश्यकतालाई केन्द्रमा राखी बस्ती, वडा तथा नगरस्तरमा आयोजित छलफल, अन्तरक्रियात्मक कार्यक्रम तथा विषयगत समितिहरूमा भएका गहन बहस- विश्लेषण, साथै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी लगायत सरोकारवाला पक्षहरूबाट प्राप्त रचनात्मक, सुझावात्मक र सुधारमुखी राय-सुझावलाई समुचित रूपमा समेट्दै, सहभागीता मूलक योजना तर्जुमाको मर्मअनुसार बजेट तथा कार्यक्रम तर्जुमा गरिएकोछ।

४. संघीय तथा प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने राजश्वको सीमाभित्र प्रशासनिक तथा कार्यालय संचालन खर्च रहने गरी बजेट प्रस्ताव गरेको छु । संघीय सरकार एवम् प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण भई प्राप्त हुने समानीकरण अनुदान, सशर्त/समपुरक विशेष अनुदान र कोहलपर नगरपालिकाको आन्तरिक राजश्वलाई बजेटका प्राथमिकता र उद्देश्य हासिल गर्न सक्ने कार्यक्रममा विनियोजन गरिएकोछ।

५. आवधिक योजनामा निर्धारित विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यका साथ मध्यमकालीन खर्च संरचनाले प्राथमिकता दिएका क्षेत्रहरूलाई केन्द्रमा राखी उपलब्ध स्रोत साधनको परिचालन तथा सन्तुलित वितरणमार्फत बजेट विनियोजन गरिएकोछ ।

सम्मानीत सभाध्यक्षज्यू,

६. कोहलपुरको समृद्धि र दिगो विकासका लागि नगरपालिकाले निरन्तर रूपमा विभिन्न पहल तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको भएतापनि अनुमान गरिएअनुसार राजस्व तथा अन्य आय प्राप्त हुन नसक्दा विगतका आर्थिक वर्षहरूमा सम्पन्न तथा सञ्चालित योजनाहरूको दायित्व भुक्तानीमै उल्लेख्य स्रोत परिचालन गर्नुपर्ने अवस्था छ। यस कारण विकासका नयाँ आयामहरू थप्ने तथा तय गरिएका लक्ष्यहरूलाई अपेक्षित गतिमा अगाडि बढाउने कार्यमा चुनौती उत्पन्न भएको यथार्थ हामी सबैका सामु विद्यमान छ ।

यस गरिमामय सभाका सभाध्यक्षज्यू,

अब म कोहलपुर नगरपालिकाको आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेटका उद्देश्य र प्राथमिकता प्रस्तुत गर्न चाहन्छु :

७. “हरित, संगमस्थल हाम्रो शहर : सुन्दर समृद्ध कोहलपुर नगर” भन्ने दीर्घकालीन साझा लक्ष्यलाई केन्द्रमा राखी, नगरवासीको समग्र विकास र जीवनस्तर उन्नयनलाई दिशानिर्देश गर्दै, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको बजेट तथा कार्यक्रमका मुख्य उद्देश्यहरू देहायअनुसार निर्धारण गरिएको छ :

• डिजिटल प्रविधिसँग आबद्ध गुणस्तरीय, नवप्रवर्तनमुखी र जीवनोपयोगी शिक्षामा विशेष जोड दिइनेछ।
• स्वास्थ्य सेवालाई सहज पहुँचसहितको सर्वसुलभ, गुणस्तरीय र नागरिकमैत्री बनाइनेछ।
• आधुनिक प्रविधिमा आधारित उत्पादनशील, व्यवसायिक र प्रतिस्पर्धी कृषि प्रणाली बनाउने नीति लिइनेछ ।
• गरिनेछ । वातावरणीय सन्तुलनसहितको दिगो विकास र प्रभावकारी विपद् व्यवस्थापनको नीति अवलम्वन
• सामाजिक न्याय, समान अवसर, समावेशिता र मानवीय मर्यादामा आधारित समाज निर्माण गरिनेछ ।
• सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी गराइनेछ ।

८. उल्लेखित उद्देश्य हासिल गर्ने एवम् नगरको सर्वाङ्गीण विकासमा विद्यमान चुनौती यसप्रकार छन् ।

• नगरवासीको बढ्दो अपेक्षा, आवश्यकता र सेवाको मागलाई उपलब्ध सीमित स्रोत- साधन तथा वित्तीय क्षमताबाट सम्बोधन गर्न।
• गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा तथा सीपमूलक मानव संसाधन विकासका लागि आंवश्यक लगानी र स्रोतको सुनिश्चितता गर्न।
• तीव्र सहरीकरणसँगै बढ्दो फोहोरमैला, ढल तथा वातावरणीय चुनौतीहरूको दिगो व्यवस्थापन गर्न।
• आन्तरिक राजस्वको आधार विस्तार गरी नगरपालिकाको वित्तीय आत्मनिर्भरता सुदृढ बनाउन ।
• आय, अवसर र पहुँचमा रहेका असमानता न्यूनीकरण गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न।
• विपद् तथा जलवायुजन्य जोखिमबाट हुने जनधनको क्षति न्यूनीकरण गर्दै उत्थानशील समुदाय निर्माण गर्न।
• संघ, प्रदेश, स्थानीय तह तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्यमार्फत विकासका लक्ष्य हासिल गर्न।

९. यसका बाबजुद पनि निम्न अनुसारका सबल पक्षका कारण उल्लेखित चुनौतीलाई न्युनीकरण गर्न सहयोग पुर्याउने अपेक्षा राखेको छु :

• नगरपालिकाबाट सञ्चालित विकास निर्माण तथा सेवा प्रवाहका कार्यहरूमा नागरिक सहभागिता, अपनत्व र सहयोग क्रमशः वृद्धि हुँदै गएको छ।
• विकास आयोजनाहरूको गुणस्तर, पारदर्शिता र दिगोपना सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी बनाइएको छ।
• स्थानीय सरकार सञ्चालनका लागि आवश्यक ऐन, नियम, कार्यविधि तथा संस्थागत संरचनाहरू निर्माण भई कार्यान्वयनमा रहेका छन्।
• सूचना प्रविधिको प्रयोग तथा डिजिटल सेवा विस्तारका कारण सेवा प्रवाह थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बन्दै गएको छ।
• कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा विगतका लगानीबाट सकारात्मक आधारशिला निर्माण भएको छ।

सम्मानीत सभाका अध्यक्षज्यू एवम् सभासदज्यूहरु

१०. अब म गत आर्थिक वर्ष २०८१/०८२ को यथार्थ आय व्यय पेश गर्ने अनुमति चाहन्छुः

• कोहलपुर नगरपालिकाको संचित कोषमा जम्मा हुने रकमहरु, धरौटी/कोषहरु र अन्तर सरकारी वित्तीय हस्तान्तरण भई प्राप्त हुने बजेट खर्च समेत गरी आर्थिक वर्ष २०८१/०८२ मा जम्मा रु ९८ करोड ४ लाख ८ हजार ९ सय १९ रुपैयाँ र ५९ पैसा आम्दानी भएको छ । सो आर्थिक वर्षमा जम्मा रु ९२ करोड ७४ लाख ४२ हजार ५ सय ३९ रुपैया ४० पैसा मात्र यथार्थ खर्च भएको छ भने आम्दानी प्रक्षेपणको करिव ८७.५५ प्रतिशत भएको छ भने करिव ८२.८२ प्रतिशत खर्च भएको छ ।
• आर्थिक वर्ष २०८१/०८२ को अन्तिममा स्थानीय संचित कोषमा बाँकी रहेको जम्मा रकम ६ करोड ७ लाख ५५ हजार ५ सय १० रुपैया २० पैसा मात्र चालु आर्थिक वर्ष २०८२/०८३ मा बैंक मौज्दातका रुपमा जिम्मेवारी सारिएको छ।

११. आर्थिक वर्ष २०८२/०८३ को संशोधित आय व्यय र आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षा प्रस्तुत गर्न चाहन्छु :

• आर्थिक वर्ष २०८२/०८३ मा कोहलपुर नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व, बेरुजु र संचित कोषको बैंक तथा नगद मौज्दात समेत गरी रु २१ करोड मात्र संशोधित आय अनुमान गरेको छु ।
• चालु आर्थिक वर्षमा संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान समेत गरी रु ५१ करोड ५६ लाख रुपैंया संशोधित आय अनुमान गरेको छु ।
• प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान
• समेत गरी रु ३ करोड ७ लाख संशोधित आय अनुमान गरेको छु ।
• उल्लेखित आय शीर्षक तथा राजश्व बाँडफाँड, आन्तिरक आय समेत गरि चालु आ.व २०८२/०८३ को लागि जम्मा रु ९५ करोड ३२ लाख संशोधित आय अनुमान गरी सोही बमोजिम संशोधित व्यय अनुमान गरेको छु ।
• चालु आर्थिक वर्ष जेष्ठ मसान्त सम्म चालु खर्च ६३.३५ प्रतिशत, पुँजीगत ५९.४४ प्रतिशत खर्च भएको छ भने चालु आर्थिक वर्षको मध्यावधिसम्म ६१.८२ प्रतिशत खर्च भएको छ ।
• चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म विभिन्न शाखाहरुतर्फको प्रगति विवरण हेर्दा भौतिक पूर्वाधारतर्फ बोलपत्रबाट सञ्चालित कुल ४० योजनाहरुमध्ये २५ योजनाहरु सम्पन्न भैसकेका छन् भने १५ योजनाहरु निर्माणाधीन अवस्थामा छन् । उपभोक्ता समितिबाट सञ्चालित १२० योजनाहरु मध्ये ७० वटा योजनाहरु सम्पन्न भैसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा रहेका छन् । सडक बोर्डबाट ७ योजनाहरुका लागि बजेट विनियोजन भएकोमा सबै योजनाहरु सम्पन्न भईसकेका छन् ।
• ५० प्रतिशत अनुदानमा कृषकहरुलाई ९१ वटा मिनिटिलर, १५ वटा पावर टिलर र ३ वटा रिपर वितरण गरिएको छ भने २६ कृषक फार्म र ६२ वटा समुहलाई कृषि प्रविधिसँग जोडिएको छ।
• जेष्ठ मसान्तसम्म २२ हजार २५० पशुलाई खोप, ५४ हजार ४ सय ३३ पशुपन्छीको उपचार गरिएको छ। भने २ वटा पशु स्वास्थ तथा परजिवि नियन्त्रण घुम्ति शिविर र ५ सय गाई भैसीहरुका लागि पशु सुत्केरी भत्ता वितरण गरिएको छ।
• कोहलपुर नगरपालिकाको साक्षरता दर ९६.८५ प्रतिशत रहेको छ । हाल कोहलपुर नगरपालिकामा सामुदायिक विद्यालय ३३, संस्थागत विद्यालय ५०, स्नातकोत्तर तहसम्म पढाइ हुने क्याम्पस २, कृषि प्राविधिक धार सञ्चालित विद्यालय १, स्नातक तहसम्म पढाइ हुने क्याम्पस २ वटा रहेका छन्
• हाल सामुदायिक विद्यालयको स्वीकृत स्थायी शिक्षक दरबन्दी माध्यमिक तहमा १६ जना, आधारभूत तह (कक्षा ६-८) मा १५ जना र आधारभूत तह (कक्षा १-५) मा ९२ जना, राहत अनुदान माध्यमिक तह (कक्षा ११-१२) मा १३ जना र (कक्षा ९-१०) मा १३ जना, आधारभूत तह (कक्षा १-८) मा ९८ जना शिक्षक दरबन्दी रहेको छ । प्राविधिक धार कृषि प्रशिक्षक ८ जना, शिक्षण सिकाइ सहजकर्ता ५२ जना, नगर अनुदान शिक्षक ३८ जना, सहलेखापाल ९ जना, बालविकास सहयोगि कार्यकर्ता ८१ जना, विद्यालय सहायक कर्मचारी १२ जना, कार्यालय सहयोगी ३० जना र सामाजिक परिचालिका १ जना रहेका छन् ।
• कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई निःशुल्क गुणस्तरिय स्यानिटरी प्याड वितरण गरिएको छ।
• तिलगंगा आँखा उपचार प्रतिष्ठान काठमाण्डौको समन्वयमा ३ सय ७२ जनाको निःशुल्क मोतिबिन्दु तथा मासु पलाएको शल्यक्रिया गरिएको छ । साथै नसर्ने रोगको प्रभाव न्युनीकरणका लागि गरिएको स्वास्थ्य शिविरमा ३ हजार ३ सय २९ जनाको निशुल्क परीक्षण गरिएकोछ ।
• आयआर्जनमा प्रेरित गर्न युवा तथा महिलाहरुलाई आवश्यकता र क्षमताका आधारमा सीपमूलक तालिम/कार्यक्रमतर्फ सगुन उत्पादन तालिम, अचार बनाउने तालिम, व्युटीपार्लर एडभान्स, जुत्ता चप्पल तालिम, एसी मर्मत, समरसेल मोटर मर्मत तालिम, चुरा पोते बनाउने, खटिया बनाउने तालिम, दालमोट तालिम, सिलाईकटाइ एड्भान्स तालिम, मखमली र ढाका झोला बनाउने तालिम, वारिष्टा, बेकरी लगायतका तालिम प्रदान गरिएकोछ ।
• युवाहरुका लागि कम्प्युटर, कुक, मोवाइल रिपेरिङ्, एकाउन्टिङ्, प्लम्बिङ् लगायत विषयमा प्राविधिक सीप विकास तालिम सञ्चालन गरिएकोछ ।
• ४१ जना अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री उपलब्ध गराइएको छ भने ६९ जनालाई परिचयपत्र प्रदान गरिएकोछ ।
• रोजगार सेवा केन्द्र कोहलपुर मार्फत चालु आर्थिक वर्षमा १३ जना महिला र २५७ जना पुरुष गरी जम्मा २७० जनाको पुनः श्रम स्वीकृतीको लागि सहजीकरण गरिएको छ । साथै बैदेशिक रोजगार बोर्ड मार्फत प्रदान हुने कल्याणकारी सेवाहरुको लागि सहजीकरण गरिएको छ ।
• नेपाल सरकार र स्वीस सरकार बीचको साझेदारीमा कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमतर्फ सुरक्षित आप्रवासन स्रोत उप केन्द्र मार्फत ५ सय ३८ र रिटर्नी स्वयसेवकमार्फत २ हजार ६० जनालाई सूचना तथा परामर्श सेवा प्रदान गरिएको छ । साथै कोहलपुर नगरपालिकाको वडा नं. ८ र १० मा बैदेशिक रोजगारीमा रहेका परिवारका ५० जना सदस्यहरुलाई बित्तीय साक्षरता र ३० जना व्यक्तिलाई मनोसामजिक परामर्श सेवा प्रदान गरिएको छ।
• न्यायिक समितितर्फ चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका ३८० उजुरीहरु मध्ये २९६ उजुरी मेलमिलापका माध्यमबाट फस्यौट गरिएको छ भने ८४ वटा उजुरी फस्यौट गर्ने क्रममा रहेका छन् । जेनजी आन्दोलनका क्रममा क्षती भएका वडाहरुमा मेलमिलापकर्ताहरुका लागि आवश्यक फर्निचर तथा प्रशासनिक सामग्री सहयोग गरिएको छ । मेलमिलापकर्ताहरुलाई मिलापत्र मस्यौदा लेखन, पुनर्ताजगी तालिम प्रदान गरिएको
छ ।
• सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाको साझेदारीमा कोहलपुर नगरपालिकाका सार्वजनिक स्थान, नगर विकास क्षेत्र, विद्यालय परिसर, मन्दिर परिसर, राजमार्ग क्षेत्र लगायतमा विभिन्न स्थानमा ११ हजार बिरुवा रोपी संरक्षण गरिएको छ।

सम्मानीय सभाध्यक्षज्यू

१२. अब म आर्थिक वर्ष २०८३/८४ को लागि गरिएको अनुमानित आयको आधारमा आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित राजश्व तथा व्ययको अनुमान संक्षेपमा प्रस्तुत गर्न चाहन्छु :

१३. नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व र अल्या समेत गरी रु २१ करोड, नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान रु १९ करोड १४ लाख, संघीय सशर्त अनुदान रु ३१ करोड ६ लाख, संघीय समपुरक अनुदान रु ६५ लाख, संघीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय रु १६ करोड ९१ लाख ५९ हजार, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १ करोड ३२ लाख २२ हजार रुपैया र प्रदेश राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम रु १ करोड १५ लाख रुपैया, प्रदेश सशर्त अनुदान रु १ करोड ८४ लाख रुपैया, प्रदेश समपुरक अनुदानको रु १ करोड २० लाख रुपैयाँ, प्रदेश विशेष अनुदान २० लाख, स्थानीय राजश्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित १३ करोड ३ लाख १९ हजार समेतका आधारमा आगामी आर्थिक वर्ष २०८३/०८४ को कुल बजेट रु १ अर्ब ७ करोड ५१ लाख रुपैया रहेको छ । कुल विनियोजन मध्ये चालु खर्च करिव ६१ प्रतिशत र पुँजिगत तर्फ करिव ३९ प्रतिशत विनियोजन गरेको छु । स्रोतगत आय व्ययको विस्तृत अनुमान अनुसुची-१ मा प्रस्तुत गरिएको छ ।

सम्मानीय सभाध्यक्षज्यू

१४. अब म आगामी वर्षमा सञ्चालन गरिने कार्यक्रमको विस्तृत खाका प्रस्तुत गर्ने अनुमती चाहन्छु :

• आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमहरुमध्ये वडास्तरबाट छनौट गरिने योजना तथा कार्यक्रमहरुका लागि रु ७ करोड ४४ लाख विनियोजन गरिएकोछ । वडाको जनसंख्या, भुगोल, विकासको अवस्था, आम्दानीमा गरेको योगदान समेतका आधारमा वडागत सिलिङ वितरण गरी रु ४७ लाख देखि ६० लाख सम्मको बजेट सीमा निर्धारण गरी बजेट तथा कार्यक्रम माग गरिएकोछ। वडास्तरबाट छनौट भएका योजना तथा कार्यक्रमहरु तल अनुसूचीमा समावेश गरेकोछु

क. आर्थिक विकास

आगामी आर्थिक वर्षका लागि छनौट गरिएका योजनाहरु मध्ये आर्थिक विकासतर्फ नगरस्तरीय योजनाहरुमा रु १ करोड ५४ लाख ४२ हजार रुपैंया विनियोजन गरेको छु । आर्थिक विकासका क्षेत्रमा कुल बाँडफाँड योग्य बजेट सिमाको २.१३ प्रतिशत रकम विनियोजन गरेको छु ।
• उद्यमशीलता प्रवर्द्धन मार्फत नागरिकहरुमा उद्यमशिलता विकासलाई प्राथमिकता दिएको छु । सो कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
• नगरपालिकाले हालसम्म सिर्जना गरेका उद्यमीहरुमध्ये व्यवसायिक हिसाबले अघि बढेको उद्यमीहरुका लागि थप आवश्यक तालिम सहितको राष्ट्रिय सीप परीक्षण प्रमाणपत्र उपलब्ध गराउने गरी आवश्यक बजेट विनियोजन गरेको छु ।
• नागरिकहरुको क्षमता र आवश्यकताका आधारमा नागरिकको माग बमोजिमका तालिम सञ्चालनलाई प्राथमिकता दिएको छ यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
• नागरिकहरुको जीवनस्तर सुधार, आम्दानी, र रोजगारी बढाउन विभिन्न निजी क्षेत्रहरुसँगको साझेदारीमा रोजगारीका लागि वातावरण सिर्जना गरिनेछ । श्रम संसार (अनलाइन पोर्टल) को माध्यमबाट रोजगारदाता र रोजगारी गर्न चाहने व्यक्तिहरुलाई एकआपसमा आबद्ध गरिनेछ ।

कृषि तथा पशुपंक्षी विकासतर्फ :

• किसानहरुलाई उत्पादनमा प्रोत्साहन गर्ने प्रयोजनकालागि किसानहरुको समेत ५० प्रतिशत साझेदारी रहने गरी यान्त्रिकरण एवम् उपकरण साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ ।
• किसानहरुलाई साना सिंचाइ प्रवर्द्धन कार्यक्रम र आलु तरकारी तथा मसला बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । सो कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
• कृषि स्नातक करार, कृषि, पशुपन्छी तथा मत्स्य तथ्याकं अध्यावधिक कार्यक्रम, किसान सूचीकरण लगायतका कार्यक्रम संचालनका लागि सशर्त अनुदानबाट आवश्यक बजेट विनियोजन गरेको छु ।
• पशुपालक किसानहरुको सुविधाका लागि गाई भैसीहरुलाई पशु सुत्केरी भत्ता उपलब्ध गराइनेछ । सो का लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

सामाजिक विकास

• आगामी आर्थिक वर्षमा सामाजिक विकास समिति र मातहतका शाखाहरुका लागि एकमुष्ट रु १३ करोड ६२ लाख ५८ हजार विनियोजन गरेको छु । सामाजिक विकासको क्षेत्रमा कुल बजेटको १८.७७ प्रतिशत विनियोजन गरिएको छ ।
• कोहलपुर नगरक्षेत्रभित्र मानव सेवाका लागि सहयोग पुर्याउँदै आइरहेका संस्थाको सहयोगका लागि बजेट व्यवस्था गरेको छु ।
• विभिन्न धर्म र संस्कृतिको संरक्षण गर्दै उनिहरुको विकास तथा अभ्यासका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

स्वास्थ्यतर्फ :

• नसर्ने रोगको बढ्दो प्रभाव (प्रेसर, सुगर, मिगौला) र महिलाहरुमा बढ्दो पाठेघरको क्यान्सर पहिचान तथा रोकथामका लागि समुदायस्तरमा शिविर सञ्चालन गरिनेछ सो का लागि २० लाख बजेट विनियोजन गरेको छु ।
• नागरिकहरुले कोहलपुर नगर अस्पतालबाट प्राप्त गर्ने सेवालाई सरल बनाउनुका साथै नगर अस्पतालबाट प्राप्त हुने निःशुल्क औषधि वितरणलाई प्रभावकारी बनाइनेछ । सो का लागि रु ४० लाख विनियोजन गरेको छु ।
• परम्परागत स्वास्थ्य उपचारको माध्यमका रुपमा रहेको आयुर्वेद तर्फबाट नागरिकहरुको स्वस्थ जीवन र सुस्वास्थ्यका लागि विभिन्न आयुर्वेदिक औषधिहरु निःशुल्क वितरणका साथै आयुर्वेद र योग शिक्षा, भान्सा सुधार समेतका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने गरी आवश्यक बजेट विनियोजन गरेको छु ।
• थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया रोग उपचार व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
• समग्र स्वास्थ्यतर्फ कुल १ कराड १७ लाख १९ हजार रुपैया बजेट विनियोजन गरेको छु ।

शिक्षा तर्फ :

• शिक्षण सिकाइलाई प्रविधिमैत्री, बालमैत्री र नवप्रवर्तनमुखी बनाउँदै विद्यालयहरुमा स्मार्ट कक्षा निर्माण गरी शिक्षण सिकाइ प्रभावकारी बनाईनेछ शिक्षण सिकाइलाई प्रविधिमैत्री, बालमैत्री र नवप्रवर्तनमुखी बनाउँदै विद्यालयहरुमा स्मार्ट कक्षा निर्माण गरी शिक्षण सिकाइ प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गरेको छु ।
• बालविकासदेखि कक्षा ५ सम्म वाताअनुकूलित तथा प्रविधिमा आधारित सिकाइको विकासका लागि बजेट विनियोजन गरेको छु ।
• ज्ञानोदय सामुदायिक पुस्तकालयमा ई-लाइब्रेरीको स्थापना गरी सिकाइ केन्द्रको रुपमा विकास गर्ने प्रवन्ध मिलाएको छु ।
• कोहलपुर नगरपालिका र प्रधानाध्यापकसँग कार्य सम्पादन सम्झौता गरी कार्य सम्पादन मूल्याङ्कनको लागि बजेटको व्यवस्था गरेको छु ।
• साबिकका विभिन्न विद्यालयहरुमा नगरपालिकाबाट खटाइएका शिक्षकहरु, विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास शिक्षक, स्वयंसेवक शिक्षकहरुको सुविधालाई निरन्तरता दिएको छु ।
• शिक्षक तथा विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावकको क्षमता विकास गर्नका लागि शैक्षिक तालिम केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छु
• कोहलपुर नगरपालिकाका आधारभूत तह (कक्षा १-५) को शैक्षिक गुणस्तरवृद्धि गर्न बहुकक्षा बहुस्तर (MGML) कार्यक्रम संचालन गर्न र उक्त कार्यक्रमका लागि बजेटको व्यवस्था गरेकोछु । कोहलपुर नगरपालिकाभित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा शुद्ध खानेपानीको फिल्टर जडान
• र शौचालयको व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेकोछु ।
• शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोष्टर सहितको विद्यालय सुपरिवेक्षण र परीक्षा अनुगमन गरिनेछ । शिक्षाका लागि ११ करोड ६७ लाख ३९ हजार बजेट विनियोजन गरेको छु ।

महिला तथा बालबालिका

• महिला दलित, जनजाती, पिछडिएको समुदाय समेतका लक्षित वर्गहरुको सशक्तिकरणका लागि चेतनामूलक, आयमूलक, सीपमूलक र नेतृत्व विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
• बालबालिकाहरुका लागि बालविवाह न्यूनीकरण, बालबालिका माथि हुने यौनजन्य हिंसा न्यूनीकरण,
• बालश्रम र लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रोत्साहन गर्न महिला पुरुष समविकास कार्यक्रम
• सञ्चालन गरिनेछ । अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सहायक सामाग्रीहरु वितरण गरिनुका साथै विभिन्न आयमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
• नगरभित्रका किशोरी क्लबका सदस्यहरुलाई आत्मरक्षा सम्बन्धी तालिम तथा मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गरिनेछ ।
• ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुका लागि न्यानोकपडा वितरण गरिने कार्यलाई निरन्तरता दिएको छु । ज्येष्ठ नागरिकहरुको सुविधाका लागि दिवा सेवा केन्द्रहरुलाई सहयोग गरिनेछ । महिला तथा बालबालिकातर्फ ३५ लाख ५० हजार बजेट विनियोजन गरेको छु ।

पूर्वाधार विकास :

नगरस्तरिय पूर्वाधार विकासतर्फ चालु आर्थिक वर्षमा १६ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छु।
• पूर्वाधार विकासतर्फ विगत देखिका क्रमागत र बहुवर्षीय आयोजना, समपुरक कोष भैपरी आउने पुँजिगत खर्च र चालु आर्थिक वर्षमा भुक्तानी दिन नसकी दायित्वमा सारिएको योजनाहरुका लागि बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधारतर्फ विनियोजन भएको रकम कुल बजेटको करिव २३.५१ प्रतिशत रहेको छ । कोहलपुर नगरपालिकाका अधुरा अपुरा तथा वहुवर्षिय योजनाहरुका लागि रु २ करोड विनियोजन गरेको छु ।
• संघीय सरकार तथा प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन गरिने समपुरक आयोजनाहरुमा आवश्यक रकम समपुरण गर्नका लागि रु ४ करोड विनियोजन गरेको छु ।
• चालु आर्थिक वर्षमा काम सम्पन्न भई भुक्तानी दिन नसकिएका योजनाहरुका लागि रु ६ करोड भुक्तानी दिन बाँकी दायित्वमा राखिएको छ ।
• विभिन्न भैपरी आउने (चालु/पुँजिगत) कार्यक्रमका लागि रु ७५ लाख विनियोजन गरेको छु ।

वन वातावरण तथा विपद व्यवस्थापन तर्फ :

आगामी आर्थिक वर्षका लागि वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ५२ लाख विनियोजन गरेको छु ।
• हरित कोहलपुरको अभियानलाई निरन्तरता दिदै नगरक्षेत्रका विभिन्न स्थानहरुमा वृक्षारोपण र संरक्षण गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु । साथै नगरको सौन्दर्याकरणका लागि समेत बजेट विनियोजन गरेको छु ।
• नगर प्रहरीहरुका लागि आवश्यक सुरक्षा उपकरणहरु उपलब्ध गराइनुका साथै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन तालिम सञ्चालन गरिनेछ ।
• ट्राफिक व्यवस्थापनका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
• विपदबाट हने सम्भावित क्षति न्यूनीकरण तथा उद्धार एवम् राहत सामाग्री वितरण कार्यका लागि विपद व्यवस्थापन कोषमा रहने गरी रु १८ लाख विनियोजन गरेको छ ।

सुशासन तथा संस्थागत विकास समितितर्फ :

• सुशासन तथा संस्थागत विकास समितितर्फ चालु आर्थिक वर्षमा रु १ करोड ८ लाख विनियोजन गरेको छु । उक्त बजेटबाट देहायका कार्यक्रम सञ्चालन गरिनेछ ।
• नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न व्यवसायीहरुलाई व्यवसाय दर्ताका लागि प्रोत्साहन गर्न एवम् करको दायरामा ल्याउन शिविर सञ्चालन गरिनेछ ।
• कोहलपुर नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिनेछ ।
• स्थानीय एफएम रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यमसँग सहकार्य गरी जनचेतनामूलक सामग्री (लोककल्याणकारी विज्ञापन) प्रसारण/प्रकाशन गर्ने प्रबन्ध मिलाइनेछ ।
• सञ्चार क्षेत्रको प्रोत्साहनका लागि सञ्चार नीति कार्यान्वयनमा ल्याइने छ भने सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु।

न्यायिक समितितर्फ

• न्याय सम्पादन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ । वडास्तरमा मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धि गरी नागरिकलाई प्रत्यक्ष न्यायको अनुभूति दिलाइनेछ ।
• महिला, दलित, जनजाति, पिछडिएको वर्ग, मुस्लिम समुदाय एवम् सीमान्तकृत समुदायहरुको अधिकारका विषयमा विद्यमान कानूनी व्यवस्थाका बारेमा आवश्यक प्रशिक्षण गरिनेछ ।

अन्य :

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु २६ करोड विनियोजन गरेको छु। सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि ८५ लाख विनियोजन गरेको छु । नयाँ बसपार्क स्थापना गर्दा नगर विकास कोष मार्फत लिइएको ऋण वापतको किस्ता भुक्तानीका लागि रु ७५ लाख विनियोजन गरेको छु ।

सम्मानित सभाका अध्यक्षज्यू,

नगरको समग्र विकास र समद्धि कने एक पक्षको मात्र प्रयासबाट सम्भव नहने यथार्थलाई आत्मसात गर्दै सबै सरोकारवालाको सहकार्य र सहभागिता अपरिहार्य रहेको छ । सीमित स्रोत साधनका बीच नागरिकका आवश्यकताहरूलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै उत्पादनमुखी तथा प्रतिफलमुखी क्षेत्रमा बजेट विनियोजन गरिएको छ।

यस प्रक्रियामा सहयोग, सुझाव र मार्गदर्शन प्रदान गर्नुहुने राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी तथा प्रबुद्ध व्यक्तित्वहरू, साथै आदरणीय नगर प्रमुखज्यू, निर्वाचित जनप्रतिनिधिज्यूहरू र नगरपालिकाका कर्मचारी वर्गप्रति हार्दिक आभार व्यक्त गर्दछु।
अन्त्यमा, प्रस्तुत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको निरन्तर सहयोग र सक्रिय सहभागिता रहने अपेक्षा व्यक्त गर्दछु। धन्यवाद

इति सम्वत २०८३ साल असार १० गते रोज ४ शुभम् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार