गुणस्तरीय शिक्षा हाम्रो प्राथमिकता हो : अध्यक्ष पौडेल

कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गुणस्तरीय शिक्षा पालिकाको प्राथमिकता भएको बताएका छन् ।

राप्तीसोनारी गाउँपालिका–२ मदुइस्थित लक्ष्मी माध्यामिक विद्यालयको ६४औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्वोधन गर्दै उनले प्रतिस्पर्धाको युगमा गुणस्तरीय शिक्षाको विकल्प नभएको बताए ।

उनले राप्तीसोनारी गाउँपालिकाले शैक्षिक सुधारका निमित्त सामुदायिक विद्यालयमा ठूलो लगानी गरेको उल्लेख गर्दै प्रतिफल दिने गरी शिक्षाको गुणस्तर सुधार हुनुपर्नेमा जोड दिए । ‘पालिकाले शैक्षिक गुणस्तर सुधारका लागि प्राथमिकताका साथ काम गरिरहेको छ,’ उनले भने, ‘त्यसको नतिजा विद्यालयले दिनु पर्छ ।’

नेपाल सरकारबाट प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको अनुमति पाएसँगै नमूना विद्यालयका रुपमा रहेको लक्ष्मी माविले थालेको बालिविज्ञानको पढाई प्रभावकारी भएको उनको भनाइ छ ।

‘वार्षिकोत्सवमा विद्यार्थीहरुको केही प्रदर्शन हेरियो,’ उनले भने, ‘यसले के पुष्टि गर्छ ? भने बालबालिकाहरुमा प्राविधिक धारको पढाईले भोलिको सम्भावना देखाउँछ, यो श्रम बजारमा विक्ने सीप हो ।’

यसलाई अझ परिस्कृत र समयानुकूल बनाउनु पर्छ र सामुदायिक विद्यालयमा प्राविधिक धारको शिक्षालाई प्राथमिकताका साथ लैजानु पर्नेमा पालिका अध्यक्ष पौडेलले जोड दिएका थिए । उनले त्यसका लागि स्थानीय सरकारले गर्नुपर्ने सहयोगमा प्रतिबद्धता जनाए ।

लक्ष्मी माविमा अहिले कक्षा ९ देखि १२ सम्म बालिविज्ञान पढाई भइरहेको छ । देश विकासमा आवश्यक पर्ने प्राविधिक जनशक्तिको विकास लागि न्यून आय भएका र प्राविधिक शिक्षामा पहुँच नभएका विद्यार्थीहरुको पहुँच स्थापनाका लागि २०७६ सालदेखि प्राविधिक धार अन्तर्गत कृषि विषयको (बालि विज्ञान) कक्षा संचालन भइरहेको विद्यालयका प्राचार्य लक्ष्मण प्रसाद आचार्यले बताए ।

उनले प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीको संख्या १ सय ११ रहेको जानकारी दिँदै यसलाई अझै व्यवस्थित र प्रभावकारी गराउँदै लगिएको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका प्रवक्ता मिनराज खड्का, पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जीवन न्यौपाने, पालिकाका खेलकुद विकास समिति संयोजक तेज बहादुर सुवेदी, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकारहरु पवन कुमार शाह, पूर्व प्रअ केशव कुमार पौडेल, रुद्र बहादुर डाँगी र मदन कुमार वली लगायत सामुदायिक वनका अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, स्थानीय बुद्धिजीवि, नागरिक समाज, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका सह-प्रधानाध्यापक डिल्ली डाँगीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो कलासंस्कृति प्रदर्शन समेत गरेका थिए ।