सुगम शर्मा, सुर्खेत ।
कर्णालीमा नेपाली कांग्रेसको संस्थापन इतरका पक्षका सबैभन्दा प्रभावशाली नेता हुन् हृदयराम थानी । उनी सुर्खेत क्षेत्र नम्बर २ का कांग्रेसका जल्दाबल्दा नेता हुन् । उनको प्रभाव यतिसम्म थियो कि केही समयअघिसम्म केन्द्रीय राजनीतिमा प्रभाव जमाएका पूर्णबहादुर खड्कालाई समेत ट्याकल दिन पछि पर्दैन थे ।
पूर्णबहादुर खड्का कांग्रेस मात्रै होइन, केन्द्रीय राजनीतिमै अर्थ राख्ने नेता हुन् । तर, उनै खड्काले महामन्त्री भएपछि मात्रै वीरेन्द्रनगरको कांग्रेस पार्टी कार्यालयमा प्रवेश पाए । हुन त उनले जान नचाहेको भन्ने पनि चर्चा चल्थ्यो । तर, त्यसको मुख्य कारण भने हृदयराम थानी पक्ष नै थियो । क्षेत्र नम्बर १ बाहेक २ र ३ मा पौडेल समूहकै वर्चश्व थियो ।
उनै थानी जसले पूर्णबहादुर खड्कालाई पार्टी कार्यालयमा निषेध गराउन ल्याकत राख्थे तर अहिले केन्द्रीय सदस्यमै हारेका छन् । त्यो पनि एक मतले । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको कर्णाली प्रदेश खुला केन्द्रीय सदस्यमा उनी एक मतले चुके । उनले २१९९ मत ल्याएका छन् । तर, उनीभन्दा संस्थापन पक्षका कर्णबहादुर बुढाले २२०० मत ल्याएका छन् ।
थानी यसअघि सहरी विकास तथा गरिबी निवारणमन्त्रीसमेत भइसकेका छन् । २०१७ जेठ २६ गते जन्मिएका थानीले इन्जिनियररिङ क्याम्पस, पुलचोकबाट उच्च अध्ययनका क्रममा आइई गरेका थिए । शंकरदेव क्याम्पस व्यवस्थापन संकायमा स्नातक र त्रिवि किर्तिपुरबाट एमए गरेका छन् ।
विद्यार्थी राजनीतिमा शुरुदेखि नै लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचोक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए । स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३ देखि २०४८ सम्म उपाध्यक्ष भए ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०४५/२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए । नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९/२०६० मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर पनि काम गरे ।
१३ औं महाधिवेशनमा भने उनी कर्णालीबाटै केन्द्रीय सदस्य भएका थिए । राजनीतिक आन्दोलनका क्रममा उनले पटक–पटक जेल जीवन समेत बिताएका छन् । २०४२ सालको सत्याग्रहको बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्धारा गरिएको आन्दोलनका क्रममा सेन्टर जेल, पुगे। फेरि २०४६ सालको जनआन्दोलनमा उनलाई भद्रगोलजेल हालिएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्