एकराज शर्मा
मिति २०७९ साल आश्विन ६ गतेको यात्रा थियो । यात्रामा म लगायत मेरा सहकर्मीहरु संगै थियौं । कोहलपुर देखि रुकुम त्यो पनि दशैको आगमनको बेला थियो । बसको टिकट पाउने सम्भावना निकै कम थियो । तर पनि हाम्रो यात्रा पनि बाध्यात्मक नगई नहुने थियो ।
सायद त्यो बेला कालापारेहरु दशैको लागि घर आउने समय हो । किनकी आश्विन १० देखि नेपालीहरुको महानचाड विजया दशमी पनि सुरु हुने समय थियो । मैले सहकर्मी मित्रलाई टिकटको व्यवस्थापनको लागि जिम्मा दिएको थिए । म त कोहलपुर चपरगौडीबाट बस चढ्ने भएकोले अन्य सबै कुराको जिम्मा सहकर्मीलाई दिइएको थियो । पाँच बजेको बस कैयन पटकको फोन सम्पर्कपछि झन्डै ६ः३० मा चपरगौडी प्रहरी विटमा आयो म बसमा चढे । साथीहरु बी को ७ र ८ मा बस्नु भएको थियो । मेरो सिट चाहि बी को १ मा थियो ।
मेरो सिटमा एकजना १८ बर्षको भाइ थियो । मैले सोधे भाइ कताबाट आएको हो । उनले भने इन्डियाबाट । किन तिमी पढ्दैनौ उसको जवाफ थियो नाई किन नी ? उसले भन्यो आर्थिक समस्याको कारण कक्षा ७ देखि पढना छोडेर कालापार जाने गरेको छु । कति महिनामा फर्किएको हो ? । ३ महिनामा । कति कमाइ लिएर आएका छौं ? उसको भनाइ थियो छैन कमाइ पनि सबै हरायो किन नी ? खोइ भारतमा बाटोमा पाकेट काटेर लिएछ । भाडा नभएकोले मुसिकोट खलंगा पुगेर घरबाट आमाले दिनु हुन्छ । उफ दया लागेर आयो अनि आँसु पनि आए ।
सोचे मेरो देशको हालत अनि मेरो देशका नेताहरुको कार्यशैली अनि सरकार पनि कस्तो ? मेरो यो देशमा बस्न र यो देशको माया गर्ने हरेक नेपालीको कर्तव्य त होला तर हरेक नेपालीहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता तथा रोजगारीकोे अवसर प्रदान गर्ने जिम्मेवारी कसको हो ? सरकार, नेता, जनता कि देशको माटो वा आफै नागरिकको कसको ?
रात्रीकालिन बस थियो । रात पाक्दै थियो संगैको त्यो केटो भुसुक्क निदायो । बस गुडीरहेको थियो । मेरो मनमा अनेक सोचाइ रुमलिएका थिए । पछाडीतिर कालापारेहरुले दारु पिइ रहेका थिए । उनीहरुले निकै हल्ला गरिरहेका थिए । कहिले बस रोक्ने पिसावको लागि त कहिले दिसा आयो भनेर गाडी रोक्ने गरेका थिए । हाम्रो समाज कस्तो ? देशका नागरिक कस्ता वा रे ? हामी नेपालीहरुलाई दर्दनाक अवस्थाले सताईरहेको छ किन ? एकातिर गाडीको यात्रु क्षमता ४० थियो तर गाडीमा भने ८७ थिए । यो नियम संगत थियो कि थिएन ।
विच बाटोमा ट्राफिकहरु पनि भेटिए चेक गरे तर रु २०० अनि ३०० ठाउँ ठाउँमा लिएर कुनै प्रतिक्रिया दिएनन् । के मेरो देशमा नियम कानुन छैन ? के देशमा निर्माण गरिएका सबै नियमहरु पैसा, सत्ता, आफन्तमा बिक्ने गरेका छन् ? अनि किन होस हामीमा गर्व अनि किन होस देशको माया र किन होस नेताहरुको आदर सम्मान । ठिक ११ः२३ मा सल्यान जिल्लाको अति प्रसिद्ध ठाउँ कपुरकोट गाडीले खानाको लागि रोक्यो । खानाको लागि हामी तयार भयौं । खाना खासै मिठो अनि त्यति नमिठो पनि होइन । तर पनि कपुरकोट भनेपछि तरकारी उत्पादनको ठाउँ भन्ने बुझेपनि तरकारीको निकै अभाव थियो ।
एकजना मित्रले भान्टाको तरकारी नखाने बानी तर त्यहाँ भान्टाको तरकारी, टमाटरको लेदो चटनी, एक पिस काटेकोे काँक्राको पातो र भात । मैले हरियो खुर्सानी मागे खाए साथीहरुले पनि । उफ तरकारीको राजा भन्ने ठाउँमा पनि तराइ भन्दा कमसल तरकारी खाइयो । के कपुरकोटमा तरकारी नपाएको हो वा यात्रुहरुले यस्तै हुन खाइ हाल्छन भनेर हो सोचनीय विषय बनेको छ ।
खाना खायो रातीमा विभिन्न ठाउँमा पार गर्दै रात्रीकालिन बस विस्तारै अगाडी गुडिरहेको थियो । विच विचमा निद्रा त विचचमा झल्यास झुलुस हुदै बाटो पार गरिरहेका थियौ । कपुरकोट देखि सह चालकले गाडी चलायो । यो पछाडी बस्ने कसैलाई थाह थिएन । गाडीका सबैजसो खाना खाएपछि सुतेका थिए । मलाई निद्रा लागेन । सहचालकले चलाएको पहाडको बाटो त्यो पनि मोड त्यति नै निकै डरलाग्दा । तीन ठाउँमा झन्डै सहचालकले बसलाई दुर्घटना गराएन ।
झन मलाई निकै डर लागेको थियो तर पनि सधैजसो हिडेको बाटो भएकोले खासै डर भने थिएन । कपुरकोटको बाटो बनाउदै थियो निकै डरलाग्दो भिर अनि डाँडाकाँडा थिए । अध्यारो रात कहाली लाग्दो बाटो अनि मनको त्रासले मेरो मन छिया छिया नभएको होइन । बसमा बसेका सबै निद्रामा मस्त थिए । कोहि घुर घुर गरेर घुरेका थिए त कोहि स्यार स्यार गरेका थिए । मेरो मनमा सहचालक अनि डरलाग्दो बाटो हिलाम्येताको डरले त्रासमय वातावरण । हामीलाई त्यो कठिनता अनि शारदा नदिको तीर हुदै विभिन्न स्थानहरु पार गर्दै झुलनेटा गएर चियाको चुस्किले ब्युझायो । समयको पावन्दी अनि रात्रीकालीन बस लोकल बसमामा परिणत हुने व्यवहारको कारण ठिक समयमा खलंगा पुग्न निकै कठिन । गाडीको साहुसंग बोल्न नि गाहे जसले निकै अपशब्द सुन्न भन्दा नबोल्नु ठिक भनेर बोलीएन ।
तैपनि हामी त्यसको प्रतिवाद गर्ने जमर्काे पनि त गरिएन । काम सकेपछि नयाँ ठाउँ घुम्ने रहरको कारण साथिहरुको सल्लाहमा निकै चर्चित सुन्दर ताल जो मनमोहक र हरियाली डाँडा काँडाको बीचमा सानो सुन्दर गाउँ रहेकोले जाने निर्णय गरियो । मःम नास्ता खाएर टाटासुमो गाडीमा कोचाकोच गरेर पानी परिरहेको झरिमा हामी निकै गाहे बाटो हुदै डराउदै गयौ । कतिपय साथिहरु डराएर विच विचमा झर्ने अनि चढ्ने काम पनि गरेका थिए । रमाइला कुराकानी, छलफल एवम् बहस हुदै हामी हिंडीरहेका थियौ । बाँफीकोट जाने क्रममा तीन ठाउँमा रातो माटोमा गाडी चिप्लेर झन्डै पल्टेको थियो ।
गाडीमा बसेका सबै डराएपनि चालक चाहि निकै सिपालु तथा अनुभवी भएकोले गर्दा नआत्तिन अनुरोध गरे । त्यो अनुरोधले हामीमा साहस आयो । हामी साँझ ६ः०० बजे स्यार्पूतालमा पुग्दा त्यहाँका शिक्षक एवम् स्यार्पु ताल संरक्षण समितिका सदस्य श्री गोपाल के.सी. को आतिथ्यता एवम् भिडीयो निर्माणले निकै रमाइलो भएको थियो । तालमा सञ्चालन हुने डुंगा देशका अन्य तालमा भन्दा फरक थिए । म पोखराको फेवाताल, मुगुको राराताल, पोखराको बेगनास ताल, सल्यानको कुपिन्डेताल, टिकापुरको भेरी नदिको डुंगा, रुकुम पूर्वको कमल तालमा भएका डुंगा भन्दा निकै फरक त्यो पनि समुन्द्रमा चलाउने पानी जहाज जस्ता थिए । हामी आधा घण्टा जति रमाएका थियौं । हामीमा हर्ष उल्लासले समाएका थियौं । हामी रमाइलो वातावरणमा रमाएका थियौ । हामी एकछिन नाचेर, भिडीयो गराएर तस्विरहरु खिचेर रमाएउने काम भयो ।
स्यार्पुतालको भलक हामी यात्रीहरुको तस्विर र पहिलो किवदन्ती
स्यार्पु तालको पहिलो किवदन्ती : स्यार्पु तालको विषयमा फरक फरक किसिमका धारणा तथा किवदन्ती रहेका छन् । जसमा परापुर्व कालमा पैयावार भन्ने गाउँपालिकामा प्वाडे मगरहरुको सानो बस्ति थियो रे । एक दिन एक जना सोझा भक्ति हातमा घण्टी बजाउदै सोहि गाउँपालीकामा आएछन् । सबै घरहरुमा बास मागे तर कसैले पनि बास दिएनन । कसैले पनि बास नदिएपछि उनी निरास हुदै अलि माथिको भोट निगारे भन्ने गाउँमा पुगे ।
जहाँ अन्तिम घर मात्र थियो । उक्त घरमा एकजनी बुढीआमा जो गाउँमा कुटन पिसन गरेर खाने र बस्ने काम गर्थिन । उक्त घरमा भक्तिले बास मागेपछि उनले बास त दिने तर खानेकुरा केहिपनि नभएको भक्तिलाई जानकारी गराइन । भक्तिले भने तिमी जे खान्छेउ त्यहि देउ तर बास चाहि अनिवार्य देउ भनेर अनेक विलाप गरेपछि बास सहित भुसको आधारोटी खाना दिएकी थिन । उरुममा सुत्न दिएकी थिन रे ।
भोलीपल्ट विहान सबै जमिन गाउँ पुरै डुबेको थियो तर चल्लीखोरमा ती बुढीआमा मात्र बाँच्न सफल भइन । त्यहाँ एक हप्ता सम्म कुकुरहरु भुकेका, मान्छेहरु कराइरहेको आवाज सुनिएको थियो । पछि माथिको खारखोला भन्ने ठाउँको पानी जम्मा भएर यो तालको निर्माण भएको बुढापाकाहरुको भनाइ रहेको किवदन्ती रहेको छ ।
स्यार्पुतालको दोस्रो किवदन्ती
सत्य युगमा ५ भाइ पान्डव र १०० भाइ कौरबका विचमा लडाई हुदा पान्डव मध्येका माइला भाइ भीमसेन घुम्दै यस ठाउँमा आएका थिए । यसरी आउने क्रममा उनले प्वाडे मगर बस्तिमा खाना खाएको र खारखोलामा सिरानगरी सुतेका थिए । त्यहि सुतेको गाउँपालिकामा जमिन भासिएर माथिबाट बगेर आउने पानी जम्मा भएर तालको निर्माण भएको थियो । यसरी नै भिमसेन सुतेकै आकारमा तालको पनि बनावट भएको हो भन्ने किवदन्ती रहेको छ ।
त्यसकारण यो तालको आकार मानिसको खुट्टा खुम्चाएर सुतेको आकारमा रहेको जस्तो छ । भोली पल्ट भिमसेन विहानै भीमसेन उठेर छेलो खेलेका ढुंगाहरु अहिलेपनि जस्ताको तस्तै रहेका छन् । यो तालको खोला खोप्साहरु लाई बराबर बनाउने निर्णय गर्दा माथि बैशाखी हान्दा स्वा स्वा र स्या स्याको डरलाग्दो आवाज आएपछि यसो नियालेर हेर्दा कोप्राबाट निकैठुलो बडेमानको सर्प निस्किएछ ।
यसखालको डरलाग्दो स्थिति देखेपछि भिमसेनले माथितिर हेर्दे उक्त सर्पलाई यताको काम त्यतिकै छोडेर लखेट्दै समैजालेक देखि भाभने लेक हुदै डोल्पा सम्म पुगाएको र डोल्पाको रड भन्ने गाउँमा गई धनुष्कांडले हानेर मारेकाल उक्त सर्पको रगतले तालको निर्माण भएको र तालको आकार पनि सर्प आकारमा रहेको देख्न सकिने किवदन्ती रहेको छ ।
स्यार्पुतालको तेस्रो किवदन्ती
कुनै एकताका यस ठाउँमा ठुलो नदि बग्ने गरेको थियो । त्यो नदि भासिन गई तल झरेपछि उक्त ठाउँमा प्वाडे मगरहरुको बस्ति बसेको थियो । धेरै समयपछि उक्त बस्तिमा माथिबाट निकै ठुलो पहिरो खसेको थियो । त्यस गाउँमा धयो धर्मकर्ममा विश्वास गर्ने एक बृद्ध बुढी आमाको घर मात्र बाँकी रहन गएको थियो । अरु सबै मरेपछि ती बुढी आमाले अलाप विलाप गर्न थालेपछि उनी उक्त स्थानबाट भागेपछि उक्त स्थानमा मानिसरहरु दृश्य हेर्न आएका थिए रे ।
उक्त स्थानमा मानिसहरु पहिरोले पुरिएको रोइरहेको कराइ रहेको, कुकुर कराइरहेको र भालेहरु बासिरहेको आवाज आइरहेको थियो । धेरै समयपछि खारखोलाबाट आएको पानी रोकिएर तालको निर्माण भएको भनाइ रहेको छ । यसरी तीनवटा किवदन्तीहरुको आधारमा व्याख्या गर्दा वा स्थलगत अनुगमन र अध्ययनको निष्कर्ष हेर्दा दोस्रो किवदन्ती अलि नजिक रहेको छ । किनकी तालको आकार पनि मानिसको खुट्टा खुम्च्याएको जस्तो र गाउँको मुनितिर सिरानी आकारको ताल रहेको छ ।
तालको बारेमा हालको रुकुम पश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं ३ र ५ को विचमा अवस्थित यो ताल २८ देखि २९ डिग्री उत्तरी अक्षाँश तथा ८२ं १२ंं देखि ८२. ५३ पूर्वी देशान्तर फैलीएको छ । यो ताल समुन्द्र सतहदेखि करिव १४४२ मी. को उचाईमा रहेको छ । २.६ वर्ग कि.मी. क्षेत्रफलमा रहको छ । यसको गहिराई वर्षातमा १३ मि. त अन्य समयमा ५ मिटर गहिराइमा छ । यो ताल सदरमुकाम देखि २१ कि मी मौसमी बाटोमा रहेको छ ।
तालको वरपरको दृश्य हेर्दा देखिएका सुझावहरु
- तालको वरपर पार्क निर्माण गरी पर्यटकीय स्थल तयार गर्न र पिक्नीक स्पोर्ट निर्माण गर्न सकिने र तालको उत्तरतिरको भागमा रहेका बालुवा, गिट्टी लगायतका चिजवस्तुको उत्खनन गरेर ताललाई आकर्षक एवम् सुन्दर बनाउनु पर्ने ।
- तालमा जनाको लागि जो डुंगामा चढनको लागि व्यवस्थित सिढी निर्माण गरी आधुनीक डुंगा चलाउने व्यवस्था गर्नु पर्ने र तालको नजिमा रहेको बस्तिलाई अन्यत्र स्थानान्तर गरी उक्त बस्तिमा होमस्टे निर्माण गरी आउने पर्यटकहरुलाई बस्नको लागि व्यवस्ति बसोबास गर्ने खालका वातावरण तयार गर्ने । ताल सम्म जानको लागि कच्ची बाटो भएपनि पर्यटकको सहजताको लागि स्थानीय सरकारले पक्की बाटो तयार गर्नु पर्ने ।
- तालको वरपर हरियाली जंगल निर्माण गर्न विरुवा रोपेर आकर्षक बनाउनु पर्ने ।
- तालको प्रचार प्रसारको लागि स्थानी एवम् राष्ट्रिय सञ्चार माध्यमबाट यसको बारेमा अभियान चलाएर प्रचार प्रसार गर्नु पर्ने र जलाधार क्षेत्रको विकासर गरी आकर्षक तथा अवलोकनयुक्त बनाउनु पर्ने र पर्यटकहरुको स्वागतको लागि बलियो स्थायी ताल संरुक्षण समिति गठन गरी त्यसको संरक्षण, संवद्र्धन तथा आय व्यय तयार गरी स्थाइि रुपमा तालको व्यवस्थापन गर्न पर्ने ।
- स्मरणीय तालको वरपरको हरियाली, तालको माथितिर रहेको सानो गाउँबस्ति तथा तालको छेउछाउमा रहेको ठुला ठुला ढुंगाको कारण कुनैपनि पर्यटकलाई आकर्षण नगर्ने होइन । प्राकृतिक रुपमा रहेको यो तालको दृश्यले हामी पनि निकै मनमोहक भएका थियौ । आधा घन्टाको त्यो डुंगाको सयल अनि साँझपखको त्यो दृश्यले लाग्थ्यो कि त्यो समयमा स्वर्गका अप्सरा आएर सयल गरेकी छन् । हामी र हाम्रो टिम किन यसरी रमायौ होला ? किन समय छोटो भयो ? हामी आफैलाई पनि अनुत्तरित बनाएको छ त्यो भनेको नै तालको परिदृश्यले होला । बास बस्ने रहर त थियो तर विविध कारणले हामीलाई बस्नको लागि समय नमिलेको नै ।
नेपालमा रहेका प्राकृतिक सम्पदा यति धेरै रमाइलो ठाउँहरु रहेका छन् । हामी किन अमेरीका, क्यानडा, अष्टेलिया … देशहरुमा जाने र घुम्ने इच्छा जाहेर गर्दछौं ।
पालका यस्ता प्राकृतिक दृश्यको रमाइलो आकार, प्रकार अनि मनमोहकताको रमाइलोपनको वास्ता किन गरेका छैनौं । स्यार्पजस्ता यस खालका तालहरु नेपालमा धेरै रहेका छन् । स्मरणीय त्यो यात्राले हामीमा फरक खालको अनुभुति दिएको छ ।
यसको लागि सम्पूर्ण पहल कदमी गर्ने क्याम्पस परिवार, प्यारा विद्यार्थी मित्रहरु, प्रशासन लगायत स्यार्पु संरक्षण समितिका एक पहलकदमी कर्ता गोपाल के.सी. लगायत प्रति म र मेरो साथको तर्फबाट विशेष आभार व्यक्त गर्दे एक पटक जीवनमा मनुष्यले अध्ययन गर्नु पर्ने ठाउँ हो रुकुम । हर्ने पर्ने ताल हो स्यार्पु धन्यावाद ।
लेखक : एकराज शर्मा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख हुन् । उनी एक अनुसन्धान कर्ता पनि हुन् ।
काेहलपुर टुडे । १२ कार्तिक २०७९, शनिबार १३:३०