कोहलपुरमा आत्महत्याले अन्त्य भयो ६ महिनाको गर्भ : श्रीमानविरुद्ध दुरु,त्साहनको उजुरी




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–१३ भरैया सिम्रहवा टोलकी रेजिना गाहा मगरको झु,ण्डिएर मृत्यु भएपछि उनका श्रीमान करण धर्तीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी परेको छ । मृतक रेजिना अर्घखाँची शितलगंगा नंं.पा १४ करेचुली माइत हाे ।

भदौ ६ गते बिहान भएको घटनाले मृतक रेजिनाको परिवार मात्रै होइन, उनको पेटमा हुर्किरहेको करिब ६ महिनाको गर्भको भविष्यसमेत एकैपटक अन्त्य भएको आफ्न्त बताउँछन् ।

रेजिनाको मृत्यु आत्महत्या भए पनि त्यसको पछाडि श्रीमानबाट भएको भनिएको निरन्तर मानसिक तथा शारीरिक यातनाको भूमिका रहेको आरोप माइती पक्षले लगाएको छ । ‘मेरी बहिनीले मृत्यु रोजेकी होइन, परिस्थितिले त्यो अवस्थामा पु¥याएको हो,’ रेजिनाका दाजु यमबहादुर गाहा भन्छन् ।

कोहलपुर टुडेसँग कुराकानी गर्दै गाहाका अनुसार रेजिना र करणबीच २०८२ साल पुसमा प्रेम विवाह भएको थियो । प्रेमबाट सुरु भएको उनीहरूको सम्बन्ध विवाहपछि केही समय सामान्य रह्यो । तर विस्तारै घरायसी सम्बन्धमा समस्या देखिन थालेको परिवारको भनाइ छ ।

विवाहपछि रेजिना श्रीमान्सँगै बस्दै आएकी थिइन् । उनी गर्भवती थिइन् । पेटमा करिब ६ महिनाको गर्भ हुर्किरहेको थियो । बुटवलमा श्रीमानसंगै डेरामा बसेका बेला उनले आफूले भोगिरहेको पीडा माइती पक्षलाई सुनाउने गरेको दाजु यमबहादुर बताउँछन् ।

उनका अनुसार करणले रेजिनालाई विभिन्न किसिमका शारीरिक तथा मानसिक यातना दिने गरेका थिए । श्रीमान् अन्य महिलासँग बस्ने तथा उठबस गर्ने गरेको थाहा पाएपछि त्यसबारे सोध्दा र सम्झाउन खोज्दा झन् तनाव बढेको परिवारको दाबी छ ।

रेजिनाले आफू असुरक्षित महसुस गरिरहेको कुरा समेत माइती पक्षलाई बताएकी थिइन् । घरमा बस्न नदिने, घर छाड्न दबाब दिने र ज्यान मार्ने किसिमका धम्कीसमेत आउने गरेको आरोप उनका बुबा रामबहादुर गाहाको छ ।

‘गर्भवती छोरीले मलाई डर लागेको छ, ममाथि केही हुन्छ कि भन्ने लागेको छ भनेर फोन गर्थी,’ रामबहादुरले भावुक हुँदै भने, ‘बुबाआमाका लागि त्योभन्दा पीडादायी कुरा के हुन्छ र ?’

रामबहादुरले छोरीको घर बसोस्, उसको जीवन राम्रो होस् भन्ने सपना देखेका थिए तर त्यो सपना धेरै समय टिकेन । भदौ ६ गते बिहान आएको एउटा खबरले उनको संसार नै उजाडियो ।

आफूले माया गरेर हुर्काएकी छोरी अब कहिल्यै फर्केर नआउने भइन् । अझ उनको गर्भमा हुर्किरहेको सन्तानले पनि संसार देख्न पाएन । ‘छोरीलाई सुखी हुन्छे भनेर पठाएको थिएँ,’ आँसु झार्दै रामबहादुर भन्छन्, ‘तर मेरो छोरीको घर बस्नुअघि नै उसको जीवन सकियो।’

मृतकका बुबाले छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाउँदै श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीका अनुसार उजुरीमा उल्लेख गरिएको आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा करण घर्तीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रहरी निरीक्षक क्षेत्रीले घटनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार उजुरीमा लगाइएका आरोप, घटनाको वास्तविक अवस्था तथा मृतकको मृत्युको कारणबारे आवश्यक प्रमाण संकलन गरी अनुसन्धान अघि बढाइएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार