प्रथम प्रदेशसभा कप कोहलपुरमा, यू–१६ फुटबल प्रतियोगिताकाे प्रथम ५ लाख पुरस्कार




कोहलपुर । लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको कोहलपुरमा पहिलो पटक “प्रदेशसभा कप फुटबल प्रतियोगिता” सञ्चालन हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जको आयोजनामा जेठ १ गतेदेखि “प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नं. १ (ख) अन्तर माध्यमिक विद्यालय यू–१६ फुटबल प्रतियोगिता” आयोजना हुन लागेको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीको पहलमा आयोजना हुन लागेको प्रतियोगिताको समन्वय नेपाल शिक्षक महासंघ कोहलपुर र राप्तीसोनारीले गर्ने जनाइएको छ । बिहीबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको हो ।

प्रतियोगितामा बाँके क्षेत्र नं. १ (ख) अन्तर्गतका कोहलपुर नगरपालिका तथा राप्तीसोनारी गाउँपालिका वडा नं. ८ र ९ भित्र रहेका ३६ वटा विद्यालयहरूको सहभागिता रहने नेपाल शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम बहादुर थापाले  जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ, द्वितीय हुने टोलीलाई ३ लाख रुपैयाँ तथा तृतीय हुने टोलीलाई २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । खेलहरू कृष्ण माध्यमिक विद्यालय तथा गोरखा युनाइटेड पब्लिक स्कुल को खेल मैदानमा सञ्चालन हुनेछन् । हरेक दिन बिहान र बेलुका दुई-दुई खेल आयोजना गरिने सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्माले बताए ।

प्रतियोगितामा सहभागी खेलाडीहरूको खेल अवधिभर प्रतिव्यक्ति १ लाख रुपैयाँ बराबरको बीमा गरिने आयोजकले जनाएको छ । सहभागी खेलाडी २०६७ साल वैशाख २८ गतेपछि र २०७० साल वैशाख २८ गतेअघि जन्मिएका हुनुपर्ने र माध्यमिक तहमा अध्ययनरत २०८२ सालको विद्यालय IEMIS मा दर्ता भएका तथा १३ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन दुर्गा प्रसाद चौधरीले गर्ने कार्यक्रम रहेको छ भने उद्घाटन तथा समापन कार्यक्रम कृष्ण माध्यमिक विद्यालय, कौशिलानगरको खेल मैदानमा सम्पन्न हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार