नेपाली सेनाका धावक खड्गबहादुर खड्काले आठौं धारा नेपालगन्जको उपाधि जिते

नेपालगन्ज ।
नेपाली सेनाका धावक खड्गबहादुर खड्काले आठौं धारा नेपालगन्जको उपाधि जितेका छन्।
नेपालगन्जमा शनिबार आयोजना गरिएको प्रतियोगितामा धावक खड्काले २ घण्टा २० मिनेट २९ सेकेन्डमा ४२.१९५ किलोमिटरको दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्। म्याराथन विजेता खड्काले १ लाख ५० हजार रुपैयाँ र प्रमाणपत्र पाए।

सेनाका खेलाडीद्वय नरेन्द्र रावतले २ घण्टा २२ मिनेट ३० सेकेन्डमा दूरी पार गरेर दोस्रो र मोहनदेव जोशीले २ घण्टा २४ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो भएका थिए। २ घण्टा ४१ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गर्दै कमलराज तिमिल्सैना चौथो भए। दोस्रो भएका खड्काले ६० हजार, तेस्रो भएका जोशीले ३० हजार र चौथो भएका तिमिल्सैनाले २५ हजार रुपैयाँ पाए।

पाँचौं रैवत दाहाल, छैटौं यामदेव राई, सातौं बाल सुनार र आठौं स्थानमा विकास यादव यादव आएका थिए। पाँचौ, छैटौं, सातौं र आठौंलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ६ हजार रुपैयाँ प्रदान गरिएको थियो।महिलातर्फ हाफ म्याराथनमा सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले उपाधि जितिन्। उनको यो लगातार दोस्रो उपाधि हो। २१ किलोमिटरको दूरी श्रेष्ठले एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा पूरा गरेर प्रथम भएकी हुन्। भारत देहरादूनकी अञ्जली चौहानले एक घण्टा २५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र एक घण्टा ३६ मिनेट ४४ सेकेण्डमा दूरी पूरा गरेर अञ्जु खड्का तेस्रो भइन्। बिन्दु हमाल चौथो, संगीता विष्ट पाँचौं, यमुना थापा छैटौं, सीता गुरुङ सातौं भए। हाफ म्याराथनमा प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार र सातौंलाई ६ हजार रुपैयाँ प्र्रदान गरियो।

१० किलोमिटर पुरुष खुला दौडमा मुकेशबहादुर पाल प्रथम, भुवन राना दोस्रो र सुशील रामजाली मगर तेस्रो भए। उनीहरूले क्रमशल् ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पाए। ५ किलोमिटर महिला खुल्लामा राजपुरा पछाइ प्रथम, राममाया बुढा दोस्रो र विमला कार्की तेस्रो भए। उनीहरूलाई क्रमशः २० हजार, १० हजार र ७ हजार रुपैयाँ दिइयो।