थापाका कोहलपुरसँगै बितेका ५४ वर्ष : जनताको अपेक्षा र स्वतन्त्र उम्मेदवारीको सम्भावना




कोहलपुर । स्थानीय तहको निर्वाचन हुन अझै करिब एक वर्ष बाँकी छ। राजनीतिक दलहरू आफ्नो रणनीति बनाउन व्यस्त छन् भने सम्भावित उम्मेदवारहरूको चर्चा पनि विस्तारै सुरु हुन थालेको छ। यस्तै समयमा कोहलपुरका पुराना सामाजिक तथा राजनीतिक व्यक्तित्व कर्णबहादुर थापाले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको लामो भावनात्मक अभिव्यक्ति दिएका छन् ।

पाँच दशकभन्दा बढी समयदेखि कोहलपुरको सामाजिक, व्यावसायिक र राजनीतिक जीवनसँग जोडिएका थापाले आफू स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा चुनाव लड्ने विषयमा गम्भीर रूपमा सोचिरहेको संकेत गरेका छन्।

उनले आफ्नो जीवन यात्राको सुरुवात सम्झिँदै फेसबुकमा लेखेका छन्, ‘आफू कोहलपुर आएको ५४ वर्ष भइसकेको छ। त्यतिबेला कोहलपुर अहिलेको जस्तो विकसित बजार थिएन। एउटा सानो थारु बस्तीका रूपमा रहेको कोहलपुर समयसँगै विस्तार हुँदै नगरमा रूपान्तरण भएको छ। त्यो परिवर्तनलाई उनले केवल देखेका मात्र होइनन्, आफू पनि त्यसको एक हिस्साका रूपमा बाँचेको उल्लेख गरेका छन्।

थापाका अनुसार कोहलपुरमा बसोबास सुरु गरेपछि उनले मेडिकल व्यवसाय सञ्चालन गरे। मेडिकल व्यवसायले विभिन्न जातजाति, धर्म, भाषा र समुदायका नागरिकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरिदियो। बिरामीको उपचार र सामाजिक सेवामार्फत उनले जनतासँग विश्वासको सम्बन्ध बनाएको उनको भनाइ छ।

यही सामाजिक सम्बन्धकै आधारमा पञ्चायतकालमा उनी जनपक्षीय उम्मेदवारका रूपमा उपप्रधानपञ्च पदमा चुनाव लड्ने अवसरमा पुगे। त्यसबेला उनका प्रतिस्पर्धी यमबहादुर रावत थिए।

थापाले आफ्नो फेसबुकमा लेखेका अनुसार चुनावी माहोल आफ्ना पक्षमा बन्दै गएको देखेपछि विरोधी पक्षले धाँधली गरेको आरोप लगाएका छन्। उनका अनुसार मतदानकै क्रममा प्रहरीबाट लाठीचार्ज गराइयो, मतदाता भागाभाग भए र त्यसपछि एकपक्षीय मतदान गरियो। उनले मतपेटिका नेपालगञ्ज लगिएको तथा अन्ततः यमबहादुर रावतलाई विजयी घोषणा गरिएको दाबी गरेका छन्।

देशमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि भने उनले लगातार तीन कार्यकाल वडाध्यक्षका रूपमा जनप्रतिनिधित्व गर्ने अवसर पाए। त्यो अवधिमा आफूले जनताको सेवामा निरन्तर काम गरेको र कोहलपुरको विकासका धेरै उतारचढाव नजिकबाट अनुभव गरेको उनको भनाइ छ।

अहिले उमेरले वृद्धावस्थामा पुर्‍याइसकेको छ। स्वास्थ्यले पनि विश्राम खोजिरहेको उनी स्वीकार गर्छन्। तर गाउँ–बस्तीमा पुग्दा अझै पनि नागरिकहरूले “तपाईं अब मेयरमा उठ्नुपर्छ” भन्ने आग्रह दोहोर्‍याइरहने गरेको उनको अनुभव छ।

उनका अनुसार यस्तो आग्रह कुनै एक राजनीतिक समूह वा समुदायबाट मात्र होइन। थारु, पहाडी, मुस्लिम, मधेसी, दलितलगायत विभिन्न समुदायका नागरिकले आफूलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न आग्रह गरिरहेको उनले उल्लेख गरेका छन्।

“तपाईंहरूले मलाई फुर्ती लगाउनुभएको हो भन्ने नसोच्नु होला। वास्तविकता यही हो। उहाँहरूको विश्वास र भरोसा देख्दा म आफैं अचम्मित हुन्छु,” उनले फेसबुकमा लेखेका छन्।

थापाले आफू धेरै उच्च शिक्षा हासिल नगरेको स्वीकार गरेका छन्। उमेर पनि धेरै भइसकेको छ। तर कोहलपुरका आवश्यकता, विकासका प्राथमिकता र जनताका समस्याबारे आफू अझै पनि उत्तिकै संवेदनशील रहेको उनको दाबी छ।

उनका अनुसार दशकौँदेखि कोहलपुरका हरेक टोल, बस्ती र समुदायसँग प्रत्यक्ष सम्बन्ध भएकाले कहाँ सडक आवश्यक छ, कहाँ खानेपानीको समस्या छ, कहाँ शिक्षा, स्वास्थ्य वा अन्य पूर्वाधारमा लगानी आवश्यक छ भन्ने कुरा आफूले नजिकबाट महसुस गरेको बताएका छन्।

DCIM101MEDIADJI_0879.JPG

आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा उनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने विषयमा गम्भीर रूपमा सोचिरहेको उल्लेख गरेका छन्। जनताबाट आएको निरन्तरको आग्रह र विश्वासले आफूलाई फेरि जनताको बीचमा जाने सोच बनाएको उनको भनाइ छ।

थापाले आफ्नो राजनीतिक जीवनमा जित र हार दुवै भोगेको स्मरण गरेका छन्। तर कुनै पनि परिणामभन्दा माथि आफूले कोहलपुरका नागरिकलाई सधैं सम्मान र माया गरेको बताएका छन्।

“कोहलपुर आएदेखि धेरै चुनाव लडेँ। कहिले जितियो, कहिले हारियो। तर मलाई यहाँका जनता भगवान् जत्तिकै प्रिय छन्। त्यसैले फेरि एकपटक चुनावी मैदानमा उत्रिएर जनताको सेवा गर्ने कि भन्ने सोचिरहेको छु,” उनले आफ्नो अभिव्यक्तिमा उल्लेख गरेका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार थापाको यो सार्वजनिक अभिव्यक्ति आगामी स्थानीय निर्वाचनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनले अन्तिम निर्णय भने सार्वजनिक गरिसकेका छैनन्। त

(यो सामग्री कर्णबहादुर थापाले आफ्नो व्यक्तिगत फेसबुकमा सार्वजनिक गरेको अभिव्यक्ति/धारणाका आधारमा तयार गरिएको हो। )

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार