घनश्याम रेग्मी ।
यस पटक पनि कथा प्रतियोगिताको सूचना निस्कियो। मनोजले कथा पठाउने र त्यससँग सम्बन्धि अद्योपान्त प्रक्रिया पढ्यो ।ऊ एकछिन घोत्लियो ।आफूले पसल गर्दा सधैं आउने ग्राहकको बानी सुध्रिएर असल मानिस बनेको कुरालाई उसले मनमनै एउटा कथाको जालो बुन्यो । झटपट कथाको खेस्रालाई कापीमा टिप्यो र सन्तोषको सास फेर्यो ।
शीर्षक त जब्बर राख्नुपर्छ , उसले मुठी कस्यो । शीर्षकका बारेमा भने उसले अझै यकिन गर्न सकेको छैन ।
कथामा पिउने बानी छोडेर आफैं सुध्रिएको र खराब बानी छोडेमा यस्ता फाईदा हुन्छन् भन्ने मुख्य पात्रकै मुखबाट कथाको बेलिबिस्तार लगाएर उसले कथा पूरा गर्यो। कथाको मुख्य पात्रको बानी सुध्रिएको र असल मान्छे बनेको प्रसङ्गको शीर्षक मिलाएर ” सुध्रिएको बानी ” राख्यो र कथा पुरा गर्यो ।
कथा पठाउन नभ्याउँदै सम्पूर्ण लक डाउन भयो । मनोज पनि गाउँमा लक डाउनमा लक भयो । गाउँमा नेट नचल्ने कथा पनि लक भयो। हतारमा लक डाउन गर्ने तर काम चाहिँ माखो नमार्ने नीति निर्माता र प्रशासकहरूको न सुध्रिएको बानीले उसलाई फेरि धक्का दियो । शीर्षक राम्रो मिलेको छैन जस्तो उसलाई लाग्यो । शीर्षक र कथा पुनर्लेखन गरूँ कि के गरूँ भन्ने सोच्दा सोच्दै समयले टाप कस्यो ।
जेसुकै होस् ,मनोजले कथा पठाएन । तीन महिना पछि लक डाउन पनि अलि खुकुलो भयो । उसले कथा नपठाए पनि कथाको प्रतिस्पर्धा र छनोट भयो। निष्पक्ष छानबिन र पुरस्कारको घोषणा भएको चर्चा धुमधामले बाहिर आयो ।
नतिजा निस्केको भोलिपल्टै पुरस्कृत कथाको नालीबेली र सक्कली पुरानो कथा पनि सँगसँगै आयो।
अर्को नयाँ नाम दिएर पुरानै पोसाक लगाएको अभिनेता पुरानै वार्तालापमा छ रे । विषय वस्तु ,संवाद र कथा त हुबहु उही भै हाल्यो । गत सालमा पनि यस्तै नयाँ नाममा पुरानै नायक पुरानै क्रियाकलापमा देखिएको चर्चा सेलाउन न पाउँदै यो साल पनि कथा प्रतियोगिता राख्ने संस्था , निर्णायक र लेखकको अर्काको कथा सारेर पुरस्कार खाने उही पुरानै ” नसुध्रिएको बानी” प्रष्ट देखा पर्यो ।
उसले एकछिन सोच्यो उसले कथा नपठाएको , कथाले प्रतिष्पर्धामा भाग लिन नपाएको पनि शीर्षक नमिलेर त हैन ? उसको ” सुध्रिएको बानी ” कथालाई ” नसुध्रिएको बानी “बनाउन सकेको भए पो जम्थ्यो त ! उसलाई आफ्नो शीर्षक चयनमा दिक्क लाग्यो र नेता लगायत लेखक रआयोजक सबैको “नसुध्रिएको बानी ” देख्दा भने देश नबन्ने निश्चित भयो । अब मनोज कथाको शीर्षक ” नसुध्रिएको बानी ” बनाएर कथालाई पुनः लेखन गर्न लागेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्