काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्रिकेट टोलीमा गरेको परिवर्तनले नेपाली क्रिकेटमा सबैलाई मौका दिनुपर्छ भन्ने बलियो सन्देश दिएको बताएका छन्।
मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि भारत जाने क्रिकेट टोलीलाई बिदाइ गर्दै सचिव खड्काले यस्तो बताएका हुन्।
उनले भने ‘क्यानले टोलीमा गरेको परिवर्तनले खेलाडीहरुको करिअर सक्काउन खोजेका होइनौं, हामीले नेपाली क्रिकेटमा सबैलाई मौका दिनुपर्छ भन्ने बलियो सन्देश दिन खोजेका हौं।’
यस्तै, सचिव खड्काले नेपाली टोलीले प्ले अफ खेलेर शीर्ष चारमा रहनेमा विश्वास व्यक्त गरे। उनले भने– ‘ अहिले सम्मको प्रदर्शन त्यति सन्तोषजनक हुन सकेन, अब बाँकी चार खेलपछि सम्भवत हामीले प्ले अफ खेल्नेछौँ र त्यसमा शीर्ष चारमा रहन सक्छौँ।’
टी–२० र ओडीआईका लागि छुट्टाछुट्टै कप्तान बनाइएको जनाउँदै खड्काले एसीसी प्रिमियर कप एसिया कपका लागि महत्वपूर्ण प्रतियोगिता रहेको भन्दै छनोट गरिएका खेलाडीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन दिनेमा आफू विश्वस्त रहेको बताए।
उनले भने–‘टी–२० र ओडीआईका लागि छुट्टाछुट्टै कप्तान छन् र ‘ए’ टीम पनि अष्ट्रेलिया जाँदैछ। एसीसी प्रिमियर कप एसिया कपका लागि महत्वपूर्ण प्रतियोगिता हो। त्यसलाई मध्येनजर गर्दै जुन खेलाडीहरु छनोट गरिएको उनीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछन्। यदि नेपालले जितेन भने टीम र क्यान अस्तित्वमा रहँदैन। ओडीआई मान्यताभन्दा माथि उठेर खेलाडीहरुलाई प्रोत्साहन तथा साथ सहयोगका लागि क्यान प्रतिवद्ध छ।’
यस्तै कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई पहिचान गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए । टोलीमा अनुभवी खेलाडी र युवाको उत्कृष्ट मिश्रण रहेकाले आगामी समय निकै रोमाञ्चक हुने उनले बताए ।
उनले विगतलाई पछाडि छोडेर प्राप्त आलोचनाहरूलाई ग्रहण गर्दै त्यसको उचित जवाफ मैदानमा उत्कृष्ट प्रदर्शन गरेरै दिने प्रतिबद्धता जनाए ।
त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले विश्वकप लिग–२ बाट पहिचान गरिएका कमजोरीहरूलाई सुधार गर्न र नयाँ योजनाहरू खेलाडीहरूमा विकास गर्न भारतमा गहन अभ्यास गरिने बताए । मलेसियाको पिच ‘कम गति र स्पिनरलाई मद्दत पुग्ने’ खालको रहेकाले नेपाली टोलीको स्पिनलाई थप फाइदा पुग्ने उनको विश्वास छ।
नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट नै एसीसी प्रिमियर कप खेल्न मलेसिया जानेछन्। एसीसी प्रिमियर कप अगस्ट ३० देखि मलेसियामा सुरु हुदैछ । प्रतियोगिता खेल्ने नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।
नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ मा हङकङसँग खेल्नेछ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्