काठमाडौं ।
विभागीय टोली नेपाल एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा एपीएफले मधेश प्रदेशलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
मधेशले दिएको एक सय २३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जितमा लोकेश बमले अविजित ३५ रन बनाए । प्रदीप ऐरीले ३३, आसिफ शेखले २५ र सुमित महर्जनले १३ रन बनाउनुभयो । बलिङमा मधेशका रुपेश सिंहले दुई तथा राजेश यादवले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । मधेशका लागि रुपेश सिंहले अविजित ३६ रन बनाउनुभयो । सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदिल आलमले ११ र राजेश यादवले १० रन जोड्नुभयो ।
बलिङमा एपीएफका कमल ऐरीले चार विकेट लिनुभयो । कमल ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । भुवन कार्की र मौसम ढकालले दुई दुई विकेट लिनुभयो । उपाधिका लागि एपीएफले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र पुलिसबीच शुक्रबार अर्को सेमिफाइनल खेल हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्