
कोहलपुर । बाँकेकाे काेहलपुर नगरपालिका ५ मा रहेकाे वेस्टर्न ई.मी. सेकेन्डरी स्कुलले कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई अनुशासन, स्पष्ट लक्ष्य र निरन्तर मेहनतको महत्व बुझाउँदै भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ। शनिबार एनप्याब्सनका केन्द्रिय सदस्य तथा प्रमुख अतिथि कुसुमराना भाटले उद्घाटन गर्दै स्वागत तथा अभिमुखीकरण कार्यक्रम सुरू भएकाे हाे ।
कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई अबिर लगाएर तथा खादा ओढाई औपचारिक स्वागत गरिएको थियो। स्वागतसँगै विद्यालयका विद्यार्थीले प्रस्तुत गरेका सांस्कृतिक नृत्यले कार्यक्रमलाई आकर्षक र उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुशुम रानाभाटले विद्यार्थी जीवन नै भविष्यको जग भएकाले समयको सही सदुपयोग गर्दै अनुशासित, लक्ष्यप्रति प्रतिबद्ध र मेहनती बन्नुपर्ने बताए । अभिमुखीकरण कार्यक्रमलाई केवल स्वागतमा सीमित नराखी सफल जीवनको पहिलो पाइला भएको उल्लेख गर्दै ज्ञान, सीप र नैतिकताको विकासलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
“आजको अभिमुखीकरण केवल स्वागत कार्यक्रम होइन, सफल भविष्यतर्फको पहिलो पाइला हो। समयको सदुपयोग गर्दै ज्ञान, सीप र नैतिकताको विकासमा ध्यान दिन सके विद्यार्थीले जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट सफलता हासिल गर्न सक्छन्,” उनले भने।
कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक कुबेर बस्नेतले वेस्टर्नले विद्यालयले विद्यार्थीलाई शैक्षिक वातावरणसँग परिचित गराउनुका साथै भविष्य निर्माणका लागि आवश्यक सोच, संस्कार र जिम्मेवारीबारे प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे बताए । गुणस्तरीय शिक्षासँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यवहारिक सीप अभिवृद्धिलाई प्राथमिकतामा राख्दै शिक्षण गर्दै आएको बताउँदै उनले अभिभावक र विद्यार्थीले विद्यालयप्रति गरेको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै मेहनती, जिम्मेवार र अनुशासित विद्यार्थी नै विद्यालयको वास्तविक परिचय हुने उल्लेख गरे ।

यस्तै विद्यालयका प्रिन्सिपल उमेश श्रेष्ठले कक्षा ११ बाट विद्यार्थीको शैक्षिक यात्रा थप चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण हुने भएकाले नियमित अध्ययन, सकारात्मक सोच र शिक्षकको मार्गदर्शनलाई आत्मसात् गर्न आग्रह गरे । उनले विद्यालयले विद्यार्थीको शैक्षिक उत्कृष्टतासँगै सर्वाङ्गीण विकासका लागि आवश्यक सबै अवसर र वातावरण उपलब्ध गराउँदै आएको बताए ।
क्याम्पस प्रमुख राजु दहालले कक्षा ११ र १२ नै उच्च शिक्षाको आधार भएकाले सुरुदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरेर अध्ययनमा केन्द्रित हुन विद्यार्थीलाई सुझाव दिए । उनले विद्यालय तथा कलेज परिवार विद्यार्थीको सफल शैक्षिक यात्रामा सदैव सहयात्री रहने विश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा वेस्टर्न कलेज अफ बिजनेस स्टडिजकी संस्थापक सुजता बस्नेतलगायत अन्य अतिथिहरूले पनि विद्यार्थीलाई अनुशासन, सकारात्मक सोच र निरन्तर मेहनतलाई जीवनको मूल मन्त्र बनाएर अघि बढ्न आग्रह गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरे ।
विद्यार्थी सिर्जना जैसी र शिखा खत्रीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्