Kohalpur Today Header Ads

एक दशकमै शक्तिशाली कविका रूपमा उदाए केशव निमेष, ‘मृत्युगञ्जको मौनता’ गृहविमोचन




कोहलपुर । कवि केशव निमेषद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ शनिबार कोहलपुरमा गृह विमोचन गरिएको छ। वरिष्ठ साहित्यकार डा. अमर गिरी, कवयित्री निभा शाह, कृतिकार निमेष, उनका मातापिता तथा परिवारका सदस्यले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन्।

विमोचन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार डा. अमर गिरीले कवि निमेषका कविता विचार, भाव र कलात्मक सौन्दर्यका दृष्टिले निकै सशक्त रहेको बताए। लेखन यात्रा सुरु गरेको करिब एक दशकको छोटो अवधिमै निमेषले परिपक्व र प्रभावशाली कविता सिर्जना गर्न सफल भएको उल्लेख गर्दै उनले उनको सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरे।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

‘कवि निमेषले लेख्न थालेको करिब एक दशक मात्र भएछ। लेखनका हिसाबले यो छोटो समय हो। मैले कविता लेख्न थालेको ५० वर्ष पुगिसक्यो,’ उनले भने, ‘यति छोटो अवधिमै उनले अत्यन्त सुन्दर र परिपक्व कविता लेखेका छन्। उनका केही कविता पढ्दा मलाई समेत ईर्ष्या जाग्यो।’

डा. गिरीले निमेषको सिर्जनाको क्षितिज फराकिलो रहेको उल्लेख गर्दै निरन्तर अध्ययन, साधना र लेखनलाई अझ गहिराइ दिन आग्रह गरे।

कवयित्री निभा शाहले निमेषका कविताले सत्ता, समाज र समयप्रति गम्भीर प्रश्न उठाएको बताइन्। उनका अनुसार एउटा कविको जिम्मेवारी केवल सौन्दर्य सिर्जना गर्नु मात्र नभई समाजका विसङ्गति र विकृतिमाथि प्रश्न उठाउनु पनि हो। निमेषका केही कविताले त्यो सामर्थ्य प्रदर्शन गरेको उनको भनाइ थियो।

‘उनका केही कविता अत्यन्तै शक्तिशाली छन्,’ उनले भनिन्, ‘अब लेखनमा निरन्तरता र अझ गहन अध्ययन आवश्यक छ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दै साहित्यकार सागर गैरेले कोहलपुर नेपाली साहित्यको उर्वर भूमिका रूपमा विस्तारै स्थापित हुँदै गएको बताए। यहाँका सर्जक र उनीहरूका सिर्जनाले राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन थालेको उनको भनाइ थियो।

कार्यक्रममा कवि हेम मञ्जिलले नेपाली कविता लेखनको परम्परा तथा ‘मृत्युगञ्जको मौनता’बारे वरिष्ठ साहित्यकार डा. अमर गिरी र कवयित्री निभा शाहसँग अन्तरसंवाद सञ्चालन गरेका थिए।

यसैबीच, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको आयोजनामा सम्पन्न अर्को कार्यक्रममा विभिन्न स्रष्टालाई पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो। पूर्णिमा साहित्य रत्न पुरस्कारबाट वरिष्ठ साहित्यकार डा. अमर गिरी तथा तुलसीराम स्मृति पुरस्कारबाट साहित्यकार शशिराम कार्की सम्मानित भएका हुन्।

वरिष्ठ कथाकार सनत रेग्मीले सम्मानित व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरेका थिए। प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमले कोहलपुरको साहित्यिक गतिविधिलाई थप ऊर्जा दिएको सहभागीहरूले बताएका छन्।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार