अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शितगंगा नगरपालिका–२ भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार यात्रु १६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको छ ।
सुपा देउराली मन्दिर दर्शनका लागि सुनवलबाट आएको बस दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएपछि अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज, भैरहवा पठाइएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्