१५ वर्षपछि सुर्खेतको वीरेन्द्र चोकमा पुर्वराजाको सालिक

सुर्खेत

१५ वर्षपछि सुर्खेतको वीरेन्द्रनगरमा रहेको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको  सालिका राखिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समुहले बिहीबार उक्त सालिक राखेको हो । पुर्वराजा शाहको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको उक्त समुहले जनाएको छ ।

उक्त चोकमा पुर्वराजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२/०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनः निर्माण गरेपनि सालिक भने राखेको थिएन । पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद चल्दै आएको थियो ।

यो चोक वीरेन्द्रनगरको मुख्य चोकसमेत हो। तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उनले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको गुरुयोजना बनाउन लगाएका थिए। २०४४ सालमा राजा वीरेन्द्रका दाम्पत्ति नै सुर्खेत पुगेर वीरेन्द्रको शालिक राखेर बनाइएको यो चोक अनावरण गरेका थिए।

त्यसबेला नै यो चोकको नाम वीरेन्द्र चोक राखिएको हो। राजा वीरेन्द्र २०२३ सालमा पहिलो पटक सुर्खेत आएका थिए। उनलाई उपत्यका खुब मन परेकाले २०२९ सालमा गुरुयोजना बनाउन लगाएका थिए। त्यतिबेलासम्म कटकुवा नगर पञ्चायतका रुपमा रहेको यो उपत्यकालाई त्यसैबेला वीरेन्द्र चोक नामाकरण गरिएको थियो।