वेदको सामन्य अर्थ
सामान्य भाषामा वेदको अर्थ हो ज्ञान वा विद्या जसलाई अर्काे अर्थमा प्रकाश पनि भनिन्छ । जसले मानिसको मनको अज्ञानरूपी अन्धकार लाई सजिलै हटाई दिन्छ । वेदलाई इतिहासको यस्तो स्रोत मानिन्छ जसमा पौराणिक ज्ञान–विज्ञानको अलौकिक भण्डार रहेको छ । वेद शब्द संस्कृतको वि् शब्दबाट निर्मित भएको हो अथवा वेदको एकमात्र शब्दमा नै सबै प्रकारको ज्ञान समाहित हुने अर्थ हो । जुन शब्दले विचार दिन्छ र अर्थ निकाल्छ जुन अर्काे अर्थमा मन्त्रद्रष्टा पनि भनिन्छ ।
वेद ध्यानबाट समाधिमा लिन् भएर परमात्माबाट त्यसको अर्थ प्राप्त गर्नु हो । वेदमा कुनै ऋषिको नाम उल्लेख हुनुले के प्रमाणित गर्छ भने उनी मन्त्रद्रष्टा थिए । मन्त्र भनेको विचार र तर्क हो । ऋषि जसलाई मन्त्रदृष्टा भनिएको छ जसले मन्त्रको भित्री रहस्य जान्ने, बुझ्ने, मनन् गर्ने र त्यसको अनुभति गर्दै ज्ञानलाई जुन ग्रन्थमा सङ्कलित गरी संसार समक्ष प्रस्तुत गर्ने विश्वको सबैभन्दा पुरानोग्रन्थ वेद हो । जहाँ वेद भन्नाले तीनै प्राचीन ग्रन्थलाई भनिएको छ जुन यस संसारमा परमपिता परमेश्वरको स्पष्ट चर्चा गरेको वास्तविक ज्ञानको भन्डार वेद हो ।
वेदको अध्ययनबाट विस्तारै संसारका सबैधर्ममा ज्ञान र आधुनिकताको विकास हुन गयो । वेद मानव सभ्यतामूलक प्रथम ज्ञानको स्रोत पनि हो । यसले सबै धर्म र विज्ञानको आधार प्रदान गर्दछ । अर्काे अर्थमा भन्दा वेद ज्ञानको उद्गम श्रोतको मूख्यजननी पनि हो । आजको आधुनिक युगको प्रायः वस्तुको ज्ञान प्राचीन हिन्दू ऋषिले पहिला नै मननगरी प्राप्त गरेका थिए भने वेद परम शक्तिमान ईश्वरको महानवाणी हो ।
वेदलाई श्रुति भनेर चिनिन्छ किनकि श्रुतिको तात्पर्य सुन्नु वा श्रवण गर्नु पनि हो । यसको अर्थ हो प्राचीन हिन्दू ऋषिले चिन्तन, मनन एवम् ध्यान गरी आफ्नो तपस्याको बलमा ईश्वरको ज्ञान ग्रहण गरेका थिए जुन उनले सजिलै आत्मसात गरेका थिए । जब ऋषिसँग शिष्य शिक्षा ग्रहण गर्थे तब उनी त्यही ज्ञान उनीहरूलाई सजिलै बाँड्थे । यो ईश्वरीय ज्ञान मन्त्रको रूपमा ऋषिसँगसँगै सबैलाई स्मरण हुँदै गयो र उनीहरूलाई कण्ठस्थ भयो । विस्तारै विस्तारै ती सबैबाट एकअर्को समक्ष पुग्दै गयो । किनकि प्राचीन समयमा आजको जस्तो विद्यालयतथा विश्वविद्यालय थिएनन् । तर शिष्यहरु ऋषिको आश्रममा गएर शिक्षा ग्रहण गर्थे जसलाई गुरूशिष्य परम्परा समेत भनिन्छ ।
ऋषिहरुले मन्त्र उच्चारण गर्दै शिष्यलाई बुझाउँथे र ऋषिले जुन ईश्वरीय ज्ञान सुने त्यो वेदको श्रुति हो । यसैले वेदलाई श्रुति पनि भनिएको प्रमाणित हुन्छ र वेद ज्ञानको अनन्त भण्डारको स्रोत हो । वेद ईश्वरीय ज्ञान हो तर यो कुनै ऐतिहासिक पुस्तक पनि होइन कि कुनै घटना घट्यो र पुस्तकमा लिपिबद्ध गरिन्छ । अतः ईश्वरको अलौकिक महानवाणी जुन ज्ञानरूपमा वेदमा निहित छ । त्यसलाई बुझ्नका लागि वेद नै त्यो अलौकिक नेत्र हाे, जसको सहायताले मनुष्य ईश्वरको अलौकिक ज्ञान बुझ्न सक्छ । वेद त्यो ज्ञान ग्रन्थ हो जसको मूल्य र समानतामा विश्वको कुनैपनि ग्रन्थ पुग्नसक्दैन । त्यसैले वेद ईश्वरीय ज्ञान हो र त्यसको उद्भव पनि ईश्वरद्वारा भएको हो । किनकी यसको लेखक र लेखन मिति तथा साल हाससम्म पनि महान शास्तार्थविद्ले पत्ता लगाउन सकेका छैनन् ।
वेदको महत्व र उपयोगीता
ऋषिहरूले ’वेद’ सम्बोदन कुनै पुस्तक विशेषका लागि गरेका होइनन् । यसको अर्थ हुन्छ दिव्य साक्षात्कारबाट प्राप्त अद्भुत ज्ञान । यसबाट बुझ्न आवश्यक छ वेद भन्नुको तात्पर्य कुनै पुस्तक नभएर ज्ञानको एक किसिमको विशिष्ट र परिष्कृत धारा पनि हो । वेदमा जुन ज्ञान छ यो हरेक समय वा पलपलका लागि उतिकै आवश्यक तथा जीवनोपयोगी छ । हिजो जुन समय मानव जाती जंगली जीवन बिताउँथ्यो ।
आजको आधुनिक समाज होस वा भोलि हजारौं वर्षपछिको सुपरआधुनिक मोर्डन समाज सबै समयमा वेदको महत्व उतिकै रहेको छ । जुनसुकै समयका मानिससले पनि बुझ्नसक्ने उदाहरणमा यसमा छन् । सत्य, त्रेता, द्वापर र कलीयुगकै मानिसले पनि यो बुझ्ने भाषामा उल्लेखित छ । जस्तो यसका उदहरणमा आकाश, तारा चन्द्रमा सूर्य अग्नि आदि भनेर दिइएको छ किनकि यो जुनसुकै समयको मानिसले सहजै बुझ्छन् । यसको ठाउँमा कम्प्युटर, रकेट भनेको भए सत्ययुगका मानिसले बुझ्न सक्दैनथे र तयो समयमा प्रविधिको उदाहरण दिइएको भए आधुनिक समाजका मानिसले बुझ्न गाहे हुन्थ्यो । जुन शाश्वत सत्य हो त्यसलाई उदाहरणमा प्रस्तुत गरियो जुन जहाँ र जहिले पनि बुझ्न सकिन्छ ।
आधुनिक समयमा वेदको प्रयोग र प्रमाण
सामान्य दैनिकीबाट शुरू भएर वेदले एब्सोल्युट सत्यको बारेमा समेत हामीलाई जानकारी दिएको छ । हामीसँग चार वेद छन् । जसरी हामीसँग आधुनिक ज्ञानका लागि गणित, बायोलोजी, केमेस्ट्रीको पुस्तक छन् त्यस्तै परमात्मालाई अन्तिम सत्य थाहा पाउनका लागि केही महत्वपूर्ण पुस्तक छन् ती वेद हुन् । वेद शब्द संस्कृतको मूलधातु विद्बाट बनेको हो । जसको अर्थ हुन्छ जान्नु । वेद कति प्राचीन छ भने यसलाई अपौरष्य अर्थात् मानव लिखित नभई ईश्वरीय महानवाणी हो । जसको उत्पतिको समय सुनिश्चित गर्न सकिएका छैन । वेदमा जुन विचार प्रस्तुत गरिएको छ त्यो सूक्तमा लिपिबद्ध छन् ।
यो गीतात्मक एवम् गीतको रूपमा छ । तर वेदको प्राचीनताको प्रश्न छ वेद १, ९६,०८,५२,९७८ वर्ष पहिला उद्भव भएको मानिन्छ किनकि सृष्टिको रचना यति नै वर्ष पहिला नै भएको थियो र ईश्वरले वेदको रूपमा त्यही बेला यो ज्ञान दिए । तर ऋषिले भने यस ज्ञानलाई आफ्नो बौद्धिक क्षमताको विकास भएपछि मात्र ग्रहण गरेका गरी मानवलाई दिए । हिन्दू धर्मको सर्वोत्तम आधारभूत र पवित्र ग्रन्थ हो । ऋग्वेद मानवजातिको सबैभन्दा प्राचीन ग्रन्थ हो ।
चारवेदबाट के ज्ञान प्राप्त गर्न सकिन्छ ?
ऋग्वेद
ऋक अर्थात स्थिति र ज्ञान लाई ऋग्वेद भनिन्छ । यसमा १० मण्डल र १०२८ ऋचाहरू रहेका छन् । ऋग्वेदका प्रत्येक ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति र देवलोकमा उनीहरूको स्थितिको वर्णन गरिएको छ । यसमा ५ शाखाहरू छन् ती शाखा हुन् शाकल्प, वास्कल, अश्वलायन, शांखायन र मण्डूकायन । यी सबैले देवताहरूको प्रार्थना, स्तुति र देवलोकमा उनीहरूको स्थितिको वर्णन गरेको पाइन्छ । संस्कृतमा ऋग् को अर्थ स्तुति हो । ऋग्वेदका ऋचाले वैदिक देवीदेवताप्रति प्रेम र भक्ति दर्शाउने गर्छ । यसमा भक्तले सूर्य, सोम, इन्द्र, अग्नि आदि देवताप्रति स्नेह दर्शाउने गर्छन् । यसबाट यसखालको ज्ञान प्राप्त गर्न सकिन्छ ।
यजुर्वेद
यजुर्वेदको शाब्दिक अर्थ : यत् जु+यजु भन्ने हुन्छ । जहाँ यत् को अर्थ हो गतिशील तथा जु को अर्थ आकाश भन्ने हुन्छ । अर्काे यर्जूर्वेेदको अर्थ कर्म, श्रेष्ठतम कर्मको प्रेरणा भन्ने हुन्छ । जसमा १९७५ मन्त्र र ४० अध्याय रहेका छन् । यस वेदमा धेरैजसो यज्ञका मन्त्रहरू र यज्ञको तत्वज्ञानको समेत वर्णन गरिएको छ ।
यजुर्वेदका दुई शाखाहरू हुन् कृष्ण र शुक्ल हुन् । यजुर्वेदले यज्ञको बारेमा गहिरो जानकारी दिन्छ । यज्ञलाई देवसँग जोड्ने माध्यमको रूपमा मानिन्छ । अर्काेतर्फ यो आर्यूवेदको उत्पति वा औषधिको मूलमन्त्र पनि हो । यज्ञद्धारा भगवानको आराधना गर्न समेत यसवेदले जानकारी दिन्छ । तन्त्रमन्त्र र जडीबुडीको बारेमा समेत यसको महत्वपूर्ण आधारहरु यस वेदबाट ज्ञानप्राप्त गर्न सकिन्छ ।
सामवेद
सामको शाब्दिक अर्थ रूपान्तरण र संगीत भन्ने हुन्छ । यसले सौम्यता र उपासना गर्न सिकाउँछ । यसमा ९,१८,२४० मन्त्रहरू रहेका छन् । ऋग्वेदका धेरै ऋचाहरू यसमा छन् । संहिताका सबै मन्त्र संगीतमय र लयमय रहेका छन् । जसले गित, संगित, कला र गला जस्ता ज्ञानहरु यसबाट प्राप्त गर्न सकिन्छ । जसमा मुख्य ३ शाखाहरू छन् ७५ ऋचाहरू छन् र विशेषगरी संगीत शास्त्रलाई यसले समावेश गरिएको छ । सामवेद संगीतको पनि जननी हो ।
अथर्ववेद
अथर्वको शाब्दिक अर्थ हो कम्पन र अर्थ अकम्पन भन्ने हुन्छ । ज्ञानले श्रेष्ठ काम गर्दै जो परमात्माको उपासनामा तल्लिन ज्ञान यसबाट प्राप्त गर्न सकिन्छ । अकम्पनबाट बुद्धिप्राप्त गरेर मोक्ष धारण गर्न सकिन्छ । ज्ञानले श्रेष्ठ कर्म गरेर जो परमात्मको उपासनामा लिन हुन्छ उसले नै अकम्पनको बुद्धिको स्थिति प्राप्तगरी मोक्षप्राप्त गर्दछ ।
अथर्ववेदमा ५९८७ मन्त्र तथा २० काण्ड रहेका छन् । यस वेदमा पनि धेरैजसो ऋग्वेदका ऋचाहरू समावेश गरिएका छन् । यसमा रहस्यमय विद्याको पनि वर्णन गरिएको पाइन्छ । परमात्मा, प्रकृति र आत्माको वर्णन र स्तुति गायन समेतको ज्ञान यसबाट पाइन्छ । यसबाहेक वेदहरूमा आफ्नो समयका महापुरूषहरूको महिमा, गुणगान एवं उक्त समयको सामाजिक, राजनीतिक तथा भौगोलिक अवस्थाको वर्णन पनि छ । जुन हालको अर्थतन्त्रको मूख्य जगपनि अथर्ववेद हो । जसबाट नै अर्थतन्त्रको परिभाषा समेत प्रतिपादन भएको हो ।
के वेदमा जातीय भेदभाव उल्लेख छ ?
जातीयता, छुवाछुत, बालविवाह, विधवाविवाह र अरू कुनैपनि किसिमको विकृति वेदमा समावेश छैन । हिन्दू धर्ममा भित्रिएको जातीय विभाजनको घोरविरोधी हो वेद । नेपालमा राणाहरूको शासन कालमा आफ्ना सन्तानको रोलक्रम छिटो आओस भनेर राणाहरूको श्रेणी विभाजन गरेजस्तो विभिन्न समयमा विभिन्न शासक, व्यक्ति र समुदायको स्वार्थले गरिएको विभाजन हो हिन्दू धर्ममा देखिएको सबैभन्दा घृणित विभाजन नै जातिप्रथा हो । तर वेदले जातिगत भेदभाव भने उल्लेख गरेको पनि छैन र स्विकार गरेको पनि छैन । जस्तो आत्रेय ब्राह्मणको खण्ड पञ्जिका २ को अध्याय, ३ खण्ड १ मा एउटा श्लोक छ ।
कुनै समय सरस्वति नदीको किनारमा ऋषिहरू यज्ञगर्न थालेका थिए । हवन यज्ञ शुरू हुन लागेको थियो, त्यही बेला कवस ऋषि आइपुग्छन् र उनलाई देखेर कुनै एक ऋषि भन्छन्, यी त एक कासी एक दासीका पुत्र हुन् अर्थात् एक शुद्रका पुत्र हुन् । तब सबै ऋषि उनको सम्मानमा उठेर भन्छन्, यी त कवस हुन् जसलाई सबै देवता मान्दछन् किनकी यी ऋषि कोही सामान्य व्यक्ति थिएनन् । यिनी एक शुद्रका छोरा थिए तर उनको नाम वेदमा नै उल्लेख छ । वेदको दशौं मण्डलको अनुवा ३ को सुक्त ३०, ३१, ३२, ३३, ३४ मन्त्रमा कवस ऋषिको नाम उल्लेख छ । यी मन्त्रको द्रष्टा कवसलाई मानिन्छ ।
शुद्र त्यसैलाई भनिन्छ जो आलस्य र प्रमादी कामको सहजीकरणका लागि हिन्दू धर्मले स्थापित गरेको चार वर्ग जातिगत, विभाजन भने होइन । तर वेदमा काम र क्षमता अनि योग्यताको आधारमा कामको विभाजन भने गरिएको छ । यो जन्मको आधारमा नभई कर्मको आधारमा हुने गरिएको विभाजन हो । उदाहरणको लागी आधुनिक समाजमा शिक्षकले ज्ञान दिने वन पढाउने, एउटा कविले उसले कविता लेख्छ, कथाकारले कथा लेख्छ, डाक्टरको काम औषधी उपचार गर्ने, बिरामीको अपरेसन गर्छ गाडी चालकले गाडी चलाउँछ र स्विपरले सफाइ गर्छ ।
कामको विभाजन आज पनि भोली पनि हुन्छ । आज तपाईं डाक्टरले किन भुई नपुछ्ने अनि एउटा स्विपरले किन अपरेसन गर्न नपाउने तर एउटा स्पिरले किन कविता नलेख्ने भनेर विवाद गर्नु मुर्खता भने हो । हिन्दू धर्मको जुन चारवर्ग विभाजन छ त्यो एकदमै कामको सजिलाका लागि गरिएको विभाजन हो अन्यथा भने होइन । यो समाजमा मात्र होइन परिवार देखि थियो । परिवारमा धेरै छोराहरू भएमा को गुरूकुलमा गएर पढ्न चाहन्छ, ऊ पढ्न जान्थ्यो । सेना या रक्षकको रूपमा काम गर्न चाहनेले सेनाको तालिम लिन्थ्यो किनकि त्यस समयमा धेरै युद्धहरू हुने गर्थे । अर्को छोरा बन्दव्यापार वा कृषि कर्म गर्थे भने एउटाले कुनै प्राविधिक शिक्षा लिने चलन थियो । जस्तोः सिकर्मी, डकर्मी, कुमाले आदि अनेक कामहरू बाँडेर गर्थे । कामको यही विभाजन समाजमा पनि थियो ।
वेदमा के छ ?
वेद संसारको प्रथम लिखित धर्म ग्रन्थ हो । संसारका जति पनि धर्म र त्यसका ग्रन्थहरू छन् ति सबैको मूख्य आधारमूलक जग भनेको वेद हो । संसारमा जति पनि धर्म, दर्शन, विचार र विज्ञानका पुस्तक छन् ती सबैको उत्पति आधार वेद हो । सबै किसिमका ज्ञानको जग भनेको वेद हो । सबै धर्मले वेदकै आधारमा धर्मशास्त्रको रचना गरेका छन् । वेद भगवानबाट ऋषिमुनिलाई सुनाएको ज्ञान भएकाले यसलाई श्रुति भनिएको हो । वेदमा पुरातन ज्ञान र विज्ञानको अथाह भण्डारण छ । वेद त्यस्तो ग्रन्थ हो जसले ज्ञान र विज्ञान हरेक विषयको जानकारी छ । वेदमा रहस्यमय ज्ञान, जडीबुटि, चमत्कार र आयुर्वेदको चर्चा छ । यहाँ बुझ्न आवश्यक छ वेदमा कसैको पनि इतिहास छैन र तन्त्रमन्त्र, छुवाछुत र बलिप्रथाको समेत व्याख्या छैन । जब सृष्टिको रचना भयो तब सृष्टिसँगै वेदको शब्दद्वारा सबै नाम अलग अलग निर्धारित गरियो र त्यसको संस्था पनि अलग–अलग निर्धारित गरियो ।
जब सृष्टिको रचना भयो तब वेदमा सबैका लागि नाम, तिनको कर्म, तिनको संस्थालाई अलग अलग बनाइयो जसबाट सबैले आफ्नो आफ्नो संस्था, नाम आदि अनुसार कर्म गर्ने ज्ञान प्रदान गरियो । वेदमा त्यो ज्ञान र शक्ति छ जुन सम्पूर्ण मानव जातिका लागि उपयोगी छ । यदि सबैलाई यसको राम्रो ज्ञान भयो र मानिसको कल्याणका लागि सबै प्रकारको ज्ञानको भण्डार छ । कुनै पनि कुरा यस्तो छैन जुन अछुतो रहेको होस् र यदि सबै यसको उचित ज्ञान लिन्छन् भने उनीहरूले दुख र अशान्तिबाट छुटकारा पाउन सक्ने ज्ञान वेदमा छ । वेदले प्राणीको कल्याणलाई सर्वोपरी मानेर मानवकल्याणको शिक्षा छ । वेदबाट साभार गरी अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । मुद्रणको व्यवस्था नभएकाले यिनको एकअर्का बाट सुनेर सम्झना राखिएकोे वैदिक कालको वाचिकरश्रुति, श्रवण परम्पराको अनुपम कृतिमूलक ज्ञान छ । मानवका हरेक समस्याको समाधान छ ।
वेद ब्रह्मा, देवता, ब्रह्माण्ड, ज्योतिष, खगोल, भूगोल, गणित, रसायन, औषधी, प्रकृति, धार्मिक नीति नियम, रीतिरिवाज र संस्कारहरु उल्लेख गरिएको छ । यो सबै विषयका ज्ञानले भरिएको ठूलो र पुरानो शास्त्र हो । शतपत ब्रहमनको श्लोक अनुसार अग्नि, वायु, र सूर्यले तपस्या गरेर ऋग्वेद, सामवेद यजुर्वेद र अथर्ववेद प्राप्त गरेका थिए रे । वेदका २८ हजार पाण्डुलिपि भएको आधारहरु भारतमा पुनाको पण्डालकर र रियन्टल रिसर्च इन्स्टिच्युटमा राखिएको छ । यी मध्ये ऋग्वेदका ३० पाण्डुलिपि लाई निकै महत्वपूर्ण मानिएको छ । जसलाई युनेस्कोले सम्पदासूचिमा समेत समावेश गरिएका प्रमाणहरु रहेका छन् । युनेस्कोले १८०० देखि १५०० इ.पू. का ३० पाण्डुलिपिलाई संस्कृत धरोहरको रूपमा राखेको छ । युनेस्कोको विश्वको १५८ सम्पदा मध्ये यी पाण्डुलिपिलाई ३८औं नम्बरमा राखेको पाइन्छ । यसमा मानवका सबै प्रकारको समस्याको समाधान छ ।
कर्मकाण्डमा वर्गीकरणमा वेद
वेदहरूको प्रधान लक्ष्य आध्यात्मिक ज्ञान दिनु हो । वेदमा कर्मकाण्ड र ज्ञानकाण्ड यिनी दुवै विषयहरूको सर्वाङगीण निरूपण गरिएको छ । वेदहरूको प्रारम्भिक भागमा कर्मकाण्ड छ । जुन अधिकारी वैदिक विद्वानहरू लाई यज्ञ गराउने यजमानद्वारा अधिकार प्राप्त हुन्छ । तिनलाई ‘ऋत्विक’ भन्छन् श्रौतयज्ञमा यिनी ऋत्विकको चार गण रहेका छन् ९१० होतृगण, ९२० अध्वर्युगण, ९३० उद्गातृगण तथा ९४० ब्रह्मगण उपर्युक्त चारै गणहरूको लागि उपयोगी मन्त्रहरूको संग्रहको अनुसार वेद चार भएका हुन्
वेद कसका लागी र किन ?
वेदको संहिताहरूको मंत्राक्षरहरूमा ठाडो तथा तेस्रो रेखाहरू लागाएर उनको उच्च, मध्यम, या मन्द संगीतमय स्वर उच्चारण गर्नको संकेत गरिएका छन् । इनको उदात्त, अनुदात्त र स्वारितको नामले अभिगित गरिएको छ । यो स्वर धेरै प्राचीन समय देखि प्रचलित हो र महामुनि पतञ्जलिले आफ्नो महाभाष्यमा यिनको मुख्य मुख्य नियमहरू समावेश गरेका छन् । वेदको असल मन्त्र भागको संहिता भन्छन् ऋग्वेदमा देवताहरूको आह्वान गर्ने मन्त्रहरू छन् । सामवेद यसमा यज्ञमा गाउनको लागि संगीतमय मन्त्रहरू छन् यो वेद मुख्यतः गन्धर्वहरूको लागि हो । यजुर्वेद यसमा यज्ञको असल प्रक्रियाको लागि गद्य मन्त्रहरू छन् । यो वेद मुख्यतः क्षेत्रीहरूको लागि हो । अथर्ववेद यसमा जादू, चमत्कार, आरोग्य, यज्ञको लागि मन्त्रहरू छन् । यो वेद मुख्यतः व्यापारीहरूको लागि हो । वेदसंग चार उपवेद छन् ती हुन् धनुर्वेद, गान्धर्ववेद, आयुर्वेद र अर्थवेद ।
वेदहरूको विभाजन
आधुनिक विचारधाराको अनुसार चारै वेदहरूको शब्द राशिको विस्तारमा तीन दृष्टिहरू छन् ती हुन् याज्ञिक, प्रायोगिक र साहित्यिक दृष्टि छन् । याज्ञिक दृष्टिः यसको अनुसार वेदोक्त यज्ञहरूको अनुष्ठान नै वेदको शब्दहरूको मुख्य उपयोग मानिएको छ । सृष्टिको आरम्भ देखि नै यज्ञ गर्नमा साधारणतया मन्त्रोच्चारणको शैली, मन्त्राक्षर एवम् कर्म र विधिमा विविधता छ । यस विविधताको कारण नै वेदहरूको शाखाहरूको विस्तार भएको हो । ऋग्वेदको २१ शाखा, यजुर्वेदको १०१ शाखा, सामवेदको १००० शाखा र अथर्ववेदको ९ शाखा( यस प्रकार कुल १,१३१ शाखाहरू छन् । यस संख्याको उल्लेख महर्षि पतञ्जलिले आफ्नो महाभाष्यमा पनि उल्लेख गरेका छन् । उपर्युक्त १,१३१ शाखाहरूमा भन्दा वर्तमानमा केवल १२ शाखाहरू नै मूलग्रन्थहरूमा उपलब्ध छ । ऋग्वेदको २१ शाखाहरू मध्ये केवल २ शाखाहरूको ग्रन्थ छ । ती शाखा हुन् शाकलशाखा र शांखायन, यजुर्वेदमा कृष्णयजुर्वेदको ८६ शाखाहरू मध्ये केवल ४ शाखाहरूको ग्रन्थ छ । ती शाखाहरु हुन् तैत्तिरीय, मैत्रायणीय, कठ र कपिष्ठल शाखा शुक्लयजुर्वेदको १५ शाखाहरूमध्ये केवल २ शाखाहरूको ग्रन्थ प्राप्त छन् । माध्यन्दिनीय, काण्व, सामवेदको १,००० शाखाहरू मध्ये केवल २ शाखाहरू छन् । ती हुन् कौथुम र जैमिनीय शाखा, अथर्ववेदको ९ शाखाहरू मध्ये केवल २ शाखाहरू छन् । ती हुन् शौनक र पैप्पलाद शाखा । उपर्युक्त १२ शाखाहरूमध्ये केवल ६ शाखाहरू छन् ती सबैबाट अध्ययन शैली प्राप्त हुनछ । ती शाखाहरु हुन् शाकल, तैत्तरीय, माध्यन्दिनी, काण्व, कौथुम तथा शौनक शाखा ।
वेदका दृष्टिहरु
प्रायोगिक दृष्टिः प्रत्येक शाखाको दुई भाग छन् । ती शाखाहरु यज्ञमा साक्षात प्रयोग आउँछन् । ब्राह्मण भाग जसमा विधि वा आज्ञाबोधक शब्द, कथा, आख्यायिका एवम् स्तुतिद्वारा यज्ञ गराउने प्रवृत्ति उत्पन्न गराउन, यज्ञानुष्ठान गर्ने पद्धति छ ।
साहित्यिक दृष्टि : शिक्षा, कल्प, व्याकरण, निरुक्त र ज्योतिष छन्द जसरी शरीरका लागि आंखा, कान, नाक, मुख हात, खुट्टा हुन्छन् । त्यसैगरी वेदका लागि ज्योतिष आँंखा, कान निरुक्त, मुख व्याकरण, हात कल्प, र गोडा छन्द हुन् ।। उच्चारणको सम्बन्धमा दिइएका उपदेश शिक्षा हुन् यज्ञयागादि कर्म सम्बन्धी उपदेश कल्प हुन् । शब्दहरुका बारेमा गरिएका विचार व्याकरण हुन् शब्दको व्युत्पत्ति र अर्थका बारेमा गरिएका विचार निरुक्त हुन् । यज्ञयागादि गर्नलागि ठीक समयको बारेमा गरिएका विचार ज्योतिष हुन् । काव्यमा अक्षर र विराम बारेको ज्ञानलाई छन्द भनिन्छ । वेदहरूको सर्वांगीण अनुशीलनको लागि उपांग ग्रन्थ हो । अन्य प्रतिपदसूत्र, अनुपद, छन्दोभाषा वा प्रातिशाख्य, धर्मशास्त्र, न्याय तथा वैशेषिक गरी यो ६ उपांग ग्रन्थ हुन् । ज्ञानामृतम वेद, अरण्य उपवेदलाई वेदका अंग मानिन्छ । वेदको समुचित ज्ञानका लागि उपनिषद्, स्मृति, ब्राह्मण ग्रन्थ जस्तै उपवेदहरुको आवश्यकता पर्छ । उदाहरणका लागि गान्धर्ववेदको ज्ञान बिना सामवेदलाई बुझ्न सकिंदैन । किनभने सामवेद भनेको संगीत वेद हो । चार वेदका चार उपवेद हुन्छन् । यी उपवेद पनि वेदका अंग मानिन्छन् । ती चार उपवेद हुन् धनुर्वेद, गान्धर्ववेद, आयुर्वेद र अर्थवेद ।
उपवेद कति र के छ ?
चारै वेदहरूको उपवेद यस प्रकार बताएका छन् आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद र स्थापत्यवेद भनेका छन् । जहाँ यी वेदमा यी आधारहरु रहेका छन् जुन यसरी उल्लेख गरिएको छ ।
धनुर्वेद : धनुर्वेदलाई यजुर्वेदको उपवेद भनिन्छ । धनुर्वेद नामले विभिन्न रचनाकारका ग्रन्थ छन् । जुन विश्वामित्र रचित धनुर्वेदका चार पाद छन् । पहिले दीक्षा पाद दोस्रो संग्रह पाद, तेस्रो सिद्ध पाद चौथो प्रयोग पाद । वैशम्पायनको रचित धनुर्वेदमा तरवार चलाउन सिकाइएको छ । शिवजीले रचना गरी धनुर्वेद जसमा ६० हजार श्लोक छन् । भनिएको छ । द्रोणाचार्यले रचना गरेको धनुष प्रदीप नाम गरेको ग्रन्थमा ७ हजार श्लोक छन् । परशुरामले रचना गरेको धनुष चन्द्रोदय नाम गरेको ग्रन्थमा ६० हजार श्लोक छन् । यी ग्रन्थहरुमा विभिन्न प्रकारका धनुष र बाण बनाउने र त्यसको प्रयोग विधि व्याख्या गरिएको छ ।
गान्धर्ववेद : गान्धर्ववेद सामवेदको उपवेद हो । अन्य उपवेदका बारेमा विभिन्न विवाद छन् । तर यस उपवेदको बारेमा कुनै विवाद छैन र सबैले यसलाई एक स्वरले सामवेदको उपवेद स्वीकार गरेका छन् । सामवेद सांगीतिक वेद हो । सामवेदको वाष्र्णेय शाखाको उपवेद नै गान्धर्ववेद हो । यसका एक लाख ऋचाहरु रहेका छन् । जुन चौध प्रकरण वा काण्डमा विभाजन गरिएका छन् । संगीत रत्नाकर पनि उपवेद हो । यसका रचनाकार वामदेव महर्षि हुन् । यसमा २० हजार श्लोक रहेका छन् । गान्धर्व वेदका चार आचार्य प्रसिद्ध छन् । ती हुन् सोमेश्वर, भरत, हनुमत र मल्लिनाथ ।
आयुर्वेद : आयुर्वेदलाई ऋग्वेदको उपवेद भनिएको छ । तर सुश्रुत संहितामा यसलाई अथर्ववेदको उपवेद भनिएको छ । चरकले चार वेदमध्ये अथर्ववेदसंग आयुर्वेद विशेष सम्बन्धित रहेको भनेका छन् । सुश्रुतका अनुसार ब्रह्माजीले एक लाख श्लोकको आयुर्वेद रचना गरेका थिए । यसमा एकसय अध्याय छन् । जसलाई प्रजापतिले त्यसलाई ग्रहण गरेपछि प्रजापतिले त्यसलाई अश्विनी कुमारलाई हस्तान्तरण गरेका थिए । अश्विनी कुमारले इन्द्रलाई र इन्द्रदेवले महर्षि धन्वन्तरीलाई हस्तान्तरण गरेको पाइन्छ । धन्वन्तरीले सुश्रुतलाई दिएका हुन् । सुश्रुत संहिताको सबभन्दा पुरानो पाण्डुलिपि नेपालमा पनि सुरक्षित रहेको बताइन्छ । ब्रह्मारचित आयुर्वेद आठ भागमा विभाजन गरिएको छ– ती हुन् शल्यतन्त्र, शालाक्यतन्त्र, कायचिकित्सा तन्त्र, भूतविद्या तन्त्र, कौमारभृत्य तन्त्र, भगद्तन्त्र, रसायनतन्त्र, वाजीकरण तन्त्र ।
अर्थवेद : कुनै ग्रन्थमा अर्थवेदलाई ऋग्वेदको र कुनैमा अथर्ववेदको उपवेद भनिएको छ । आज अर्थशास्त्र नामको एक स्वतन्त्र ग्रन्थ पाइन्छ । आधुनिक अर्थशास्त्रका ग्रन्थ उपलब्ध यसमा रहेका छन् । तर अर्थवेद नामको कुनै स्वतन्त्र ग्रन्थ उपलब्ध भने छैन । पं.धनराज शास्त्रीले अर्थवेदका चार ठूला र दुइ साना ग्रन्थको उल्लेख गरेका छन् ।
स्थापत्य वेद : स्थापत्य वेद भनेको आजको वास्तु शास्त्र हो । यसमा शहर तथा बजार र गाउँका घर एवम् भवन निर्माणका नीति नियम, विधि र प्रक्रियाहरुको व्याख्या गरिएको छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भएको पाइन्छ । आधुनिक प्रविधी इञ्जिनीयरिंङ, र आर्कीटेक्चर लगायतका क्षेत्रमा यस उपवेदको विकासबाट भएको हो ।
अर्थशास्त्र वा अर्थवेद : रामदास गौडका अनुसार, अर्थशास्त्र अथवा अर्थवेद एक उपवेद हो । यो अथर्ववेद अन्तर्गत पर्दछ र यसमा अर्थशास्त्र सम्बन्धी सम्पूण साहित्य समावेश छ ।
सन्दर्भसामग्री
अधिकारी, एकराज (२६, पौष २०७१), वेदको महत्व, नयाँयुगबोध राष्ट्रिय दैनिक
गौड वेदाचार्य, श्रीदौलतराम (२०६८), शुक्लयजूर्वेद संहिता, सम्पादक ठाकुरप्रसाद पुस्तकभन्डार,
कचौलीगढी, वाराणसी, भारत ।
नागरिकन्युज डटकम (१२, फाल्गुण २०७५), वेदमा के छ ? वेद हिन्दूकर्मकाण्ड वैदिक साहित्य वैदिक
काल हिन्दूग्रन्थ, काठमाडौं ।
भट्टराई, तुलसीराम, उपाध्याय, उद्धवदेव,(२०७५), चारवेद, अनुवादक, मधुवन प्रकाशन, पुतलीसडक, काठमाडौं ।
लुइटेल, तिलकप्रसाद (२०७८, दो.सं), ऋग्वेद, सामवेद, अर्थववेद र सामवेद, अनुवादक, विद्यार्थी, पुस्तक
भन्डार भोटाहिटी, काठमान्डौं ।
शर्मा एकराज (२०७६), विश्वका सबै धर्मग्रन्थका पिता भनेर वेदलाई किन भनिन्छ, फागुन, १४ बुधबार
कुशेन्यूज डटकम, नेपालगञ्ज ।
शर्मा, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस, पाठ्यक्रम तथा मूल्याङ्कन विषयका उपप्राध्यापक, लेखक तथा युवा पन्डित हुन् ।
प्रतिक्रिया दिनुहोस्