कोहलपुर । जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाका विभिन्न वडामा सञ्चालन भइरहेको ‘सम्वद्र्धन’ परियोजनाअन्तर्गत कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको छ ।
बिहिबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा भएको लेखापरीक्षण कार्यक्रममा सम्बर्धन परियोजनाका गतिविधिहरुलाई प्रर्दशन गर्दै आफ्नो सार्वजनिक लेखापरीक्षण समेत सार्वजनिक गरेको थियो ।
कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण आचार्यले हालसम्मका कार्यक्रमबाट सामुदायिक वन उपभोक्ता समूहहरू दिगो वन व्यवस्थापनमा सक्रिय भएको बताउँदै कृषक समूहहरू जलवायु तथा वन्यजन्तुमैत्री कृषि अभ्यासमा जोडिएको बताए ।
स्थानीय तहमा वन तथा जैविक विविधतासम्बन्धी नीति तथा योजना निर्माणमा सहयोग पुगेको छ भने वातावरण संरक्षणसम्बन्धी ज्ञान र चेतनाको विस्तार भएको बताए ।
कोहलपुर नगरपालिकाको कृषि शाखाबाट ५ जनाको जनशक्तिबाट पालिका भरी नै कार्यक्षेत्र भएकोले सोही अनुसार काम हुन नसकेको भन्दै परियोजनाले पालिका पुग्न नसकेको स्थानमा समेत पुगेकोमा धन्यवाद व्यक्त गरेका थिए भने आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तरता दिनेमा विश्वास व्यक्त गरे ।
यस्तै कोहलपुर नगरपालिका नगर प्रमुख प्रमुख विर बहादुर थापाले वातावरण संरक्षणमा निकै ठुलो सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए । यो परियोजनाले सोचेभन्दा निकै उत्कृष्ट काम गरेको छ आगामी दिनमा समेत यसले अझै प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।
यस्तै सामाजिक विकास शााखका प्रमुख विर बहादुर विकका अनुसार किसानहरुले उत्पादन गरेको बस्तुलाई बजारीकरण समेत हुने गरी यो परियोजनाले काम गर्न सुझाव दिएका थिए । उनले भने समूह दर्ता हुनुहुन्छ, खेती समेत उव्जनी गर्नुहुन्छ तर बजारीकरण नहुँदा समस्यामा पर्ने अति जोखिम हुन्छ त्यसैले जोखिम कम गर्नका लागि परियोजनाबाट हुन सक्ने काम गर्नका लागि अनुरोध समेत गरेका थिए ।
यस्तै गड्यौला मल उत्पादक किसान थल बहादुर खड्काले परियोजनाले आफ्नो जिविकोपार्जनमा निकै ठुलो सहयोग गरेको बताए । नगरपालिकाबाट दिएको अनुदानमा मुल्याकंन पछि रकम कम हुने भएकोले काम गर्न समस्या भएको भन्दै गुनासो समेत गरेका थिए ।
सम्बर्धन परियोजनाले प्रत्यक्ष लाभग्राही संरचनामा ५० वटा सामुदायिक वन उपभोक्ता समूह, २० वटा कृषक समूह, १० वटा विद्यालय र २१ वटा उद्यम समेटिएका छन् । जसमा कोहलपुर नगरपालिकामा ७ वटा सामुदायिक वन उपभोक्ता समूह, ३ वटा कृषक समूह, २ वटा विद्यालय र ५ वटा उद्यम समेटिएका छन् ।
परियोजनाले सामुदायिक वन, कृषक समूह, विद्यालय, उद्यम, महिला, युवा तथा स्थानीय सरकारलाई जोडेर वन संरक्षण, जलवायु अनुकूल कृषि, आयआर्जन, रोजगारी सिर्जना र नीतिगत पैरवीका कार्यक्रम अघि बढाएको छ ।
‘सम्वद्र्धन’ नामक परियोजना लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको छ । परियोजनाको अवधि सेप्टेम्बर २०२३ देखि अगस्ट २०२७ सम्म रहेको छ भने समग्र परियोजनाको बजेट १४ करोड २८ लाख २५ हजार ८०१ रुपैयाँ (EURO १,१११,१११) रहेको छ । परियोजनालाई युरोपियन युनियन, अस्ट्रियन विकास नियोग र आड्रा लगायतका दातृ निकायको सहयोग रहेको छ। परियोजना सञ्चालनमा ANSAB नेपाल, BEE Group र FECOFUN लगायतका साझेदार संस्था रहेका छन् ।
परियोजनाको मुख्य लक्ष्य जैविक विविधता संरक्षणमार्फत उत्थानशील समुदाय निर्माण गर्नु रहेको छ भने नागरिक समाजका संस्थाको क्षमता अभिवृद्धि, समुदायमा आधारित व्यवसायको विकास तथा नीतिगत पैरवीलाई सहायक क्षेत्रका रूपमा अघि बढाइएको छ । कोहलपुर नगरपालिकाका वडा नम्बर १, २, ७, ८, ११, १२ र १३ परियोजनाको कार्यक्षेत्रमा समेटिएका छन् ।
परियोजनाको समग्र कार्यक्षेत्रमा ५० वटा सामुदायिक वन उपभोक्ता समूह, २० वटा कृषक समूह, १० वटा विद्यालय र २१ वटा उद्यम प्रत्यक्ष कार्यक्रमसँग जोडिएका छन् । प्रत्यक्ष लाभग्राहीको संख्या करिब ११ हजार २०० रहेको विवरणमा उल्लेख छ । कोहलपुरमा मात्रै ७ सामुदायिक वन उपभोक्ता समूह, ३ कृषक समूह, २ विद्यालय र ५ उद्यम परियोजनासँग प्रत्यक्ष जोडिएका छन् ।
कोहलपुरमा परियोजनासँग जोडिएका सात सामुदायिक वन उपभोक्ता समूहमा ज्योति, सिद्धिविनायक ग्रामीण, बागेश्वरी, हरियाली, विन्ध्यवासिनी, रक्षा मध्यवर्ती र सूर्यवली मध्यवर्ती सामुदायिक वन रहेका छन्। यी समूहमा गरी १ हजार ३३४ घरधुरी आबद्ध छन् ।
त्यस्तै वातावरणमैत्री कृषक समूह कोहलपुर–२, नमुना कृषक समूह र ऊर्जाशील कृषक समूह कोहलपुर–१३ मा परियोजनाले कार्यक्रम सञ्चालन गरेको छ । यी तीन कृषक समूहमा गरी ६७ घरधुरी आबद्ध रहेको उल्लेख छ । विद्यालयतर्फ बाल शिक्षा माध्यमिक विद्यालय कोहलपुर–१३, भरैया र श्री राष्ट्रिय माध्यमिक विद्यालय कोहलपुर–१२, खड्कवारलाई कार्यक्रममा समेटिएको छ ।
परियोजनाअन्तर्गत कोहलपुरमा विभिन्न सामुदायिक संस्था तथा उद्यमलाई लाखौँ रुपैयाँ अनुदानसमेत प्रदान गरिएको छ। सिद्धिविनायक ग्रामीण सामुदायिक वन उपभोक्ता समूहलाई पार्क सुधार तथा पर्यटन उद्यमका लागि २० लाख रुपैयाँ, खड्कवार नमुना सामुदायिक होमस्टेलाई पूर्वाधार तथा गार्डेन निर्माणका लागि ६ लाख ८६ हजार ५०० रुपैयाँ, थापा कृषि तथा नर्सरी फार्मलाई सयपत्री फूल तथा तरकारी बेर्ना उत्पादनका लागि ४ लाख ५३ हजार ५०० रुपैयाँ, जनता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहलाई शक्ति च्याउ उत्पादनका लागि ७ लाख ७० हजार रुपैयाँ र प्रज्वल पशुपंक्षी तथा कृषि फार्मलाई जैविक तथा गड्यौले मलसम्बन्धी कार्यक्रमका लागि ७ लाख रुपैयाँ अनुदान दिइएको छ । यी पाँच कार्यक्रमका लागि कुल ४६ लाख १० हजार रुपैयाँ अनुदान देखाइएको छ ।
परियोजनाले सामुदायिक वन उपभोक्ता समूहलाई राष्ट्रिय वन संरक्षण मापदण्ड (NFSS) अनुसार दिगो वन व्यवस्थापनमा सक्रिय बनाउने, कृषक समूहलाई जलवायु तथा वन्यजन्तुमैत्री कृषि अभ्यासमा जोड्ने, प्राकृतिक स्रोत तथा पारिस्थितिक प्रणालीबाट हरित रोजगारी सिर्जना गर्ने तथा स्थानीय तहमा वन तथा जैविक विविधतासम्बन्धी नीति, निर्देशिका र योजना निर्माणमा सहयोग गर्ने लक्ष्य राखेको छ ।
सामुदायिक वन उपभोक्ता समूहको संस्थागत विकास तथा सुशासनका लागि क्षमता अभिवृद्धि, दिगो वन व्यवस्थापन योजना निर्माण तथा वातावरण व्यवस्थापनसम्बन्धी गतिविधिमा समेत बजेट खर्च गरिएको छ । वनमा लाग्ने डढेलो तथा अन्य प्रकोप नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम र सामुदायिक वन तथा कृषक समूहमा लैंगिक रूपान्तरणका लागि सहयोग गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
कृषितर्फ परियोजनाले जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमलाई ध्यानमा राखेर कृषि प्रणाली विकास गर्ने कार्यक्रम अघि बढाएको छ । कृषक समूहको गठन, पहिचान तथा संस्थागत विकास, जलवायु तथा वन्यजन्तु प्रतिरोधी कृषि अभ्यासका लागि क्षमता अभिवृद्धि र जलवायु अनुकूल कृषि प्रविधिको प्रवद्र्धनमा बजेट खर्च गरिएको छ । तीन कृषक समूहका लागि संस्थागत विकासतर्फ मात्रै कुल २ लाख २७ हजार ७०० रुपैयाँ बराबरको कार्यक्रम रहेका छन् ।
परियोजनाले कृषि, वन तथा पारिस्थितिक सेवामा आधारित सम्भावित व्यवसाय पहिचान, व्यवसाय योजना निर्माण, व्यवसायीको क्षमता विकास, तेस्रो पक्षीय वित्तीय सहयोग तथा बजारिकरणमा समेत सहजीकरण गर्ने कार्यक्रम सञ्चालन गरेको छ। यसको उद्देश्य प्राकृतिक स्रोत संरक्षणसँगै समुदायमा आधारित उद्यम र हरित रोजगारी विस्तार गर्नु रहेको छ ।
परियोजनासँग जोडिएको कृषि तथा नर्सरी गतिविधिमा १४ कठ्ठा खेती क्षेत्र रहेको र वार्षिक करिब १ हजार ६२५ किलो सयपत्री फूल तथा ४० टन गड्यौले मल उत्पादन हुने विवरण सार्वजनिक गरिएको छ। यसको मुख्य बजार बाँके, बर्दिया, दाङ र सुर्खेत रहेका छन् । फर्मको आम्दानी आर्थिक वर्ष २०७९÷८० मा ६ लाख रुपैयाँ, २०८०÷८१ मा ९ लाख रुपैयाँ र २०८१÷८२ मा ११ लाख १० हजार रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
परियोजनाबाट गड्यौले मल उत्पादनका लागि नयाँ प्रविधि, बीउ उत्पादन, थोपा सिँचाइ र प्लास्टिक मल्चिङजस्ता प्रविधि प्रयोगमा सहयोग पुगेको उल्लेख छ । हालसम्म करिब ८२ हजार रुपैयाँ बराबरको गड्यौले मल बिक्री भएको र त्यसबाट एक जनाका लागि रोजगारी सिर्जना भएको परियोजनाको प्रस्तुतीकरणमा उल्लेख गरिएको छ ।
परियोजनाले स्थानीय सरकारसँगको सहकार्यलाई समेत प्राथमिकता दिएको छ । स्थानीय वन ऐन, वन्यजन्तुबाट हुने क्षतिको राहतसम्बन्धी निर्देशिका तथा वनसम्बन्धी रणनीतिक योजना निर्माणमा सहकार्य गर्ने, प्रमाणमा आधारित ज्ञान तथा नीतिगत पैरवीका लागि वन उपभोक्ता समूहका सञ्जालको क्षमता विकास गर्ने र स्थानीय सरकारसँग दिगो कृषि तथा वन व्यवस्थापनका विषयमा सहकार्य गर्ने कार्यक्रम समावेश छन् ।
त्यस्तै महिला, युवा तथा विद्यालयका विद्यार्थीलाई जैविक विविधता र वातावरण संरक्षणसम्बन्धी सचेतना कार्यक्रममार्फत जोड्ने योजना अघि सारिएको छ । युवा साउन्डिङ बोर्डका सदस्यलाई परियोजनाको कार्यक्षेत्रमा परिचालन गरी युवाको क्षमता विकास तथा जैविक विविधता संरक्षणमा सहभागी गराउने कार्यक्रम गरेको थियो ।
कार्यक्रमको अध्यक्षता बी ग्रुप कार्यसमिति तथा सम्वद्र्धन परियोजनाका फोकल पर्सन बिन्दु शर्माले गरेकी थिइन भने परियोजनाको प्रस्तुतीकरण बी ग्रुपका कृषि तथा उद्यम विकास संयोजक पप्पु यादवले गरेका थिए ।
कार्यक्रममा फेकोफनका नीति पैरवी अधिकृत जयन जोशी, एन्साबका जैविक विविधता विशेषज्ञ सुयोग न्यौपाने, फरेस्ट टेक्निसियन तीर्थ बहादुर क्षेत्री तथा बी ग्रुपकी फिल्ड सहजकर्ता अमृता कुमालको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन तथा लेखापरीक्षणका लागि तेस्रो पक्षका रूपमा प्रकाश उपाध्यायलाई अनुबन्धित गरिएको थियो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।



















प्रतिक्रिया दिनुहोस्