डोटीमा कैदीबन्दीहरुलाई कम्प्युटर तालिम

डोटी । डोटी जिल्ला कारागारका कैदीबन्दीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ ।

डोटी कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीका अनुसार कारागारमा रहेका १२ जना कैदीबन्दीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग कार्यालय डोटीको प्राविधिक सहयोगमा उक्त तालिम प्रदान गर्न लागिएको हो ।

तालिमका लागि मन्त्रालयले चार लाख रुपैयाँ दिएको कारागार प्रमुख बोगटीले वताए । यसअघि कैदीबन्दीहरुका लागि हाउस वायरिङ तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख दीपेन्द्र शाहले बताए ।

उनले भने ‘डोटीमा रहेको बाल सुधार गृहमा रहेका १० जनालाई पनि हाउस वायरिङ तालिम सम्पन्न भएको छ ।’

आधारभूत कम्प्युटर तालिमको उद्घाटन गर्दै प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले मन लगाएर सीप सिक्न कैदीबन्दीहरुलाई आग्रह गरिन् ।