भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा कोहलपुरमा ५०१ दीप प्रज्वलन मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको सकुशल खोजीको कामना




कोहलपुर, बाँके

भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका नागरिकहरूको सम्झनामा बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौढीस्थित ॐकारेश्वर महादेव मन्दिरमा ५०१ दीप प्रज्वलन गरिएको छ।
देश शोकमा डुबेको दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार साँझ ७ बजे मन्दिर परिसरस्थित हवनकुण्ड वरिपरि दीप प्रज्वलन गरिएको हो। दीप प्रज्वलनपछि बाढीमा परी ज्यान गुमाएकाहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।


दीप प्रज्वलनमार्फत मृतकहरूको आत्माले चिरशान्ति प्राप्त गरून्, स्वर्ग तथा वैकुण्ठवास होस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् र बेपत्ता भएकाहरूको सकुशल खोजी हुन सकोस् भन्ने प्रार्थना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
कार्यक्रममा ॐकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम खरेल, सल्लाहकार एकराज शर्मा, पण्डित दयानिधि शर्मा, शिक्षक प्रेम भण्डारी, समाजसेवी छविलाल भट्टराई, पुजारी लेखनाथ भट्टराईलगायत गाउंलेहरुको  सहभागिता रहेको थियो।


नियमित महाआरतीलाई श्रद्धाञ्जलीमा परिणत ॐकारेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार राति नियमित रूपमा महाआरती तथा भजन–कीर्तन हुँदै आएको छ। तर, भोटेकोसी बाढीका कारण देश नै शोक र पीडामा रहेका बेला सोमबारको नियमित धार्मिक कार्यक्रमलाई विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र प्रभावित परिवारका लागि प्रार्थनामा केन्द्रित गरिएको सल्लाहकार शर्माले जानकारी दिए ।


मन्दिर व्यवस्थापन समितिका सल्लाहकार एकराज शर्माले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारमा धैर्य र साहस प्राप्त होस् भन्ने उद्देश्यले दीप प्रज्वलन गरिएको बताए।
उनले भने, “दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि भगवान् शिवसँग प्रार्थना गरेका हौँ।”
बेपत्ताको खोजी र सकुशल सम्पर्कको कामना
भोटेकोसी बाढीमा कोहलपुर क्षेत्रका नागरिकसमेत प्रभावित तथा बेपत्ता भएको खबरले स्थानीयस्तरमा चिन्ता बढाएको भन्दै कार्यक्रममा विशेष प्रार्थना गरिएको थियो।


बेपत्ता भएका व्यक्तिहरूको शीघ्र खोजी होस् र उनीहरू सकुशल परिवारको सम्पर्कमा आउन सकून् भन्ने कामनासहित सहभागीहरूले करिब १० मिनेट सामूहिक रामभजन गरेका थिए।
दीपको उज्यालोसँगै गरिएको प्रार्थनाले विपद्को पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय संवेदना प्रकट गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष खरेलले बताए ।
भोटेकोसी बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ॐकारेश्वर महादेव मन्दिर परिवारले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल खोजीका लागि भगवान् शिवसँग प्रार्थना गरेको छ।
जय शम्भु।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार