प्रचण्ड गर्मीमा कोहलपुर नगर परिसरमा सौन्दर्यता !

कोहलपुर ।

कोहलपुर नगरपालिकाको नगर परिसरमा प्रचण्ड गर्मीमा पनि सुन्दर छ । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको निर्वाचन पश्चात नगर परिसरमा अहिले प्रचण्ड गर्मीमा पनि सुन्दर देखिन्छ ।

नगर परिसरमा लाउरे फूल, लालुपाते फूल, डेन्ठस फूल, कन्डोला फूल, कलन्चु फूल, सिँगापुरे फूल, हजारी फुल, भर्मेना फूल, गजनिया फूल, पिटनिया फूल, साल्बीया फूल लगायत फूलहरु रहेका छन् ।

नगर प्रमुख आचार्यले नगरलाई हरित बनाउने योजनामा लागेको बताए । ‘कोहलपुर ११ साझा चोकदेखि हाइस्कुलसम्मको विचको भागमा ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा रुख तथा फूलहरु रोपिनेछ,’ उनले भने, ‘जसले कोहलपुरको हरित देखिने छ ।’

कोहलपुर नगरक्षेत्र भित्र लगाइएका विरुवाको गोडमेल गर्ने र सिँचाईको व्यवस्थापन गर्ने पूर्ण जिम्मा नगर प्रहरीलाई दिइएको नगर प्रमुख आचार्यले बताए ।

यस्तै कोहलपुर प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले हरित कोहलपुर बनाउन नगरका सुझाव संकलन गरी काम अगाडि बढाइएको बताए ।

‘कुन स्थानमा कुन विरुवा लगाउने भन्ने बारेमा स्थानियहरुको सुझाव लिन्छौं ?,’ उनले भने, ‘ती सुझावहरुबाट आएका विरुवाहरुको बारेमा विज्ञहरुसंग छलफल गर्छौ ।’ विरुवा खरिद गर्दा घटिघटाउमा जसले कम मुल्यमा दिन्छ सोही अनुसार विरुवा खरिद गर्ने गरेको ढकालले बताए ।

यस्तै कोहलपुर नगरपालिका नगर प्रहरी प्रमुख विर बहादुर थापाले स्वच्छ, सफा र हरित नगर बनाउन दिनरात लागेको बताए ।

‘कोहलपुरका १५ वटा वडामा स्वच्छ, सफा र हरित नगर बनाउने अभियान निरन्तर चलिरहेको छ,’ उनले भने, ‘अहिले पनि हरेक विहान र साँझा सिचाई, विज्ञ मालीले गोडमेल, तारजालीले घेरबार र संरक्षण गरिरहेका छौं ।’

नगरबासीहरुले स्वच्छ, सफा र हरित नगर बनाउन सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको नगर प्रहरी प्रमुख थापाले बताए ।