कुनै पनि पालिकाको विकासको गतिको मापन उक्त पालिकामा भएका भौतिक पूर्वाधारको संरक्षण र निर्माण पनि हो । सबै पालिकाले आफ्नो वार्षिक योजनामा विभिन्न क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेता पनि सबैभन्दा बढी बजेट भौतिक पूर्वाधारमा नै पर्ने गरेको हुन्छ र सोही अनुसार काम भएका प्रशस्त उदाहरणहरु पनि देख्न सकिन्छ । यस्तै बाँकेको राप्ती सोनारी गाँउपालिकाले पनि भौतिक पूर्वाधारमा उल्लेख्य काम गरेको छ । तीन तहको सरकार निर्माणपछि पहिलो निर्वाचित जनप्रतिनिधि होस् वा दोस्रो निर्वाचित जनप्रतिनिधि हुन्, सबैले राप्ती सोनारीलाई पूर्वाधारमा परिपूर्ण गराउने हरप्रयास गरेका छन् ।
राप्ती सोनारी भौगोलिक हिसाबले अन्य पालिकाभन्दा विभिधताले भरिएको र सबैभन्दा ठूलो गाउँपालिका पनि हो । यसर्थ राप्ती सोनारीका जनप्रतिनिधिलाई पूर्वाधार निर्माणमा सुरुवातदेखि नै चुनौति थियो । पहिलोपटक निर्वाचित भएर आएका जनप्रतिनिधिले राप्ती सोनारीमा पूर्वाधार निर्माणको नक्सा कोर्दै गर्दा दोस्रोपटक निर्वाचित भएर आएका जनप्रतिनिधिले उक्त नक्सालाई सार्थक दिँदै गएका छन् । यसर्थ राप्ती सोनारीमा यो दुई वर्षमा देख्न र प्रशंसा गर्न लाएक विकास निर्माणका काम भएका छन् भन्दा नकारात्मक अर्थ नलाग्ला ।
बाँके जिल्लामा रहेको नेपालगन्ज सहर स्वास्थ्यका लागि हब भएता पनि दूरीका हिसाबले नेपालगन्जदेखि राप्ती सोनारीका जनतालाई सहज स्वास्थ्य उपचार लिन कठिनाइ छ । त्यसैले राप्ती सोनारीले पालिकाभित्र सुरुका वर्षदेखि नै सडक विस्तारको कामलाई तीव्रता दिँदै पालिकावासीलाई शिक्षा र स्वास्थ्य सहज पहुँचका लागि ध्यान दिँदै छ ।
राप्ती सोनारीमा स्वास्थ्यचौकी, अस्पतालको भवन तथा विद्यालयका भवनहरु प्रशस्त निर्माण भएका छन् । राप्ती सोनारीवासीका लागि निर्माण भएको १५ शैय्याको राप्ती सोनारी अस्पताल पनि राप्ती सोनारीका लागि महत्वपूर्ण योजना हो । जसको निर्माण अन्तिम चरणमा रहेको पालिका अध्यक्ष तप्तबहादुर पौडेल बताउँछन् ।
‘विकास निर्माणका काम भनेको हरेक वर्ष भइरहने काम हो । तर अन्य पालिकाभन्दा हामीलाई पूर्वाधार निर्माणमा अलि कठिनाई छ । किनकी सबै पालिकालाई आउने बजेटका आधारमा हामीले पनि बजेट पाउने हो । तर हाम्रो भौगोलिक क्षेत्र ठूलो छ,’ अध्यक्ष पौडेलले भने । एक वर्षमा ४ किलोमिटर बढी सडक कालोपत्रे गत वर्ष राप्ती सोनारीले पूर्वाधार विकासतर्फ १७ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसबाट धेरैजसो सडक पूर्वाधार विकासका कामहरु सम्पन्न भएका छन् ।
गत वर्ष सडकक्षेत्र कै कुरा गर्ने हो भने गाउँपालिकाभित्र ४ हजार ८ सय ३६ मिटर सडक कालो पत्रे, ६ हजार ७ सय १९ मिटर सडक ग्राभेल, २ सय १५ मिटर सडक पिसीसी र ४ सय २० मिटर नयाँ ट्रयाक निर्माण भएको योजना शाखा प्रमुख बालानन्द पौडेलले जानकारी दिए ।
यस्तै ६० मिटर तटबन्ध निर्माण, ५ स्थानमा कल्भर्ट निर्माण, ४ वटा भुयर थान तथा मन्दिर निर्माण, १ वटा प्रतिक्षालय र चौतारा निर्माण, २ हजार २ सय ९० मिटर पक्की नाली, ३ सय ६७ मिटर पक्की पर्खाल, १३ स्थानमा ह्युम पाइप व्यवस्थापन र १ हजार ८ सय ७६ मिटर तारजाली निर्माण भएको योजना शाखाले जनाएको छ ।
यसैगरी गत वर्षमात्रै राप्ती सोनारीले महादेवपुरी स्वास्थ्य चौकीको भवन र आधारभूत स्वास्थ्य केन्द्र ६ नं. वडामा वर्थिङ सेन्टर भवन निर्माण गरी सेवा प्रवाह गरिएको छ भने राप्ती सोनारी अस्पताल बैजापुरमा आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रवाह भइरहेको शाखा प्रमुख पौडेल बताउँछन् । ‘राप्ती सोनारीमा सडकपछि सबैभन्दा बढी आवश्यकता भनेको भवनहरु छ । विद्यालय, स्वास्थ्य चौकीदेखि अन्य धेरै स्थानमा भवन बनाउनु पर्ने छ । तर धेरै स्थानमा नयाँ भवन बनिसकेका छन्,’ शाखा प्रमुख पौडेलले भन्छन् ।
यसका अलवा पालिकामा संचालित विभिन्न पोर्टलहरु र गाँउपालिकाको फेसबुक पेजलाई अद्यावधिक, प्रकाशित ऐन नियम र कार्यविधीहरुलाई गाँउपालिकाको वेबसाइटमार्फत सार्वजनिक, राप्ती सोनारी गाँउपालिकामा रहेका ७ वटा स्वास्थ्य संस्था र ८ वटा सामुदायिक माध्यमिक विद्यालयहरुमा विद्युतीय ई–हाजिर जडान, पालिकाले गरेका कामहरुलाई त्रैमासिक रुपमा स्वःप्रकाशन गर्ने, गुनासो एप संचालन, अगैया बजारमा नयाँ सिसि टि.भी.क्यामेरा २ वटा जडान, गाँउसभा तथा कार्यपालिका बैठकलाई प्रत्यक्ष प्रशारण सुरु गरी पालिकालाई सूचना र प्रविधीसँग जोडिरहेको उपाध्यक्ष मनिष सिंह थारु बताउँछिन् । उपाध्यक्ष थारुका अनुसार गत वर्षमात्रै २५ वटा विद्यालयमा कक्षा कोठा भवन मर्मत तथा शौचालय र खानेपानी व्यवस्थापनको कार्य सुरु भएको छ भने ३ वटा विद्यालयमा पुस्तकालय तथा २ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र १२ वटा बालविकास केन्द्रलाई खेल सामग्री प्रदान गरिएको छ ।
गत आर्थिक वर्षदेखि सुरु गरिएको विद्यालय समायोजन निरन्तर भइरहेको र हालसम्म १४ वटा विद्यालयमा सुरु गरिएको, स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक कक्षा ५ सम्म छपाई तथा वितरण, कक्षा ६ देखि ८ सम्मको स्रोत सामग्री छपाई तथा वितरण, वडास्तरीय शिक्षा समिति गठन गरी शैक्षिक व्यवस्थापन कार्यलाई थप व्यवस्थित गरिएको उपाध्यक्ष थारुको भनाइ छ ।
त्यस्तै पालिकाले गत वर्षमात्रै १० वटा बोरिङ्ग, ६ वटा पम्पसेट, २ सय ५२ वटा मोटर, ३ वटा मिनी टेलर, ८७ वटा स्प्रे ट्यांकी, ४ वटा रिपर, ११ वटा कोदालो र १ वटा हाइरो र २० वटा च्याफकटर वितरण गरेको छ । साथै १ सय २ घरधुरीलाई खरको छानो परिवर्तन गरी टिनको छाना व्यवस्थापन र बाँकी ३८ जनालाई विपन्न आवस कार्यक्रम प्रदानका लागि प्रक्रिया अघि बढाइएको छ भने वडा नम्बर ४ र ५ का २५ घरधुरीलाई गोबर ग्याँस जडान गरिएको योजना शाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा शैक्षिक पूर्वाधारमा जोड
आर्थिक वर्ष २०७९/८० दोस्रोपटक निर्वाचन भएका जनप्रतिनिधिका लागि पहिलो वर्ष हो । यो वर्ष राप्ती सोनारीले पूर्वाधार विकासतर्फ २२ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको थियो भने शैक्षिक पूर्वाधारका कामहरु यो वर्ष धेरै भएका छन् । यस वर्ष विद्यालयमा कक्षा कोठाको अभावलाई महुशुस गर्दै १६ वटा कक्षा कोठा निर्माण गरेको अध्यक्ष पौडेल बताउँछन् । पौडेलका अनुसार ३ वटा आइसिटि ल्याब, ३ वटा पुस्तकालय, २ वटा विज्ञान प्रयोगशाला निर्माण गर्नुका साथै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ११ वटा विद्यालयमा मर्मत सम्भार, खानेपानी तथा फर्निचर व्यवस्थापनको काम सम्पन्न भएको थियो । साथै गाउँपालिकाको बजेटबाट ३३ वटा विद्यालयको मर्मत सम्भार, खानेपानी तथा फर्निचर व्यवस्थापन गरिएको थियो ।
यस वर्ष पनि पूर्वाधारतर्फ राप्ती सोनारीले प्रशंसालायक काम गर्न सफल भएको थियो । राप्ती सोनारीले यो वर्ष पालिकाभित्र २ हजार ८ सय ४३ मिटर सडक कालोपत्रे, ८ हजार ३ सय ७६ मिटर सडक ग्राभेल, १ हजार ६ सय ६७ मिटर सडक पिसिसि र ४ हजार २ सय ६२ मिटर सडकको नयाँ ट्रयाक निर्माण गर्न सफल भएको योजना शाखाले जनाएको छ । यसै ४ सय ५५ वटा खानेपानी धारा वितरण, ५ वटा चिलिङ्ग मेशिन जडान तथा १० हजार ५ मिटर पाइप लाइन विस्तारको काम सम्पन्न गरेको थियो ।
यसैगरी यो वर्ष २ सय ८० मिटर तटबन्ध निर्माण, ३ स्थनमा कलभर्ट निर्माण, ५ वटा भुयर थान तथा मन्दिर निर्माण, ८ वटा प्रतिक्षालय र चौतारा निर्माण, ३ हजार ४ सय ४० मिटर पक्की नाली निर्माण, ६ सय ५५ मिटर पक्की पर्खाल निर्माण र ९७ स्थानमा ह्युमपाइप जडान गरिएको थियो ।
यसका अलवा यस वर्ष २ वटा स्वास्थ्य चौकी भवन निर्माण, १ वटा शौचालय निर्माण र २ वटा शौचालयको मर्मत गरिनुका साथै ४० वटा बोरिङ्ग, २५ वटा पम्पसेट, २ सय ७ वटा मोटर, १५ वट पावर टेलर, ७ वटा मिनी टेलर, ५० वटा स्प्रे ट्यांकी, १ वटा इ–रिक्सा, र २० वटा च्याफकटर वितरण गरिएको थियो ।
साथै १ सय ३ घरपरिवारलाई खरको छानो परिवर्तन गरी टिनको छाना निर्माण, वडा नम्बर २ र ७ का ३ स्थानमा विपद्पूर्व सूचना प्रणाली जडान, ४ हजार ८ सय मिटर विद्युतीय लाइन विस्तार, ४६ वटा विद्युतीय पोल खरिद, एक विद्यालय र सशस्त्र प्रहरीलाई सोलार प्यानल वितरण र अति विपन्न २ सय ५० घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएको योजना शाखाले जनाएको छ ।
स्तरीय सडक संजाल विस्तारमा जोड
आर्थिक वर्ष २०८१/८२ मा पूर्वाधारका क्षेत्रमा राप्ती सोनारीले स्तरीय सडक संजाल विस्तारदेखि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । जसका लागि राप्ती सोनारीले १९ करोड १८ लाख ८० हजार रुपैयाँ पूर्वाधार विकासतर्फ विनियोजन गरेको योजना शाखा प्रमुख पौडेलले बताए । साथै योजना शाखाका अनुसार वडा नम्बर २ मा मुगुवा खोला, वडा नम्बर १ मा राप्ती नदी, वडा नम्बर ९ मा झिझरी खोलामा पक्की पुल र अन्य स्थानमा पक्की पुल निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग पहल गरिने अध्यक्ष पौडेल बताउँछन् ।
यसका अलवा यस वर्ष वडा नम्बर ४ को बांसखोली, चुनभट्टी, खयरभट्टी, महेशपुर र गुर्दनगौरीलगायत समग्र वडाहरुमा विद्युत्को सहज विस्तार, मुख्य चोकमा सोलार लाइनको स्थापना, गाउँपालिकाको प्रशासनिक भवन निर्माण, विभिन्न स्थानमा स्तरयुक्त शौचालयसहितको बस प्रतिक्षालय निर्माण गर्नेगरी योजना अघि बढेको अध्यक्ष पौडेलले बताए । साथै सिँचाइ गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै कुलो, नहरको मर्मत तथा गेट वे निर्माण कार्यलाई निरन्तरता दिइने उनी बताउँछन् ।
‘सधैं हामीले पूर्वाधान निर्माणलाई मात्र जोड दिएका थियौं । यो वर्ष केही फरक गर्ने प्रयास गरेका छौं,’ अध्यक्ष पौडेलले भने, ‘यस वर्ष हामीले राम्रो काम गर्ने ठेकेदारलाई प्रोत्साहन गर्ने र समयमा काम नगर्ने ठेकेदारलाई दण्ड गर्ने व्यवस्था गरेका छौं ।’
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्